लमजुङमा ७१ वटा वडामा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ७५ वडाहरूमध्ये चारवटा वडामा वडा अधिवेशन नभएको नेकपा (एमाले) लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए । बाँकी रहेका चारवटा वडाहरूमा सोमबारसम्म नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ । नेकपा एमाले लमजुङको शनिबार ६६ वडा र आइतबार ५ वटा वडामा नेतृत्व चयनका कार्यक्रम सकिएका छन् ।
कुल ७५ वडा रहेकोमा विविध कारणले चारवटा वडाको अधिवेशन भने स्थगित भएको छ । अधिवेशनमा जिल्लादेखि केन्द्रीयस्तरीय नेता आफ्नो वडामा खटिएका छन् । जिल्ला कमिटी अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य दवाडीले बेंसीसहर नगरपालिकाको ७, दुधपोखरी गाउँपालिकाको ५ र मर्स्याङ्दी गाउँपालिकाको २ र ९ नम्बर वडामा अधिवेशन स्थगित भएको हो । दवाडीका अनुसार अधिवेशन सुरु भएर स्थगित भएको नभई गाउँठाउँमा भवितव्य परेको र केही तयारी नपुगेका कारण अधिवेशनलाई पछाडि सारिएको हो ।
सम्पन्न भएका वडाहरूमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनको केन्द्रीय तालिकाअनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अविधेशन सम्पन्न हुँदै छ ।