१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाँचौँपटक यू–२३ एसियन कप छनोट चरण खेल्दै नेपाल

सन् २०१३ देखि एएफसी यू–२३ एसियन कप सुरु भएको हो, नेपालले हालसम्म चारपटक छनोट चरणमा सहभागिता जनाए पनि जित निकाल्न सकेको छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३८:oo

एएफसी यू–२३ एसियन कप छनोट चरणको प्रतियोगितामा सहभागी हुन नेपाली युवा टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् ।  नेपाल यसअघि लगातार एएफसी यू–२३ एसियन कप छनोट चरणबाटै चारपटक बाहिरिएको थियो । अहिले नेपाली युवा यू–२३ टोलीले पाँचौँपटक छनोट चरण खेल्दै छ ।

नेपाली टोलीलाई समूहकै सर्वाधिक सफल तथा अनुभवी प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महर्जनलाई २३ भदौमा राष्ट्रिय यू–२३ टोली हेर्ने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । महर्जनले दोस्रोपटक यू–२३ टोली संहालेका हुन् । लगभग डेढ महिनाको प्रशिक्षणपछि नेपाली टोली मंगलबार ताजिकिस्तानमा एएफसी य प्रस्थान गरेको हो । टोली सम्हालेको छोटो समय भए पनि महर्जनले छनोट चरणमा राम्रो नतिजा निकाल्ने आशा गरेको बताए । उनले डेढ महिनाको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरी यू–२३ टोली घोषणा गरेका हुन् । 

 टोलीमा साफ खेलेका ६ खेलाडी 
गत शनिबार मात्रै माल्दिभ्सको मालेमा सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनल खेलेका ६ खेलाडीलाई पनि टोलीमा राखेका छन् । साफ च्याम्पियनसिपका स्ट्राइकर आयुष घलान तथा मनीष डाँगी छन् । डिफेन्डरमा सुमन अर्याल र गौतम श्रेष्ठ रहेका छन् । मिडफिल्डरमा नितिन थापा र सुरज ठकुरी रहेका छन् । 

नेपालले २८ वर्षको साफ इतिहासमा पहिलोपटक फाइनलको यात्रा पक्का गर्न यिनै युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सुमन, गौतम, नितिन, सुरज, मनीष तथा आयुषले सिनियर टोलीमा प्राप्त गरेको अनुभव एएफसी यू–२३ एसियन कप छनोटमा प्रयोग गर्ने प्रशिक्षकको अनुमान छ । साफ च्याम्पियनसिपको नेपाली टोलीमा अटाउन नसकेका अभिषेक रिजाल पनि यू–२३ टोलीमै छन् । 

प्रशिक्षक महर्जनले यिनै अनुभवी सिनियर खेलाडीबाट धेरै आशा लिएका छन् । मुख्य प्रशिक्षक महर्जनलाई ताजिकिस्तानमा रोजित केसीले सहायक प्रशिक्षकमा र गोलरक्षक प्रशिक्षणमा ललित चन्दले सहयोग गर्नेछन् । छनोट चरणको समूह बीमा नेपालले ताजिकिस्तान, इरान र लेबनानसँग खेल्नेछ । नेपालले ८ कात्तिकमा इरान, ११ कात्तिकमा ताजिकिस्तान र लेबनानसँग १४ कात्तिकमा प्रतिस्पर्धा गर्नेछ । 

छनोट चरणमा सहभागी हुनुअघि नेपालले ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाका अनुसार छनोटअघि नेपालले २२ अक्टोबरमा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । एएफसी यू–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदै छ । छनोट प्रतियोगिताका सबै खेल ताजिकिस्तानको दुसान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुने एएफसीले जनाएको छ । प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहको शीर्ष टोलीले सीधै अन्तिम प्रतियोगितामा स्थान बनाउनेछन् । उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने शीर्ष चार टोली पनि छनोट हुनेछन् ।

 चारपटक नै छनोट चरणबाटै बाहिर
एएफसीले पूर्व तथा पश्चिम क्षेत्रका फुटबल टोलीको स्तर उकास्न सन् २०१३ देखि एएफसी यू–२३ एसियन कप प्रतियोगिता सुरु गरेको हो । एएफसीले छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । एएफसीले एसियाको पूर्वका १९ र पश्चिमका २३ टोली समावेश गरी ११ समूह बनाएको छ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । 

पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोट चरणबाटै घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिता तथ्यांकअनुसार दक्षिण कोरिया, इराक, उज्वेकिस्तान र जापानले एक–एकपटक उपाधि जितेका छन् । साउदी अरेबिया सन् २०१३ र २०२० संस्करणको उपविजेता हो । भियतनाम र दक्षिण कोरिया समान एकपटक उपविजेता बनेका छन्  । यसपटक उज्वेकिस्तानले आयोजकका रूपमा अन्तिम चरणमा स्थान पक्का गरेको छ । प्रतियोगिताको अन्तिम चरणमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालको खेल 
इरानसँग २५ अक्टोबर
ताजिकिस्तानसँग २८ अक्टोबर 
लेबनानसँग ३१ अक्टोबर 

नेपाली टोली
गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर– सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर– नितिन थापा, सुरज ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
स्ट्राइकर– मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

 

ad
ad