१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विजयराज खनाल काठमाडौं
२०७८ कार्तिक ३ बुधबार ०८:४९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदरको वेगमा राष्ट्र बैंकको लगाम

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार ०८:४९:००
  • अघिल्लो दरभन्दा १० प्रतिशत मात्रै ब्याज बढाउन पाइने, धेरै बढाएकाले घटाउनुपर्ने
  • बैंकहरूले मुद्दती निक्षेपमा धमाधम ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार साँझ परिपत्र जारी गर्दै संस्थागत निक्षेपकर्तालाई व्यक्तिगतको भन्दा एक प्रतिशत कम ब्याज दिनुपर्ने नियम लगाएको छ

संस्थाहरूबीच ब्याजदर वृद्धिमा तीव्र प्रतिस्पर्धा सुरु भएपछि राष्ट्र बैंकले त्यसमा लगाम लगाएको छ । राष्ट्र बैंकले मंगलबार साँझ परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जुनसुकै किसिमको निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा १० प्रतिशत बिन्दुभन्दा धेरै बढाउन नपाइने व्यवस्था गरेको छ । यसको अर्थ यसअघि मुद्दती खातामा १० प्रतिशत ब्याज दिने गरेको बैंकले अब अधिकतम ११ प्रतिशतसम्म ब्याज दिन सक्नेछ । 

त्यति मात्रै होइन, राष्ट्र बैंकले कात्तिक महिनामा उच्च रूपमा ब्याज बढाएका बैंकले तत्कालै घटाउनुपर्ने निर्देशन पनि दिएको छ । कुनै बैंकले १० प्रतिशतभन्दा धेरैले ब्याजदर परिवर्तन गरेको रहेछ भने उसले त्यसलाई सीमाभित्र ल्याई ३ कात्तिक बुधबारभित्र आफ्नो वेबसाइटमा र ५ गतेभित्र पत्रपत्रिकामा संशोधित सूचना प्रकाशित गर्नसमेत निर्देशन दिएको छ । उच्च रूपमा ब्याजदर बढाउने हिमालयन, एनआइसी एसिया, लक्ष्मीलगायत बैंकले अब भोलिबाटै ब्याजदर घटाएर कारोबार गर्नुपर्नेछ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबीच ब्याजदर वृद्धिमा अस्वथ्य प्रतिस्पर्धा चलेको छ । आइतबार नेपाल बैंकर्स एसोसिएसनमा निक्षेपको ब्याजदर दोहोरो अंकभन्दामाथि जान नदिने अघोषित सहमति गरेको भए पनि केही बैंकरहरूले पालना नगर्दा व्यक्तिगत निक्षेपको ब्याजदर नै ११ दशमलव १० प्रतिशतसम्म पुगेको छ । संस्थागत निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशतसम्म तोकिएको छ ।

हिमालयन, एनआइसी र लक्ष्मी बैंकले ११ प्रतिशतभन्दा माथिको ब्याजदर प्रस्ताव गरेका छन् । यी तीन बैंकले असोजको तुलनामा २३ देखि २६ प्रतिशत बिन्दुसम्म ब्याजदर वृद्धि गरेका हुन् । 

यसअघि बैंकरहरूबीच नै ब्याजदरमा भएको वृद्धिलाई लिएर तनाव उत्पन्न भएको थियो भने बैंकरहरू एक–अर्कामा निक्षेप खोसाखोसमा लागेको भन्दै आरोप–प्रत्यारोपमा लागेका थिए । 

कर्जा लगानी उच्च हुन थालेसँगै निक्षेपमा उल्लेख्य वृद्धि नहुँदा बैंकहरूको लगानी क्षमता बढ्न सकेको छैन । कतिपय बैंकहरूले कात्तिकका लागी सार्वजनिक गरेको ब्याजदर सूचनामा संस्थागत निक्षेपमा समेत राष्ट्र बैंकको नियमविपरीत बोलकबोलको ब्याजदर बढाएका छन् । तीन–तीन महिनामा मात्रै संस्थागत निक्षेपको ब्याजदर बढाउन पाइने व्यवस्था भए पनि केहीले नियम उल्लंघन गरेका छन् । यसलाईसमेत नियमन गर्दै राष्ट्र बैंकले बैंकहरूलाई संस्थागत मुद्दती निक्षेप (बोलकबोलसहित)को ब्याजदर व्यक्तिगत निक्षेपमा दिइने अधिकतम ब्याजदरको एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थासमेत गरेको छ । 

सनराइज र सानिमाको निक्षेपमा उच्च वृद्धि 
गत असोज महिनामा वाणिज्य बैंकहरूमा निक्षेप ९७ अर्ब ४३ करोड रुपैयाँले वृद्धि भएर ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । दुई वाणिज्य बैंकमा मात्रै बढेको निक्षेपको ३० प्रतिशत थपिएको छ । 

सनराइज बैंक र सानिमा बैंकको मात्रै क्रमशः १९ अर्ब ६ करोड र १० अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । गत साउनमा ७ दशमलव पाँच प्रतिशत हाराहारी व्यक्तिगत निक्षेपमा ब्याजदर रहेका सबैजसो बैंकले असोजमै १० प्रतिशतसम्म पुर्‍याएका थिए । सनराइज बैंकले सबैभन्दा धेरै १० दशमलव शून्य सात रहेको थियो । यहीकारणले सनराइजको निक्षेपमा वृद्धि भएको मानिएको छ ।

त्यसपछि असोजमा उच्च ब्याजदर दिनेमा प्राइम, एनएमबि, मेगा र सानिमा बैंक रहेका थिए । यी बैंकले नौ दशमलव ५१ प्रतिशतदेखि नौ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । प्राइमको निक्षेप नौ अर्ब ७१ करोड, एनएमबिको सात अर्ब ३९ करोड र नेपाल बैंकको सात अर्ब ६९ करोडले निक्षेप बढेको छ ।