नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक आवर)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ। मुलुकभित्र उत्पादित विद्युत् बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन लागेको हो।
प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गरे। उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन्। ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो छ।
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिनेछ।