मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
शान्ति तामाङ काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०९:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वैशाखमा मेलम्चीको पानी ल्याउने योजना 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०९:१६:००

अवरुद्ध बाटो खोल्ने र पुल निर्माण गर्ने जिम्मा सडक विभागको, नेपाली सेनाले अस्थायी पुलमा सामान जडान गर्ने

आगामी वैशाखभित्र मेलम्ची खानेपानी काठमाडौं उपत्यका ल्याउन कार्ययोजना तयार भएको छ । सडक विभाग र मेलम्ची खानेपानी विकास समितिको संयुक्त आयोजनामा बनेको कार्ययोजना मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि दु्रत गतिमा काम अगाडि बढाइने भएको छ । 

मन्त्रिपरिषद्ले कार्ययोजना स्वीकृत गर्‍यो, अब काम अघि बढ्छ : राजेन्द्रप्रसाद पन्त, सिनियर डिभिजन इन्जिनियर मेलम्ची खानेपानी आयोजना समिति
असारको दोस्रो सातादेखि नै कार्ययोजना बनाएर अगाडि बढ्ने भन्ने भएको थियो ।  सडक विभाग र मेलम्ची खानेपानी विकास समिति मिलेर एउटा कार्ययोजना बनाएका छौँ । मन्त्रिपरिषद्बाटै कार्यायोजना पास गरेर अगाडि बढ्नुपर्ने भएकाले मात्र रोकिएका थियौँ, अब काम अगाडि बढ्छ ।

‘असारको दोस्रो सातादेखि नै कार्ययोजना बनाएर अगाडि बढ्ने भन्ने भएको थियो । कसले के गर्ने भन्ने पनि तय भएको थियो । तर, बर्खाको समयमा काम गरेमा बाढी आएर फेरि बगाउँछ । पैसा हालेको खेर जान्छ भन्ने किसिमले जोखिम नभएको अवस्थामा र नदीको सतह एउटै भएको अवस्थामा काम गर्ने भनेर रोकेका थियौँ । अब काम गर्ने वेला भयो,’ समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने, ‘सडक विभाग र मेलम्ची खानेपानी विकास समिति मिलेर एउटा कार्ययोजना बनाएका छौँ । कार्ययोजनामाथि पटक–पटक छलफल भएको छ । मन्त्रिपरिषद्बाटै कार्ययोजना पास गरेर अगाडि बढ्नुपर्ने भएकाले मात्र रोकिएका हौँ ।’

गत १ असार र १५ साउनको बाढीपहिरोका कारण किउल, शेर्माथाङ, तिम्बु, सार्केथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा असर गरेको थियो । असारमा मेलम्ची नदीमा बाढी आएका कारण आयोजनाको भौतिक संरचनामा असर पुगेकाले उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाएका छैनन् ।

विस्तृत अध्ययनविना याङ्ग्री र लार्केको काम अघि नबढ्ने 
हाल मेलम्चीको १७ करोड पानीबाटै वञ्चित भइरहेको उपत्यकावासीका लागि याङ्ग्री र लार्के योजना अनिश्चित भएको छ । मेलम्ची खानेपानी आयोजना नै जोखिममा रहेको भन्दै याङ्ग्री र लार्के नदीबाट आउने थप ३४ करोड लिटर पानी ल्याउन विस्तृत अध्ययन नभई काम सुरु नहुने समितिले जनाएको छ । ‘सामान्य अवस्था रहन्थ्यो भने याङ्ग्री र लार्केको काम सुरु गर्ने भनेर हामीले बनाएको योजनाअनुसार अगाडि बढ्थ्यौँ । याङ्ग्री र लार्केसम्म पुग्न दुई वर्षअगाडि नै बाटो निर्माणको काम सुरु गरेका हौँ । बाटो याङ्ग्रीको हेडवक्र्स बनाउने ठाउँसम्म पुगिसक्यो । बाढी नआएको भए यो वर्षदेखि याङ्ग्री र लार्केको कामका लागि ठेक्का प्रक्रियामा जान्थ्यौँ,’ समितिका सिनियर डिभिजन इन्जिनियर पन्तले भने, ‘मेलम्चीमै बनाइएको हेडवक्र्स नै पुरिएको छ । भोलिका दिनमा पनि यस्तो खालको बाढी, पहिरो नआउला भन्न सकिन्न ।’

कसलाई के तोकियो जिम्मेवारी ?
कार्ययोजनाअनुसार हेडवक्र्स क्षेत्रको सफाइ, अस्थायी क्याम्प बनाउने जिम्मेवारी मेलम्ची खानेपानी आयोजना समितिको छ । सडक विभागले बाटो खोल्ने र पुल निर्माणको काम गर्नेछ । अस्थायी पुलका लागि आवश्यक पर्ने सामग्री विभागले उपलब्ध गराउने र नेपाली सेनाले जडान गर्ने काम गर्नेछ । सेनाले नै हेडवक्र्ससम्म ठुल्ठूला ढुंगा हटाउन आवश्यक पर्ने भएमा विस्फोटक पदार्थ प्रयोग गरेर काम गर्नेछ । नदी नियन्त्रणका केही काम गर्नुपर्ने अवस्था भएमा त्यो काम सिँचाइ विभागले गर्नेछ । ‘हेडवक्र्ससम्म पुग्न अस्थायी पुल, अस्थायी बाटो सडक विभागले गर्ने, त्यहाँसम्म बाटो पुगेपछि हेडवक्र्समा पुरिएका संरचनाको सफाइ गर्नुपरे र सुरुङ परीक्षणको बाँकी काम हामीले गर्ने हो । त्यसका लागि सबैभन्दा पहिला बाटो बन्नु पर्‍यो । त्यसपछि त्यहाँ क्याम्प राख्ने र कामदार बस्ने वातावरण भएपछि मात्र काम सुरु हुने हो,’ पन्तले भने । 

यसका लागि कार्ययोजना स्वीकृत हुनु मुख्य भएको उनको भनाइ छ । तर, वैशाखसम्म उपत्यकामा पानी ल्याउन कति सम्भव हुन्छ भन्ने विषय स्थलगत रूपमा गएर काम सुरु गरेपछि मात्र यकिन रूपमा भन्न सकिने पन्तले बताए । ‘कार्ययोजनाअनुसार असोजबाट काम थाल्ने र चैत, वैशाखसम्म वैकल्पिक रूपमा पानी ल्याउँछौँ भन्ने हो । सुरुङ धेरै लामो छैन । नदीजन्य पदार्थ धेरै भरिएको छैन भने सफा गरेर अगाडि बढ्छौँ भनेका हौँ,’ पन्तले भने, ‘टनेलभित्र कति लेदो भरिएको छ खोलेर हेर्न पाएको छैन । एक लेयर जति मात्र भित्र छिरेको हो भने हामीलाई धेरै समय लाग्दैन । कति क्षति भएको छ भन्न सकिने अवस्था छैन । त्यहाँ पुगेर खोल्दै जाँदा के हुन्छ । नदीजन्य पदार्थ एकदमै खाँदिएर बसेको छ भने खोल्न त समय लाग्ने भयो । विस्फोट नै गरेर निकाल्नुपर्ने भयो भने पनि समय लाग्ने भयो ।’ 

हाल बाटो निर्माणको काम भने स्थानीयस्तरबाट पनि भइरहेको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले कार्ययोजना लगभग तयार भएको जानकारी दिँदै अस्थायी प्रणालीबाट चैतसम्म काठमाडौं पानी ल्याउने दाबी गरे ।