
गृहमन्त्री खाणद्वारा मनाङको बाढीप्रभावित क्षेत्रको अनुगमन
गृहमन्त्री बालकृष्ण खाणले मनाङमा भएको बाढी प्रभावित क्षेत्रको अनुगनमन गरेका छन् । गृहमन्त्री खाणले बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण गर्दै बाढीपहिरोबाट क्षतिग्रस्त घर सरकारले बनाइदिने आश्वासनसमेत दिएका छन्।
नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार मनाङको चामे र तालगाउँ पुगेका उनले क्षतिग्रस्त हिमाली जिल्लाका घर निर्माणका लागि सरकारले पीडित परिवारलाई पाँच लाख रुपैयाँका दरले रकम दिने बताए ।
गृहमन्त्रीसँगै मनाङ पुगेका पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले गृहमन्त्री खाणले बाढी प्रभावितलाई राहतमा कुनै कसुर बाँकी नराख्ने आश्वासन दिएको बताए । उनले भने, ‘गृहमन्त्री खाणले पुनर्निर्माण कार्यका लागि दसैँअगावै प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।’
प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले गृहमन्त्री खाणलाई मनाङमा बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी गराएका थिए । साथै मन्त्री खाणले नागरिकको सेवा, विपत् र सुरक्षामा खटिन कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । असार १ मा आएको भीषण बाढीपहिरोका कारण मनाङका एक सय १० घरमा पूर्ण क्षति पुगेको मनाङ प्रशासनले जनाएको छ । ४७ घरमा आंशिक क्षति भएको छ ।