मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २१ बिहीबार १९:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : डडेल्धुराको वडा अधिवेशन के हुन्छ ? 

Read Time : > 1 मिनेट
२०७८ असोज २१ बिहीबार १९:०८:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भदौ २५ मा डडेल्धुरामा वडा तहको अधिवेशन सम्पन्न भयो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय र केन्द्रीय नेताहरूकै असहमतिबीच प्रशासनको सहयोगमा अधिवेशन गरिएको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर पक्षले त यसलाई अस्वीकार नै गर्ने घोषणा गरेको थियो। यसबारे इतर पक्षले केन्द्रीय निर्वाचन समितलाई समेत जानकारी गरायो। तर, डडेल्धुराको अधिवेशनबारे निर्वाचन समितिले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादव निर्वाचन सम्पन्न भइसकेकाले फेरि निर्वाचन नहुने बताँउछन्। ‘निर्वाचन भइसक्यो। यत्रो कुम्भमेलामा एकदुई स्थानमा विवाद हुँदैमा फेरि निर्वाचन हुँदैन,’ उनले नयाँ पत्रिकासँग भने। तत्कालीन समयमा संस्थापन पक्षले निर्वाचन समितिको जानकारीविनै अधिवेशन गरेको भन्दै समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका थिए। तर,उनको राजीनामा भने पार्टी सभापति देउवाले स्वीकृत गरेका थिएनन्। 

निर्वाचन समितिका सदस्यले नै डडेल्धुरामा समितिलाई जानकारी नदिई प्रहरी परिचालन गरेर जबर्जस्ती चुनाव  गरिएको भन्दै विरोध गरेका थिए। भदौ २८ मा संस्थापनइतर पक्षले  सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ। भदौ ३१ मा इतर पक्षले डडेल्धुरामा फेरि वडा अधिवेशन गराउन केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षणसमेत गराएको थियो। 

निर्वाचन समिति नै विभाजित 
निर्वाचनबारे अन्तिम निर्णय लिने अधिकार निर्वाचन समितिलाई छ। डडेल्धुराको अधिवेशनलाई लिएर कांग्रेसको निर्वाचन समितिका सदस्यहरूसमेत विभाजित अवस्थामा छन्। निर्वाचन समितिका एक सदस्यका अनुसार डडेल्धुरामा फेरि निर्वाचन गराउने या नगर्ने विषयमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समितिमा विवाद देखिएको छ। ‘समितिका अधिकांश सदस्यहरू निर्वाचन गराउनुपर्ने पक्षमा रहेको अवस्था छ,’ ती सदस्यले नयाँ पत्रिकासँग भने,‘संयोजकज्यूले यसबारे निर्णय गर्न सक्नुभएन।’ 

इतर पक्षका नेताहरूको आग्रहबारे के हुने भन्ने समितिले स्पष्ट पारेको छैन। समिति सदस्यहरूले पौडेल पक्षलाई उजुरी हेरेर निर्वाचनबारे जानकारी दिने बताए पनि यसबारे निर्णय गरिसकेको छैन। वडा अधिवेशनको विषयलाई लिएर समितिमा उजुरीसमेत परेको छ। समितिका सदस्यका अनुसार निर्वाचनको विषयमा छानबिन गर्नै पर्ने प्रकृतिका उजुरी आएका छन् । तर,ती उजुरी छानबिनमा संयोजक यादवले कुनै चासो नदेखाएको समिति सदस्यहरू बताँउछन्। ‘देशभरका ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसके भनिएको छ । तर, अझै डडेल्धुराको विषयमा के भन्ने भन्ने समितिमै दुई मत छ,’अर्का सदस्यले नयाँ पत्रिकासँग भने। 

बिरोध जारी 
अधिवेशन र क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै इतर पक्षका नेता कार्यकर्ताहरू अनसन बसिरहेका छन् । १७ असोजमा नेताहरू शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरू पुगेर धर्नामा समर्थन जनाएका थिए। 

वरिष्ठ नेता रामचन्द्र पौडेल भने डडेल्धुरामा धाँधली नै भएको आरोप लगाँउछन्। ‘हामीले ध्यानाकर्षण गराउँदा गराउँदै प्रशासनको दुरुपयोग गरेर निर्वाचन गरियो। हामीले अस्वीकार गर्ने घोषणा गरिसकेका छौँ। निर्वाचन फेरि हुनुपर्छ,’ पौडेलले भने।