नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युतका खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ। आफ्नो विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टिभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई प्राधिकरणले यही असोज १५ गतेभित्र भुक्तानी गर्न भनेको हो।
केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकलाई प्रक्रिया पूरा गरी सम्झौता गर्न र यसअघि सम्झौता गरेकालाई नवीकरण गर्न तथा बक्यौता तिर्न आज सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए। ‘तोकिएको मितिभित्र सम्झौता नगर्ने सेवा प्रदायकको विद्युत् प्राधिकरणको संरचनामा जडान भएका अप्टिकल फाइफर तथा अन्य उपकरण हटाउने केन्द्रको निर्देशन आएको छ,’ झाले बताए।