मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Thursday, 19 December, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७८ असोज १० आइतबार o९:४८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केयूका एक सय ५० कार्यक्रममा  विदेशी विद्यार्थीका लागि १० प्रतिशत कोटा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार o९:४८:oo

विदेशी विद्यार्थी ल्याउँदा अन्तर्राष्ट्रिय वरीयतामा अगाडि आउने, विश्वविद्यालयको गुणस्तर बढ्ने र आर्थिक रूपमा समेत देशलाई फाइदा हुने अपेक्षा 

काठमाडौं विश्वविद्यालय (केयू)ले सबै तहका गरी एक सय ५० भन्दा बढी कार्यक्रममा १० प्रतिशत कोटा विदेशी विद्यार्थीका लागि छुट्याउने निर्णय गरेको छ । केयूमा अहिले चिकित्सा शिक्षा र ननक्रेडिट कार्यक्रममा मात्र विदेशी विद्यार्थी आउने गरेका छन् । अब फेलोसिप दिएर ‘एकेडेमिक’ कार्यक्रममा समेत कोटा छुट्याएर विदेशी विद्यार्थी ल्याउने तयारी भएको छ ।

विश्वविद्यालयले नीतिगत निर्णय गरी केही आधारभूत तयारीसमेत थालेको छ । केयूका उपकुलपति प्रा.डा. भोला थापाले कार्यकारी परिषद्बाट निर्णय भएर तयारी अघि बढेको जानकारी दिए । विदेशी विद्यार्थी ल्याउँदा अन्तर्राष्ट्रिय वरीयतामा अगाडि आउने, विश्वविद्यालयको गुणस्तर बढ्ने र आर्थिक रूपमा समेत देशलाई फाइदा हुने उनको दाबी छ ।

केयूका सहप्रवक्ता डा.उद्धव प्याकुरेलले स्नातकदेखि पिएचडीसम्ममा एक सय ५० भन्दा बढी कार्यक्रम रहेको र सबै कार्यक्रममा भर्नाको समयमा विदेशी विद्यार्थीका लागि कोटा छुट्याउनुपर्ने व्यवस्था गरेको बताए । उनका अनुसार अन्तर्राष्ट्रियस्तरको कोर्स र त्यहीअनुसार अंग्रेजी माध्यममा पढाइ, शैक्षिक क्यालेन्डरको पालनालगायतका आधार निर्माण भएको छ । ‘कोभिड–१९ को महामारीमा समेत केयूको शैक्षिक क्यालेन्डर बिग्रिएको छैन, पढाइ र परीक्षा र नतिजा समयमै गरेर गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ,’ उनले भने, ‘विदेशी विद्यार्थी ल्याउन सकेमा विदेशी रकम आउने र अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिन्छ ।’ 

विदेश अध्ययनमा नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । विदेशी विद्यार्थी बढेमा नेपालमा आर्थिक गतिविधि बढ्नेसमेत अपेक्षा छ । महामारीकै समयमा पनि देशको सबैभन्दा ठूला विश्वविद्यालयको वार्षिक बजेटभन्दा धेरै रकम बाहिरिएको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७÷७८ मा विदेश अध्ययनका नाममा २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ खर्च र एक अर्ब चार करोड ५९ लाख रुपैयाँ आम्दानी भएको थियो ।

कतिपय ननक्रेडिट विषय अध्ययन गर्ने नाममा विद्यार्थीका रूपमा भित्रिएर धर्म प्रचारमा लाग्ने गरेका छन् । विद्यार्थी भिसामा आएर धर्म प्रचारमा लागेका विद्यार्थीलाई अध्यागमन विभागले देश निष्कासनसमेत गरेको थियो । एकेडेमिक कार्यक्रममा विद्यार्थीलाई अध्ययनबाहेकका गतिविधिमा लाग्न समय नहुने प्याकुरेलको भनाइ छ । सेमेस्टर सिस्टममा पढ्ने विद्यार्थीको हाजिरी पु¥याउनुपर्ने, दिनहुँजसो प्रिजेन्टेसन, प्रोजेक्ट वर्कलगायतका काममा व्यस्त हुने र पढाइमा ध्यान केन्द्रित हुने उनको भनाइ छ । एकेडेमिक डिग्री लिन आउनेको पढाइमा ध्यान हुने र ननक्रेडिट पढ्न आएका एकाध घटनासँग तुलना गर्न नहुने प्याकुरेलले बताए ।

विदेशी विश्वविद्यालयसँग संयुक्त कार्यक्रम चलाउने तयारी
केयूले विदेशी विश्वविद्यालयसँग सम्झौता गरी संयुक्त कार्यक्रम सञ्चालनको तयारीसमेत गरेको छ । संयुक्त कार्यक्रम सञ्चालन भएमा चारवर्षे कार्यक्रममा दुई वर्ष नेपाल र दुई वर्ष विदेशी विश्वविद्यालय रहेको देशमा अध्ययन गर्न पाउनेछन् । अहिले अस्ट्रेलियाको वेस्ट्रन सिड्नी युनिभर्सिटीसँग सम्झौता भइसकेको र अब पिएचडी कार्यक्रम सुरु हुने प्याकुरेलले बताए । अरू विश्वविद्यालयसँग पनि संयुक्त कार्यक्रमका लागि छलफल भएको उनको भनाइ छ ।

केयूमा एकजना प्राध्यापकले एक विद्यार्थीलाई निःशुल्क रिसर्च गराउनुपर्ने
काठमाडौं विश्वविद्यालयमा कार्यरत एक प्राध्यापकले एकपटकमा मास्टर्स, एमफिल, पिएचडीका एक विद्यार्थीलाई निःशुल्क अनुसन्धान गराउनुपर्ने भएको छ । विश्वविद्यालयको अनुसन्धानको दायरा फराकिलो बनाउन र क्षमता विकासका लागि निःशुल्क सुपरभाइजरको व्यवस्था गरेको हो । एकपटकमा दुई सय विद्यार्थीले अनुसन्धान फेलोसिप पाउने भएका छन् । विदेशी विद्यार्थीले समेत फेलोसिप पाउने काठमाडौं विश्वविद्यालयका अधिकारीहरू बताउँछन् । अनुसन्धानमा सहजता ल्याउन र प्रेरित गर्न यस्तो कार्यक्रम ल्याएको प्याकुरेलले बताए । यस्तो कार्यक्रमले केयूको विभाग तथा स्कुलमा रिसर्च फेलो बढ्ने उनले दाबी गरे । सुपरभाइजरले छनोट गर्ने र विभागीय प्रमुखको सिफारिसमा डिनले स्वीकृत गर्नेछन् । प्रोफेसर र एसोसियट्स प्रोफेसरले विदेशी विद्यार्थी भर्ना गरेपछि थप सुविधा बसोवासका लागि स्थानीय सुविधा पाउन सक्ने जनाएको छ । 

काठमाडौं विश्वविद्यालयमा मास्टर्स बाई रिसर्च, एमफिल र पिएचडीमा अनुसन्धान गर्न पाइने छ । यसरी छनोटमा परेका ‘रिसर्च फेलो’ले केयूले मास्टर्सदेखि पिएचडीसम्मको निर्धारण गरेको शुल्क तिर्नुपर्ने छैन । केयूले निर्धारण गरेको सबैभन्दा कम एमएस बाई रिसर्चको तीन लाख ९५ हजारदेखि सबैभन्दा महँगो पिएचडी बायोटेकमा सात लाख ३५ हजार रुपैयाँ फेलोसिप पाउनेछन् । अर्थात् केयूलाई निर्धारित शुल्क रिसर्च फेलोले तिर्न नपर्ने व्यवस्था गरेको छ । 

विदेशी विद्यार्थी ल्याउँदा अर्थतन्त्रलाई नै सहयोग पुग्छ : प्रा.डा. भोला थापा, उपकुलपति, काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्ले नै निर्णय गरेर विदेशी विद्यार्थीका लागि १० प्रतिशत कोटा छुट्याएका छौँ । हामी अन्तर्राष्ट्रिय र्‍याङकिङमा जान पनि विदेशी विद्यार्थी चाहिन्छ । पहिले चिकित्सा शिक्षाका कारण विदेशी विद्यार्थीको संख्या अलि धेरै देखिन्थ्यो, अहिले कम छन् ।

विदेशी विद्यार्थी ल्याउन सक्दा देशको अर्थतन्त्र र विश्वविद्यालयको गुणस्तरमा पनि वृद्धि हुन्छ । विदेशी विद्यार्थी आउँदा उनीहरूका अपेक्षा पूरा गर्न अझ धेरै मिहिनेत गर्नुपर्छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आर्थिक अवस्था राम्रो हुन्छ । तत्काल १० प्रतिशत पुर्‍याउन नसके पनि मिहिनेत गर्दा ल्याउन सकिन्छ ।

राम्रो देशका विद्यार्थी पनि ल्याउन सकिन्छ । हिमालय पढ्न नेपाल रोजाइमा पर्न सक्छ । सरकारले विदेशी विद्यार्थीलाई भिसा निःशुल्क गरेमा अहिले सजिलो हुने थियो । यस विषयमा छलफल गरेका छौँ ।