मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्याट्रिस लरेन्स
२०७८ असोज १० आइतबार ०८:५१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शरणार्थीप्रति असहिष्णु बन्दै बाइडेन प्रशासन 

देश/परदेश

Read Time : > 2 मिनेट
प्याट्रिस लरेन्स
२०७८ असोज १० आइतबार ०८:५१:००

शरणार्थीसँगको दुर्व्यवहारका लागि स्पष्टीकरण दिन वा प्रतिरक्षा गर्न हम्मे परिरहेको बाइडेन प्रशासनले सयौँ शरणार्थीलाई प्लेनमा खाँदेर हैटी फर्काउनु यस मामिलालाई थप खराब बनाउनु हो 

टेक्सासको सीमाक्षेत्रमा मानवअधिकारसँग जोडिएको आपत्तिजनक घटना भएको छ र यो घटना बाइडेन प्रशासनले मुलुक चलाइरहेका वेला भएको हो । गत सोमबार अमेरिकाका सीमा तैनाथी सुरक्षाकर्मीले आश्रय खोजिरहेका आप्रवासीलाई खेदिरहेको भयावह दृश्यको भिडियो सार्वजनिक भयो । यी शरणार्थी मूलतः हैटीका हुन् र उनीहरू मेक्सिकोको कोबुइलाबाट अमेरिकाको डेल रियो टेक्सासमा प्रवेश गर्न खोजिरहेका थिए । बाहिर आएको भिडियोमा घोडा चढेका तैनाथी सुरक्षाकर्मीले शरणार्थीसँग हिंसात्मक व्यवहार गरिरहेका थिए । भाइरल भएको अलजजिरा इंग्लिसको एक भिडियोमा एक तैनाथी प्रहरी सीमा नदी तर्न प्रयासरत एक परिवारलाई ‘महिलालाई अगाडी सार्छौ ! त्यही भएर तिमीहरूको मुलुक मलमूत्र जस्तो छ’ भनेर अभद्र भाषामा चिच्याइरहेका थिए । राजनीतिक हिंसा र प्राकृतिक प्रोकोपले आक्रान्त भई आफ्नो मुलुक छाडेर आएका यी मानिसको अपराध भनेको अमेरिकामा शरण माग्नु थियो । ह्वाइट हाउसलाई शरणार्थीसँगको यस्तो दुव्र्यवहारका लागि स्पष्टीकरण दिन वा प्रतिरक्षा गर्न हम्मेहम्मे नै पर्ने देखिन्छ । सयौँ शरणार्थीलाई एउटा प्लेनमा खाँदेर हैटीको दुःखको गर्तमै छाडेर जो बाइडेन प्रशासनले यस मामिलालाई थप खराब बनाइदिएको छ ।         

यो व्यवहारको कुनै नैतिक स्पष्टीकरण छैन । पहिलो कुरो सबै मानिसलाई झैँ हैटीका मानिसलाई पनि अमेरिकामा शरण माग्ने कानुनी अधिकार छ । सामान्यतया औपचारिक नाकाबाट शरणार्थीको आगमनको अपेक्षा गरिन्छ, यद्यपि यस्तो प्रावधान बाध्यकारी छैन । डेल रियोमा शरणार्थीको उपस्थिति कानुनी मात्रै होइन, पूर्णतः स्वाभाविक थियो । समाचार हेर्ने–सुन्ने जोसुकैलाई हाम्रो छिमेकी हैटी अत्यधिक बिकराल स्थितिमा रहेको थाहा छ । पीडाबाट गुज्रिरहेको मुलुकले केही महिनायता राष्ट्रपतिको हत्या र भूकम्प झेलेर आएको छ, त्यसमाथि सन् २०१० को विनाशकारी भूकम्पले निम्त्याएको गरिबी, संगठित हिंसा र राजनीतिक कलहले मुलुकलाई अझै छाडेको छैन । डेल रियोका शिविरमा रहेका हैटीका शरणार्थीले आफ्नो मुलुक छाडेको दशकौँ भइसकेको र उनीहरू चिली, ब्राजिल, पानामालगायत मुलुकमा बस्दै आएका थिए । 

हैटीका सन्दर्भमा बाइडेन प्रशासनले त्यहाँको अस्थिरतालाई स्वीकार गरेर अमेरिकामा रहेका हैटीवासीलाई मुलुकमा सुरक्षित रूपमा फर्किन अत्यधिक जोखिमको अवस्था रहेका कारण अस्थायी संरक्षणको हैसियत प्रदान गरेको थियो । अमेरिकाले शरणार्थीसम्बन्धी कानुन पालना गरेर यी आप्रवासीलाई आफ्नो अधिकारको अभ्यास गर्न दिनुपर्छ । अमेरिकासँग शरणार्थीसम्बन्धी न्यायिक छानबिन गर्ने संयन्त्र छन् । उसले यसअघि पनि शरणार्थीलाई अधिकारको प्रत्याभूति गराएको छ । सन् १९८० देखि १९९० सम्ममा अमेरिकाले एक लाखभन्दा बढी क्युबाली शरणार्थीलाई शरण दिएको थियो, त्यो पनि रिपब्लिकनको शासनकालमा । नैतिक रूपमा तर्क सपाट छ । हैटीवासी अहिले चरम कष्टमा जीवन व्यतीत गरिरहेका छन् र उनीहरू केवल शरणार्थीको अधिकार अभ्यासको माग गरिरहेका छन् । हैटियन ब्रिज एलायन्सजस्ता समूह शरणार्थीलाई सहयोग गर्न तयार छन् भने धार्मिक एवं गैरधार्मिक समूहले पनि सहयोग गर्ने तत्परता देखाएका छन् ।

आप्रवासीविरोधी अतिवादीले नितान्त मानवीय मुद्दालाई राजनीतीकरण गरेका छन् । डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार स्टेफन मिलर र उनका निकटस्थहरू अमेरिकीलाई विभाजित गरी आप्रवासी विशेषतः अश्वेत आप्रवासीप्रति डर एवं घृणा जगाएर राजनीतिक रोटी सेक्न सफल भएका थिए । मेरो संस्था ‘अनडक्युब्ल्याक’ ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा केहीअघि स्थापना गरिएको हो । म र मेरा सहकर्मी राजनीतिक परिदृश्यका दक्षिणपन्थीले फैलाएको अश्वेत विरोध एवं क्षेत्र/राष्ट्र संकीर्णता (जेनोफोबिया) का साक्षी बन्न पुग्यौँ । यस्ता भाष्यले पछिल्ला चार वर्षमा राष्ट्रिय बहसलाई विषाक्त नै बनायो । नयाँ प्रशासनले घृणाको राजनीतिलाई अस्वीकार गर्ने विश्वास गरिएको थियो, तर त्यो आशालाई बाइडेन प्रशासनले यसअघिका प्रशासनकै केही नीतिलाई जारी राखेर तहसनहस पारिदिएको छ । 

ट्रम्पकालमा बालबालिकालाई खोरमा थुनेको तस्बिर र हालै घोडामा सवार सीमा तैनाथीको हिंसाले उत्तिकै क्रुद्ध बनाउँछ । यद्यपि बाइडेनलाई छुट दिने सम्भावना बढी देखिन्छ किनभने अझै पनि जोखिममा रहेका मानिस उनीबाट धेरै आशा गरिरहेका छन् । जोखिमयुक्त मानिसलाई खेद्नुको साटो बाइडेन प्रशासनले शरणार्थीलाई अधिकार र आत्मसम्मानको प्रत्याभूति गर्ने गरी वक्तव्य निकाल्न सक्थ्यो । अहिलेको प्रशासनले रिपब्लिकनहरूझैँ मेरा क्यारेबियन कुटुम्बमाथि नश्लभेदी व्यवहार गरिरहेका छन् ।

अघिल्लो साता टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले फक्स न्युजमा गैरश्वेत बालबालिकाले श्वेत बालबालिकालाई विस्थापित गरिरहेको अभिव्यक्ति दिएका थिए । प्याट्रिकले खोप लगाउने दर कम भएकोमा गैरश्वेतलाई जिम्मेवार ठहर्‍याएका थिए, जबकि श्वेत टेक्सासवासीले कम खोप लगाएको प्रमाणित नै छ । अर्थात् डेमोक्रेटिक र रिपब्लिकन दुवैतर्फ अश्वेतविरोधी मानसिकता व्याप्त देखिन्छ । अघिल्लो शरद याममा मैले मेरा समुदायका सदस्यलाई विभाजनको राजनीति अन्त्य गर्न परिचालन गरेको थिएँ । हामीलाई बाइडेन प्रशासनले नश्लभेदले निम्त्याएको विभेदको घाउ पुर्ने र आप्रवासीलाई समावेश गर्ने गरी काम गर्ने वाचा गरिएको थियो । नतिजा अहिले हामी त्यही पुरानै अश्वेतविरोधी, क्रूरता र अव्यवस्था झेलिरहेका छौँ । बाइडेन प्रशासनलाई यो म्यान्डेट दिइएको थिएन । प्रशासनसँग सही काम गर्न संयन्त्र यथावत् छन् र प्रशासनले ती संयन्त्रको प्रयोग गर्नुपर्छ । 

(लरेन्स अश्वेत आप्रवासी अभियन्ता हुन्) 

सिएनएनबाट