Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७८ असोज ३ आइतबार ०९:५७:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्लाहीमा अर्का साहुकारको पनि अत्याचार : मिटरब्याजले उठीवास

मिटरब्याजी नरेश चौधरी भन्छन्– ‘म त समाजसेवी हुँ’

Read Time : > 5 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ असोज ३ आइतबार ०९:५७:००

सर्लाहीको चन्द्रनगर गाउँपालिका– ३, बड्कुर्वाका साहुकार नरेश चौधरीसँग ऋण लिएका स्थानीयहरू हप्तेब्याजका कारण सुकुमबासी बन्न थालेका छन् । दुई वर्षअघि चारपटक गरेर ४५ हजार ऋण लिएकी दनुवार बस्तीकी सुशीला देवीको परिवारले १० कट्ठा जमिन गुमाउनुपरेको छ । 

०७६ जेठमा नातिनी बिरामी परेपछि सुशीला उपचार खर्च जुटाउन साहुकार नरेशकहाँ पुग्न बाध्य भएकी थिइन् । पहिलोपटक १० हजार लिएकी उनले खर्च नपुगेपछि थप तीनपटक गरी ४५ हजार ऋण पुर्‍याइन् । तर, साहुले अनुमान गरेभन्दा बढी ऋण पुगेको देखाएपछि तत्काल चुक्ता गर्न सक्ने अवस्था बनेन । 

तीन महिनापछि नरेश सुशीलाको घरमा पुगे । कागजपत्र गर्न ताकेता गरे । उनले सावाँ र ब्याजसहित हिसाब मागिन् । तर, ४५ हजार ऋणको तिर्नुपर्ने हिसाब तीन महिनामै दुई लाख २० हजार पुगेको सुनाए । त्यो दिन सम्झिँदै सुशीलाले नयाँ पत्रिकासँग भनिन्, ‘म त छाँगाबाट खसेझैँ भएँ । ४५ हजार ऋणको तीन महिनामै दुई लाख २० हजार कसरी पुग्यो भनेँ । साहुले गाउँमा हप्तेब्याज चलेकाले सबैलाई यही नियम लागू हुने सुनाए ।’ साहुकारको आदेश मान्नुको विकल्प उनीसँग भएन । 

नरेशले गाउँकै लेखनदास हेमलाल महतोलाई कपाली तमसुक बनाउन लगाए । मूलधन दुई लाख २० हजार रुपैयाँको तमसुक बनाइदिए । तिर्नुपर्ने म्याद अवधि १० वर्षको तोके । त्यस अवधिको सावाँ, ब्याज हिसाब गर्दा ६ लाख ८१ हजार निस्कियो । यही रकम उल्लेख गरेको कागजमा नरेशले सुशीलालाई हस्ताक्षर गर्न लगाए । साहुको बदमासी लेखपढ नगरेका सुशीला र उनका श्रीमान् पुनेधरसिंह दनुवारले मेसो पाएनन् । साहुले भनेअनुसार तमसुकमा सही गरेको सुशीलाले बताइन् । 

त्यसको दुई महिनापछि सुशीलाले बयलवास बजारस्थित निर्धन लघुवित्तबाट एक लाख ७० हजार ऋण काढिन् । लगेर नरेशलाई बुझाइन् । तर, त्यसको एक महिनापछि ऋणको ब्याज धेरै रहेको भन्दै नरेशले दनुवार परिवारको १० कट्ठा जमिन कब्जा गरे । आफूलाई जग्गा कमाउन दिए ब्याज तिर्नु नपर्ने आश्वासन दिएर जमिन प्रयोग गरे । त्यसपछि मालपोत र नापीका कर्मचारीको साथ लिएर जग्गा रोक्का गरिदिए । लगत्तै आठ लाख ४५ हजार रुपैयाँ दाबी गर्दै अदालतमा मुद्दा हाले । साहुसँग कानुनी लडाइँ गर्न सक्नेबारे सुशीलाले सोच्न पनि सकिनन् । कुनै उपाय नलागेपछि उनी भएको १० कट्ठा जमिन छिमेकी मनिराम साहलाई पास गर्न राजी भइन् । त्यसबापत आएको आठ लाख ४५ हजार रुपैयाँ साहुकार नरेशलाई बुझाइन् । 

‘नरेश साहुसँग मैले लिएको ४५ हजार मात्रै हो । तर, आठ लाख ४५ हजारको हिसाब कसरी निस्कियो ? म समस्या लिएर हाकिमहरूकहाँ पनि पुगेँ, तर मेरो कुरा कसैले सुनिदिएन,’ सुशीला भन्छिन्, ‘६ जनाको परिवार पालिने यही १० कट्ठा पुख्र्यौली जमिन थियो । तर, साहुकारले जालसाजी गरेर सबै हडपे । हामी त घर न घाटका भयौँ ।’ 

हाल बस्दै आएको झुपडी रहेको १५ धुर जमिन पनि अहिले सुशीलाको परिवारसँग छैन । यो जग्गामा मोही हक दाबी परेपछि आधा–आधा गर्नुपर्ने भयो या आधा जमिनको पैसा तिर्नुपर्ने भयो । तर, पैसा नभएपछि आफन्तलाई गुहारिन् । मोही दाबी गर्नेलाई नन्दले पैसा बुझाइदिइन् र पूरै जमिन आफ्नै नाममा पारिन् । त्यही घडेरीमा रहेको झुपडी पनि चुहिने भइसकेको छ । प्लास्टिकले बेरेर जेनतेन पानी तर्काएका छन् । भएको जग्गा गुमेपछि भकारी पनि रित्तिएको छ । परिवारको गुजारा चलाउन सुशीला छोराछोरीसहित इँटाभट्टामा मजदुरी गर्छिन् । श्रीमान् पुनेधर पनि सेलर मिलमा काम गर्छन् ।

विजयसिंहलाई पनि बनाए बेघरबार 
साहुकर नरेशकै कारण चन्द्रनगर– ७ नाडीटोलका विजयसिंह दनुवारको परिवार पनि सुकुमबासी बनेको छ । घर बनाउन विजयसिंहले नरेशसँग तीन लाख ऋण लिएका थिए । जसका लागि उनले पाँच कट्ठा ११ धुर जमिन साहुको नाममा दृष्टिबन्धक राखेका थिए । केही समयपछि विजयसिंहले गाउँमै रहेको लघुवित्तबाट एक लाख ५० हजार निकालेर नरेशलाई बुझाए । ऋण कम भएको अनुमानपछि उनले साहुकारसँग हिसाब मागे । तर, नरेशले सुरुमा हिसाब देखाउन इन्कार गरे । पटक–पटक कर गरेपछि उनले हिसाब उतारेको कागज देखाए । तर, ऋण पुगेको थियो, नौ लाख ६६ हजार । 

विजयसिंहकी श्रीमती ज्योति देवीले भनिन्, ‘हामीलाई लेखपढ गर्न आउँदैन । सादा कागज ल्याए । त्यसैमा हस्ताक्षर गर्न लगाए । हामीले तीन लाख रुपैयाँ मात्रै लिएका थियौँ । लघुवित्तबाट लिएको एक लाख ५० हजार रुपैयाँ पनि उनैलाई दिएका थियौँ । तर, उनले हामीलाई नौ लाख ६६ हजारको कागज देखाए । हामी केही गर्न सक्ने अवस्थामै भएनौँ ।’ 

साहुको जालसाजी थाहा पाएपछि विजयसिंहलाई तनाव भयो । उनी अन्यायबाट मुक्ति पाउने उपायको खोजीमा थिए । जब जग्गा धितो राखेर ऋण निकाल्ने सोचमा बैंक पुगे, तब थाहा भयो साहुकार नरेशले दृष्टिबन्धकमा रहेको जग्गा श्रीमती सुभद्रा कुमारीको नाममा पास गराइसकेका रहेछन् । हेर्दाहेर्दै विजयसिंह सुकुमबासी बने । 

‘म त हेर्दाहेर्दै सुकुमबासी भएँ । मेरो जग्गा जालसाजीपूर्वक साहुकारले खाए । हारगुहार गर्दै सबैकहाँ धाएँ, तर मेरो कुरा कसैले सुनेनन् । अन्यायमा परेको म अब कहाँ जाऊँ ?’ विजयसिंह भन्छन्, ‘न्यायका लागि नगरपालिका पुगेर उपमेयर वीणा देवीलाई सबै घटना सुनाएँ । तर, आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै कुरै सुन्न चाहिनन् ।’ 

विजय अहिले दैनिक गुजाराका लागि बयलवास क्षेत्रमा सोलर मिलमा बोरा बोक्ने काम गर्छन् । उनकी श्रीमती ज्योति, तीन छोरी र एक छोरा छन् । श्रीमती गाउँमै ज्याला–मजदुरी गर्छिन् । गाउँमा काम नहुँदा विजय परिवार पाल्न भारत पनि जाने गर्छन् ।

साहुकार चौधरी भन्छन्– म समाजसेवी हुँ, आपत्मा सहयोग गर्‍यो, अहिले आरोप लगाउँछन्
म समाजसेवी हुँ । आपत् पर्दा घरको ढोका ढकढक्याउन आएपछि फिर्ता लिने गरी सहयोग गरेको हो । त्यसै दिएको होइन । सुशीला देवीबाट आठ लाख ४५ हजार लिनुपर्ने थियो । मैले पाँच लाख ५० हजार मात्रै पाएको छु । समाजका भद्रभलाद्मी जनप्रतिनिधिले भनेकाले कम रकम लिएको हुँ । 

विजयसिंहको हकमा जग्गा दृष्टिबन्धक गर्न ऊ नै राजी भएको हो । तर, ऋण नतिरेपछि रजिस्ट्रर गराएको हो । उनले लघुवित्तबाट ऋण लिने गरेको र त्यो तिर्न नसकेपछि मैले उल्टै सहयोग गरेको हो । उनीहरू नै आपत् पर्दा १० पटकसम्म ढोका ढकढक्याउन आउँछन्, अहिले आरोप लगाउँछन् । 

 विजयसिंह दनुवारले घर बनाउन जग्गा दृष्टिबन्धक राखेर तीन लाख ऋण लिए, साहुकारले जालसाजी गरेर जग्गा नै हडपे
चन्द्रनगर– ७ नाडीटोलका विजयसिंह दनुवारले पाँच कट्ठा जग्गा दृष्टिबन्धक राखेर घर बनाउन साहुकार नरेशसँग तीन लाख ऋण लिए । केही समयपछि उनले गाउँकै लघुवित्तबाट एक लाख ५० हजार ऋण निकालेर साहुकारलाई बुझाए र बाँकीको हिसाब मागे । साहुकारले नौ लाख ६६ हजार तिर्न बाँकी रहेको कागज देखाए । तनावमा पुगेका विजयसिंहले बैंकबाट ऋण निकालेर साहुकारको मिटरब्याजबाट मुक्त हुने उपाय खोजे ।

दुर्भाग्य, बैंकमा पुग्दा थाहा भयो– साहुकार नरेशले दृष्टिबन्धकमा राखेको विजयसिंहको जग्गा आफ्नी श्रीमती सुभद्रा कुमारीको नाममा पास गराइसकेका रहेछन् । साहुकारको जालसाजीले विजयसिंह हेर्दाहेर्दै सुकुमबासी बने । विजय सिंहकी श्रीमती ज्योति देवीले भनिन्, ‘हामीलाई लेखपढ गर्न आउँदैन । सादा कागज ल्याप्चे लगाएका थिए । हामीले तीन लाख रुपैयाँ मात्रै ऋण लिएका थियौँ । एक लाख ५० हजार रुपैयाँ साहुकारलाई तिरेका पनि थियौँ । फेरि पनि उनले हामीलाई नौ लाख ६६ हजारको कागज देखाए । हामी गरिब मान्छे, अन्याय हुँदा पनि केही गर्न सकेनौँ ।’

४५ हजार ऋणलाई साहुकारले दुई वर्षमा ८ लाख ४० हजार पुर्‍याए, ऋण तिर्दै १० कट्ठा १५ धुर जग्गा गुम्यो
नातिनी बिरामी भएपछि चन्द्रनगर गाउँपालिका– ३, बड्कुर्वा दनुवार बस्तीकी सुशीला देवीले ०७६ मा स्थानीय साहुकार नरेश चौधरीसँग ४५ हजार ऋण लिइन् । नरेशले तीन महिनामै झन्डै पाँच गुणा बढाएर निरक्षर सुशीला र उनका श्रीमान् पुनेधरसिंह दनुवारले दुई लाख ४० हजार ऋण लिएको कागजमा ल्याप्चे लगाए ।

 

त्यो रकम पनि १० वर्षभित्र साँवा र ब्याजसहित ६ लाख ८१ हजार हुने तमसुक बनाए । त्यसको दुई महिनापछि सुशीलाले निर्धन लघुवित्तबाट एक लाख ७० हजार ऋण निकालेर नरेशलाई बुझाइन् । तर, पनि उनी ऋणमुक्त भइनन् । १० कट्ठा खेत र १५ धुर जमिनमा भएको घरसहित बेचेर साहुकारको ऋणबाट मुक्त त भइन् तर सुशीलाको ६ जनाको परिवार भने खुला आकाशमुनि पुगे । ‘नरेश साहुसँग ४५ हजार मात्रै लिएको हो । उनले आठ लाख ४५ हजारको हिसाब कसरी निकाले ? समस्या लिएर हाकिमहरूकहाँ पनि पुगेँ । तर, मेरो कुरा कसैले सुनिदिएन,’ सुशीलाले भनिन्, ‘६ जनाको परिवार पालिने त्यही १० कट्ठा पुख्र्यौली जमिन र घर थियो । तर, साहुकारको जालसाजीका कारण हामीहरूको उठिबास भयो, घर न घाटका भयौँ ।’ 

सर्लाहीमै आतंक मच्याएका तीन साहुकार के गर्दै छन् ?
दुःख परेर ऋण लिने गाउँलेलाई जाली कागजात बनाएर पासोमा पार्ने र घरखेत नै उठाइदिने साहुकारहरूको सर्लाहीमा आतंक नै छ । उनीहरूका कारण कैयौँ व्यक्ति सुकुमबासी बनेका छन् । स्थानीयलाई ठग्ने बरहथवा– १० सीतापुरका साहुकार रामबाबु राय धरौटीमा छुटेपछि गाउँ नै आतंकित बनेको छ ।

उनले २८ जनासँग २० करोडभन्दा धेरै ठगी गरेका थिए । जग्गा दृष्टिबन्धक राख्नु र पछि त्यसैलाई रजिस्ट्रेसन पास गराउनु उनको धन्दा हो । लाख दिएर करोड असुल्ने उनको गोरखधन्दाबाट सुकुमबासी बनेका स्थानीय गुहार माग्दै ०७६ पुसको दोस्रो साता काठमाडौंमै आएका थिए । सिंहदरभित्रै पत्रकार सम्मेलन गरेका उनीहरूको पीडा सुन्न नेपाल प्रहरीका तत्कालीन आइजिपी सर्वेन्द्र खनाल, तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेल सहभागी थिए । 

ठगिएकाहरूको पीडा सुनेर भावुक बनेका आइजिपी खनालले साहुकार रामबाबुलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सलार्हीलाई निर्देशन दिएका थिए । भेष बदलेर भाग्दै गरेको अवस्थामा रामबाबु पक्राउ परेका थिए, तर उनी धरौटीमा छुटे । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सम्पत्ति शुद्धीकरण आयोगले पनि उनको अकुत सम्पत्तिको सम्बन्धमा अनुसन्धान गरेको छ । तर, पीडितले भने अझै न्याय पाउन सकेका छैनन् । गाउँमा रामबाबुकै दबदबा छ, उनकै कारण सुकुमबासी बनेकाहरू त्रासमा छन् । 

बरहथवाकै अर्का खुंखार साहुकार हुन् सञ्जय रौनियर । भारतीय र नेपाली दुवै नागरिकताधारी उनी अचेल भारतको बिहारस्थित सीतामडीमा बस्छन् । उनले पनि बरहथवाका २३ भन्दा धेरै स्थानीयलाई सुकुमबासी बनाएका छन् । उनीबाट पीडितहरू पनि ०७६ को पुसमै काठमाडौं आएका थिए । तत्कालीन आइजिपी खनालको निर्देशनपछि साहुकार रामबाबु पक्राउ परे पनि सञ्जय भने फरार भए । 

त्यसयता उनी धेरैपटक लुकिछिपी नेपाल आएका छन् । आसामी उठाएर पुनः फर्किएका छन् । तर, प्रहरीले उनलाई अझै पक्राउ गर्न सकेको छैन । सीतामडीमै बसेर उनी सर्लाहीमा राज चलाउँछन् । त्रसित स्थानीय उनको अत्याचारबारे अझै खुल्न सकेका छैनन् । 

सर्लाहीकै साहुकार श्याम परदेशी उर्फ श्यामकृष्ण साह कलवारले जेल पुगेर पनि उन्मुक्ति पाएका छन् । सर्लाही हरिपुरका दुई सय ९९ स्थानीयलाई ऋण दिएर सुकुमबासी बनाएका उनले पीडितमध्ये एक स्थानीयलाई ७० लाखको किर्ते तमसुक बनाएर घर न घाटको तुल्याएका थिए । कर्तुत बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि जेल पनि गए । तर, पछि उनी पनि उच्च अदालतबाट धरौटीमा छुटे । उनको मुद्दा पनि अदालतमै विचाराधीन छ । अहिले गाउँमा उनकै दबदबा छ । त्रसित स्थानीय उनीसँग लुक्दै हिँड्नुपर्ने अवस्था छ ।