मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २ शनिबार ०६:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दर्शकसहित युएईमा आइपिएल हुँदै

युएईका तीन सहरमा आइपिएलका बाँकी ३१ खेल हुनेछन्, आयोजकले कोभिड–१९ को सबै प्रोटोकल पालना गरी दर्शकलाई समेत रंगशालामा आइपिएल हेर्न अनुमति दिएको छ

Read Time : > 1 मिनेट
२०७८ असोज २ शनिबार ०६:३८:००

इन्डियन प्रिमियर लिग (आइपिएल)को रोकिएका खेलहरू १९ सेप्टेम्बरदेखि युएईमा हुँदै छन् । यसअघि भारतमा दोस्रो लहरको कोरोना भाइरस महामारीका रूपमा फैलिनुअघिसम्म भारतमै आइपिएल सञ्चालन भएको थियो । कोरोनाको दोस्रो चरण डरलाग्दो रूपमा भारतमा फैलिएपछि आइपिएल स्थगित भयो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बाँकी खेल युएईमा गराउने निर्णय गर्‍यो । बोर्डका अध्यक्ष तथा पूर्वकप्तान सौरभ गांगुलीले युएईमा आइपिएलका बाँकी खेल हुने र यसको तयारी भइरहेको बताएका छन् । 

आयोजक बिसिसिआईले युएईमा दर्शकसहित हुने जनाएको छ । १९ सेप्टेम्बरमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलमा दर्शकको उपस्थिति रहने पक्का भएको छ । बिसिसिआइले दोस्रो चरणको आइपिएलका लागि दर्शकको अनुमति दिएको छ । गत वर्षको संस्करण पनि युएईमै भएको थियो । त्यसवेला दर्शकलाई रंगशालाभित्र प्रवेश अनुमति थिएन । दर्शकले अनलाइनको माध्यमबाट १६ सेप्टेम्बरमै आफ्नो टिकट बुक गर्न सक्नेछन् । 

आइपिएलमा सहभागी टोलीका खेलाडी, अफिसियल तथा दर्शकको मध्यनजर राखी आयोजक बिसिसिआई र युएईले सबै किसिमको तयारी पूरा गरेको जनाएका छन् । आइपिएल सञ्चालन भइरहँदा युएईले इमरजेन्सी मेडिकल टोली, स्पोर्टस् मेडिकल सपोर्ट, अनकल डाक्टर, एयर एम्बुलेन्सजस्ता महत्वपूर्ण पक्षको प्रबन्ध आयोजकले गरेको छ । युएईको भिपिएसलाई हेल्थकेयर पार्टरनका रूपमा राखिएको छ । 

आइपिएलमा सहभागी टोलीलाई सघाउन युएईमा कोभिड–१९ को एक छुट्टै म्यानेजमेन्ट टोली पनि बनेको छ । भारतीय एजेन्सीहरूका अनुसार आइपिएलभरि नै सयभन्दा बढी मेडिकल टोली सक्रिय रूपमा रहनेछन् । यो टोलीले रंगशालामा सबै किसिमका औषधि उपचार व्यवस्था गर्नेछ । आइपिएलमा आठ टोली सहभागी छन् । प्रतियोगिता समाप्त हुन अझै ३१ खेल बाँकी नै छन् । युएईको दुबई, सारजहाँ तथा अबुधाबी मैदानमा आइपिएलका ती सबै बाँकी खेल हुनेछन् ।

१५ अक्टोबरमा फाइनल खेल हुनेछ । आइपिएलको दोस्रो फेजका हरेक खेल समाप्तिपछि नै पिसिआर टेस्ट हुनेछ । प्रतियोगितामा सहभागी हुने टोली विभिन्न १४ होटेलमा बसेका छन् । अहिलेसम्म सात सय ५० पिसिआर टेस्ट भइसकेको छ । दुबईमा जारी भएको नयाँ कोभिडको प्रोटोकलअनुसार हरेक तीन दिनमा पिसिआर टेस्ट भइरहेको छ । आयोजकका अनुसार प्रतियोगिताअघि खेलाडी, असिफियल तथा दर्शक गरी ३० हजार पिसिआर टेस्ट हुनेछ । हेल्थकेयरका सिइओ तथा डाक्टर साजिर गफारले आइपिएलमा आफ्नो टोली पूर्ण रूपले तयारी अवस्थामा रहेको बताएका छन् ।

‘हामी आइपिएलमा सहभागी सबैलाई मेडिकल सुविधा दिन्छौँ, यसका लागि तयारी सबै भइसकेको छ,’ उनले भने, ‘हामी दोस्रो चरणको आइपिएल निकै सुरक्षित रूपमा गर्न गइरहेका छौँ ।’ आइपिएल समाप्तिपछि युएईमै टी–२० विश्वकप प्रतियोगिता हुनेछ । यसैको मध्यनजर गरी आइपिएलमा कोभिड–१९ को प्रोटोकल अपनाइएको हो ।