१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँच वर्षमा २९७९ हत्या, ९७४ परिवारभित्रैबाट

पारिवारिक हत्याको डरलाग्दो तथ्यांक : १३ प्रतिशत हत्या श्रीमान्बाट

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२o:oo

नेपाल प्रहरीको तथ्यांकअनुसार परिवारभित्रै हत्याका घटना चिन्ताजनक रूपमा बढेका छन् । प्रहरीको तथ्यांकले मुलुकभर भएका कुलमध्ये झन्डै एकतिहाइ हत्या नाता–सम्बन्धभित्रै व्यक्तिबाट भएको देखाएको छ । तथ्यांकअनुसार पाँच वर्षमा मुलुकभर दुई हजार नौ सय ७९ हत्याका घटना भए । जसमध्ये नौ सय ६४ हत्या परिवारभित्रै सदस्यबाट भए । यो भनेको कुल घटनाको ३२ दशमलव ३५ प्रतिशत हो ।

प्रहरी अनुसन्धानमा परिवारभित्रै हत्याका घटना हुनुमा सम्पत्ति र अवैध सम्बन्ध भेटिएको छ । समाजशास्त्रीको बुझाइमा मानिसको सबैभन्दा बढी अन्तर्क्रिया परिवारसँग हुने र त्यहाँ कलह हुँदा तनाव उत्पन्न हुन्छ । र, त्यही तनावको सही व्यवस्थापन नहुँदा यस्ता अपराध हुने गर्दछन् । 

पारिवारिक हत्याको डरलाग्दो तथ्यांक : १३ प्रतिशत हत्या श्रीमान्बाट श्रीमतीको
१. नेपाल प्रहरीको तथ्यांकअनुसार नाता–सम्बन्धभित्र सबैभन्दा धेरै हत्याका घटना श्रीमान्बाट श्रीमतीको हुने गरेको देखिन्छ । पाँच वर्षमा मुलुकभर दुई हजार नौ सय ७९ हत्याका घटना भए । जसमध्ये तीन सय ९४ हत्याका घटना श्रीमान्बाट श्रीमतीको भयो । यो कुल घटनाको १३ दशमलव २२ प्रतिशत हो । श्रीमान्को हत्यामा श्रीमती संलग्न भएका घटना पनि प्रशस्तै छन् । तथ्यांकअनुसार कुलमध्ये दुई दशमलव ४५ प्रतिशत हत्याका घटनामा श्रीमती संलग्न भएको देखिन्छ । 

२. आमाबाबुको हत्यामा छोरा संलग्न भएको घटना पनि उत्तिकै छन् । पाँच वर्षमा ८५ वटा यस्ता हत्याका घटना भए, जसमा मुख्य अभियुक्त छोरा थिए । यो कुल घटनाको दुई दशमलव ८५ प्रतिशत हो । त्यसबाहेक भएका हत्याका अन्य घटना आमाबाट छोराछोरीको, सौतेनी आमाबुबाबाट छोराछोरीको, भान्जाबाट मामाको, दाजुबाट बहिनीको, बहिनीबाट दाजुको, देवरबाट भाउजूको, भतिजले काकाकाकीको भएको देखिन्छ । 

काठमाडौं :  दुव्र्यसनी पतिले गरे श्रीमतीको हत्या
लागुऔषधका दुव्र्यसनी बल्खु सुकुमबासी टोलका सन्तोष सापकोटा ‘डोज’ नपुग्दा पागलझैँ हुन्थे । पैसाका लागि श्रीमती मात्र होइन, श्रीमतीका आफन्तलाई समेत लुट्न भ्याउँथे । जसका लागि उनले भाडाका लुटेरासमेत प्रयोग गर्थे । उनले भाडाका लुटेरा प्रयोग गरी जेठीसासूको घरमा समेत लुट्न भ्याए । उनको हर्कतबाट दिक्क भएकी श्रीमती ३२ वर्षीय सन्तोषी श्रेष्ठ उनीसँग छुट्टिने मनस्थितिमा पुगिन् । यसका लागि उनले सन्तोषसँग डिभोर्स मागिन्, तर सन्तोष तयार थिएनन् । यही विषयमा दुईबीच विवाद बढ्यो । अन्ततः सन्तोषले ४ चैत ०७६ मा श्रीमतीको हत्या गरिदिए । 

रौतहट : अवैध सम्बन्धमा छोराले गरे बुबाको हत्या
रौतहट दुर्गा भगवती– ३ मत्सरी पर्साटोका २५ वर्षीय राजकुमार पण्डित तब झस्के जब बुबा फेकन पण्डित श्रीमतीसँग अपत्तिजनक अवस्थामा भेटिए । उनले आवेग थाम्म सकेनन् । गोठमा राखिएको हथौडाले बुबाको टाउकोमा प्रहार गरे । चोटका कारण बुबा ढले । रक्ताम्मे बनेका बुबा छटपटाउन थाले, तर उनको रिस अझै मत्थर भए । नजिकै रहेको खुँडा उठाए, अनि बुबाको घाँटी काटे । २८ माघ ०७६ भएको घटनालगत्तै फरार बनेका उनी अन्ततः प्रहरीको फन्दामा परे । 
१२ लाख खर्चेर 

भक्तपुर : छोरीले गराइन् आमाको हत्या 
१५ असार ०७६ मा सिन्धुपाल्चोक इन्द्रवती– ५ की ६१ वर्षीय सावित्री भट्टराईको हत्यामा उनकै कान्छी छोरी ईश्वरीको संलग्नता भेटियो । भक्तपुर चाँगुनारायण–७ बाँसबारीस्थित २७ वर्षीय ईश्वरीको घरमा प्रहरी पुग्दा सावित्रीको शव रगतको आहालमा थियो । आमाको वियोग पीडाले उनी विक्षिप्त देखिन्थिन् । विवाहित उनले आफ्ना केटा साथी सिराहा कल्याणपुर– ४ का २३ वर्षीय महोम्मद नौसादसँग आमाकै कारण रोमान्स गर्न पाइनन् । यही झोकमा उनले आमाको हत्या गर्ने योजना बनाइन् । यसका लागि पेसेवर हत्यारालाई १२ लाख रुपैयाँ सुपारीसमेत दिएकी थिइन् । घटनास्थलमा विक्षिप्त देखिएकी उनका सबै हर्कत बनावटी थिए ।

 

 

ad
ad