प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा श्रीमती आरजु देउवाका सुपुत्र जयवीर देउवा कांग्रेसको क्रियाशील सदस्य बनेको विषयले अहिले कांग्रेसको राजनीतिक वृत्त तातेको छ । देउवाको गृहजिल्ला डडेलधुरा तात्नुको अर्को कारण त्यहाँको पार्टी कार्यालयसँग खेलिएको जालसाजी पनि रहेको छ ।
कांग्रेसको जिल्ला कार्यालयबाट केन्द्रमा पठाइएको सूचीमा चार सय ६० जनाको निर्विवाद क्रियाशील सदस्य सदर थियो । त्यसलाई हटाई जिल्लाका कुनै पनि निकायमा कुनै जानकारी नै नभएका तीन सय १२ जनाको नाम त्यसमा थपिएको छ । यो जाली काम डडेलधुरामा पहिलोपल्ट भएको हो । देउवा परिवारसँग सम्बद्ध सूत्रका अनुसार ‘जयवीर देउवालाई कांग्रेसको ‘हाइप्रोफाइल’ सदस्य बनाउनु र महाधिवेशनको मुखमा क्रियाशील सदस्यतामा यस्तो जालसाजी गर्नुको कुनै तुक छैन । यसले कांग्रेसका मतदातामा अविश्वासको सिर्जना भएको छ । यो काम श्रीमती आरजु देउवाको इसारामा गरिएको हो ।’
कांग्रेसको नेतृत्वमा जम्ने महत्वाकांक्षाको तुष्टिका लागि पछिल्लो निर्वाचनमा कैलालीबाट पराजित भएदेखि नै श्रीमती देउवाको आँखा डडेलधुरातिर तानिएका हो । सभापति देउवाको निर्वाचन क्षेत्र भनेर चिनिएको डडेलधुरामा जयवीरलाई आफ्नो बाबुको विकल्पका रूपमा स्थापित गर्ने दूरगामी दृष्टि राखिएको बताउँछन् जानिफकारहरू ।
सभापति देउवा वृद्धावस्थाका कारण धेरै सक्रिय हुन पनि नसक्ने र न्याय–अन्यायको छ्यान विचार पनि गर्न नसक्ने अवस्थामा पुगेकाले उनलाई आगामी निर्वाचनमा समानुपातिकतिर धकेलेर छोरा जयवीरलाई बाबुको उत्तराधिकार दिलाउने विचार श्रीमती देउवाले राखेको चर्चा डडेलधुराको राजनीतिक वृत्तमा चल्न थालेको छ । जयवीर देउवाको कांग्रेस प्रवेश त्यति महत्वपूर्ण विषय होइन । तर, छोरा जयवीरलाई बाबु शेरबहादुरको बिरासत धान्ने प्रतिनिधिका रूपमा कांग्रेसमा स्थापित गर्न खोजिनु आफैँमा हास्यास्पद हो ।
नेपालको राजनीतिमा जे पनि हुन्छ । त्यसमा पनि सत्ताको खेलमा माहिर राणा परिवारकी चेली आरजु राणा राजनीतिक हिसाबले कुटिल मानिन्छिन् । कहाँ कसलाई कसरी खेलाउनुपर्छ र कसरी लडाउनुपर्छ, उनमा त्यसको विषद ज्ञान रहेको बताइन्छ । कांग्रेसमा कोइराला, सिंह, राणा, भट्टराई, उपाध्याय र निधिहरूको बिरासत रहेजस्तै ‘देउवा–राणा’ को पनि बिरासत र वर्चस्व कायम हुनुपर्छ भन्ने मानसिकता, नेपालको खानदानी परम्परा र परिवेशमा अस्वाभाविक होइन ।
नेपालको राजनीतिमा बिरासतको कुरा गर्दा कांग्रेसजनको नाम अगाडि आउँछ । कम्युनिस्ट राजनीतिमा बिरासतको प्रवृत्ति देखिँदैन । नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालकी श्रीमती साहना प्रधान २०४६ को परिवर्तनपछि राजनीतिक परिदृश्यमा नदेखिएकी होइनन् । तर, त्यो बिरासतमा पाएको भन्दा पनि आफ्नै मिहिनेतले फलाएको फल थियो । एमालेका स्वर्गीय नेता मदन भण्डारीकी पत्नी विद्या भण्डारी बिरासतको हाँगो समातेकै भरमा राष्ट्रपति भएकी छिन् । यी दुईका अतिरिक्त कम्युनिस्ट नेताका छोराछोरीले ‘योग्य’ बाबुको बिँडो थामेको देखिन्न ।
तर, कांग्रेसमा बिरासतको राजनीति गरेको अभियोग सबै ठूला नेताका छोराछोरीले धानेका छन् । कांग्रेसका संस्थापक अध्यक्ष बिपी कोइरालाका सुपुत्र प्रकाश कोइरालाको दाबीअनुसार उनले बिरासतको राजनीति गरेनन् । उनको राजनीति उनको आफ्नै खुशीराजीको दस्ताबेज रह्यो । उनलाई महाराज ज्ञानेन्द्रले मन्त्री बनाए । उनी बिपीका सुपुत्र नभएर ‘सडकको साधारण मानिस’ भएको भए पक्कै पनि महाराजका मन्त्री बन्ने थिएनन् । यसबाट प्रकाश कोइरालाले बिरासतको राजनीति नगर्दा पनि उनी कोइराला बिरासतबाट पृथक् छैनन् भन्ने प्रस्ट हुन्छ ।
नेपालमा बिरासतको राजनीतिको प्रचलन छैन । अहिलेसम्म देखिएका विशिष्ट नेताहरूमध्ये कसैले पनि आफ्ना भाइ–छोराको हातमा पार्टीको सत्ता सुम्पेको देखिएको छैन ।
प्रकाश कोइराला बिरासतको लहरबाट बाहिरिएपछि बिपीका कान्छा सुपुत्र शशांक कोइरालाको नाम सबभन्दा अगाडि आउनु स्वाभाविक हो, जो अहिले कांग्रेस महामन्त्री छन् । उनले आगामी चौधौँ महाधिवेशनमा सभापति पदमा चुनाव लड्ने विचार राख्दै आएका छन् । महाधिवेशनमा चुनावको राजनीतिक समीकरण कसरी अगाडि बढ्दै जान्छ ? त्यसैमा शशांकको उम्मेदवारी निर्भर रहन्छ । शशांकमा मानवीय गुणको कमी छैन । मानिस सुन्दर छन् । मीठो बोल्छन् ।
कांग्रेसमा बोलिने कपटको भाषा उनी बोल्दैनन् । त्यसबाहेक, सभापतिमा चुनाव जित्ने वा सभापति पद चलाउन सक्ने उनको योग्यता भनेको बिरासत नै हो । कांग्रेसका केही नेताका अनुसार अहिले कांग्रेसमा सभापति पदको भोट एकमुस्ट पाउने एक मात्र उम्मेदवार शशांक नै हुन् । उनलाई कांग्रेस सभापतिको उम्मेदवारका रूपमा हेर्न युवा–युवतीको ठूलो भिड सडकमा ओइरिनेछ । तर, कांग्रेस सभापति बन्नका लागि युवा–युवतीको भिडभन्दा कांग्रेस प्रतिनिधिको भिड लाग्नुपर्छ ।
यो सत्य हो, शशांक कांग्रेसको तेह्रौँ महाधिवेशनमै सभापति पदमा लड्न लालायित थिए । तर, त्यतिवेला शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिन शशांकलाई ‘प्रभावशाली’ ठाउँबाट बाध्य पारियो । चौधौँ महाधिवेशनमा उनको उम्मेदवारीलाई सघाउने वचनबद्धतापछि उनी महामन्त्रीमा चुनाव लडेका थिए । यसपटक ‘प्रभावशाली’ रणनीति के रहनेछ ? भन्न सकिँदैन ।
बिरासतको लहरमा शशांकपछि सुनिने नाम हो, शेखर कोइराला । बिपी कोइरालाका माहिला भाइ केशवप्रसाद र नोना कोइरालाका कान्छा सुपुत्र शेखर पेसाले विशेषज्ञ चिकित्सक भए पनि राजनीतिबाट उनी कहिल्यै बाहिर रहेनन् । हो, केही वर्ष पढाइका लागि उनी भारत बसे । नेपालको राजनीतिले उनलाई त्यहाँ पनि छोडेन । उनको जीवन विराटनगरमै बित्यो ।
चिकित्सा पेसा र आन्दोलनमा सहभागिता सबै एकैसाथ चलिरहन्थ्यो । कोइराला बिरासतका एक अंशियार हुन शेखर । कोइराला निवासको शक्ति विस्तारमा शेखरकी आमा नोनाको योगदान अभूतपूर्व छ । तर, शेखरमा त्यो बिरासतकै मात्र लोभ छैन । उनी बिरासतबाहेक आफ्नो शक्तिमा पनि विश्वास राख्छन् । तेह्रौँ अधिवेशनमा सर्वाधिक मत ल्याएर उनी केन्द्रीय सदस्य चुनिएका थिए । उनी एकपटक अथवा एक कार्यकालका लागि सभापति भएर कांग्रेसको कायापलट गर्न चाहन्छन् ।
हालका लागि कोइराला बिरासतकी अन्तिम दाबेदार हुन सुजाता कोइराला । पिता गिरिजाप्रसाद कोइरालाले सत्ताको सिँढी उकाल्न धेरै प्रयत्न गरे पनि उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्था स्थापना र सञ्चालनमै रमाइन् । उनी वेला–वेलामा आफू पनि कांग्रेस सभापति पदमा चुनाव लड्ने कुरा गर्छिन् ।
कोइराला परिवारको यो वृत्तबाहिर पनि कांग्रेसको बिरासत रहेको छ । कांग्रेसका असल नेता मानिनुहुने सुवर्ण शमशेरका सन्तानले बिरासत राजनीतिको आनन्द लिन चाहेनन् । राजनीतिमा झलक्क देखिएका रुक्मशमशेर राणा खेलकुदको संसारमा रमाए, राजनीति गरेनन् । राणा बिरासतकै सागरशमशेर र उनका छोरा उदयशमशेर राजनीतिमा निरन्तर छन् । बाबुछोरा दुवैले राणा बिरासतको खोजी गरेका छैनन् । कृष्णप्रसाद भट्टराईले आफ्नो बिरासत खडा गरेनन् । सूर्यप्रसाद उपाध्याय पनि बिरासतको झन्झटमा परेनन् ।
कोइरालापछि सबभन्दा ठूलो राजनीतिक बिरासत खडा भयो, गणेशमान सिंहको । यो बिरासत सिंहको खानदानका कारण पनि ठूलो थियो । सिंहले आफ्नो बिरासत वा उत्तराधिकार भन्ने जस्तो कुनै कुरा खडा गरेनन् । उनलाई आपूm काठमाडौंको प्रसिद्ध काजी खलकको सदस्य हुँ भन्ने गुमान पनि थिएन । बिपी कोइरालाले पनि कहिल्यै आफ्नो बिरासत अँगालेनन् । कांग्रेसका यी दुवै शीर्ष नेताको विशेषता त्यही हो । खानदान र राजनीतिक बिरासत दुई नितान्त भिन्न कुरा हुन् ।
गणेशमान सिंहसँग भारदारी खानदान र राजनीतिक बिरासत दुवै थियो । सिंहले यी दुवैको उपयोग कहिल्यै गरेको कसैले थाहा पाएन । अहिले सिंहको बिरासत ‘धान्ने’ काम सिंहका कान्छा सुपुत्र प्रकाशमानले गरिरहेका छन् । पछिल्लो समयको राजनीतिमा प्रकाशमानको आफ्नै योगदान छ । यसैको बलबुतामा उनले कांग्रेस सभापति बन्ने दृढ अठोट लिएका छन् । अब उनले आफ्नो अठोटलाई कसरी पूरा गर्नेछन् र बिरासतको प्रतिष्ठा कसरी जोगाउँछन्, त्यो हेर्न बाँकी छ ।
बिरासतकै सन्दर्भमा आउने अर्को नाम हो– महेन्द्रनारायण निधि । मधेसको लोकतान्त्रिक राजनीतिमा निधिको नाम नलिए त्यो अधुरो रहन्छ । निधि आफैँमा बिरासत पनि होइनन् । एक सामान्य परिवारका मानिस, आफ्नो चिन्तन र कर्मले नेपालको लोकतान्त्रिक राजनीतिको शीर्ष स्थानमा स्थापित भएका हुन् निधि ।
उनका कान्छा छोरा विमलेन्द्र निधिले कांग्रेसको चौधौँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । विमलेन्द्रको आफ्नै पृष्ठभूमि छ । आफ्नै राजनीति छ । उनको नेतृत्व क्षमताको जाँच स्वयं बिपी कोइरालाबाटै भएको थियो । २०३६ सालको उत्तराद्र्धमा बिपीकै संकेतमा विमलेन्द्र सबभन्दा कम उमेरमा नेपाल विद्यार्थी संघका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि पनि उनले उत्कृष्ट योगदान दिएका छन्, नेपालको लोकतान्त्रिक राजनीतिमा ।
वास्तवमा भन्ने हो भने नेपालमा बिरासतको राजनीतिको प्रचलन छैन । अहिलेसम्म देखिएका विशिष्ट नेताहरू कसैले पनि आफ्ना भाइ–छोराको हातमा पार्टीको सत्ता सुम्पिएको देखिएको छैन । नेपालमा बिरासत शब्दले मानिसलाई झस्काउँछ । बिरासतको नाममा भारतका ठूला पार्टीमा सन्तानको उत्थान गर्ने जुन राजनीति देखिएको छ, त्यसको प्रतिक्रिया डरलाग्दो छ । त्यसको प्रभाव नेपालमा नपरोस् भन्ने चाहना हो सबैको । कांग्रेसको राजनीतिमा दशकौँ बिताएका राजनीतिज्ञहरूले भोलि जयवीर देउवाको झोला बोक्नुप¥यो भने त्यो कस्तो प्रणाली साबित होला ? कस्तो राजनीति होला त्यो ? सोच्नुपर्ने विषय हो यो ।