म्यानमारको छाया सरकारले सैन्य सरकारविरुद्ध जनताको रक्षात्मक युद्धका लागि आह्वान गरेको छ। गत फेब्रुअरी १ को सैन्य ‘कू’पश्चात् निर्वाचित सांसदहरूद्वारा गठन गरिएको राष्ट्रिय एकता सरकारका कार्यबाहक सभापति दुवालासी लाले मंगलबार देशव्यापी विद्रोहको आह्वान गरेका हुन्।
‘जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारीलाई मध्यनजर गर्दै राष्ट्रिय एकता सरकारले सैन्य जुन्टाविरुद्ध युद्धको सुरुवात गरेको छ,’ फेसबुकमा एक भिडियो वक्तव्य जारी गर्दै उनले भनेका छन, ‘यो जनक्रान्ति भएकाले मिन आङ लेङ नेतृत्वको सैन्य आतंकवादी शासनविरुद्ध म्यानमारका सबै क्षेत्रहरूबाट सबै नागरिकहरूले विद्रोह गर्छन् ।’
सैनिक जनरल मिन आङ लेङले आङ साङ सूचीलगायत पछिल्लो निर्वाचनबाट निवार्चित सबै सांसदलाई व्यवस्थापिकाको पहिलो बैठक बस्न नदिई शक्ति हत्याएपछि गत फेब्रुअरीदेखि म्यानमार अशान्त छ। उक्त सैन्य ‘कू’को विरोधमा देशव्यापी प्रदर्शनहरू, भद्रअवज्ञा आन्दोलनहरू भइरहेका छन्। तर, सेनाले आन्दोलनहरूलाई चरम बल प्रयोग गरेर दबाउने प्रयास गर्दै आइरहेको छ।
सैन्य ‘कू’को विरुद्धमा भएका आन्दोलनहरू दबाउने प्रयासमा हालसम्म एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारभन्दा बढी पक्राउ परेका छन्। आन्दोलन दबाउने प्रयास गरेपछि सैन्य सरकारविरुद्ध सशस्त्र विद्रोह सुरु भएको छ। विशेषगरी सीमा क्षेत्रमा विद्राहीहरूले सैन्य सरकारविरुद्ध संघर्ष गर्नका लागि जातीय समूहहरूसँग मिलेर ‘पिपुल्स डिफेन्स फोर्सेज’ (पिडिएफ) गठन गरेका छन्। हिंसाका कारण दशौँ हजार मानिस विस्थापित भएको बताइएको छ। पश्चिमा देशहरू र म्यानमारका छिमेकी राष्ट्रहरूले दबाब दिइरहे पनि कूटनीतिक रूपबाट समस्या समाधान हुन सकेको छैन।