मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७८ भदौ २१ सोमबार ०९:३५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्राफिक अस्तव्यस्त, यात्रुलाई सास्ती

रत्नपार्क क्षेत्रमा औसतमा प्रतिमिनेट एक सय २१ सवारी गुड्छन्

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७८ भदौ २१ सोमबार ०९:३५:००

उपत्यकाभित्र सबैभन्दा बढी सवारी चाप रहेको रत्नपार्क क्षेत्र बसपार्कविहीन भएपछि यात्रुले सास्ती पाएका छन् भने ट्राफिक अस्तव्यस्त बनेको छ । उपत्यकाका तीन जिल्लाका कुनाकाप्चाबाट आउने सार्वजनिक सवारीसाधनका लागि बनाइएको ‘पुरानो बसपार्क’ हटाइए पनि नयाँ नबन्दा सहरमा आउने हजारौँ यात्रुले सास्ती भोगेका हुन् । बसपार्क अभावले सवारीसाधन सडकमै रोक्दा यात्रुको भिडले कोभिड– १९ संक्रमणको जोखिम बढेको छ भने ट्राफिक जामको समेत समस्या बढेको हो । 

उपत्यकाभरका रुटका गाडी चल्ने क्षेत्रमा बसपार्क नहुँदा सर्वसाधारणलाई साँझ–बिहान सवारीसाधन चढ्न हैरानी छ । बसपार्क नभएपछि सवारी जथाभावी रोक्ने र यात्रु चढाउने क्रम बढेको छ । ट्राफिक अस्तव्यस्त हुँदा यात्रुले मात्र होइन यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीसमेत महिनौँदेखि हैरान भएका छन् । पुरानो बसपार्कमा पार्किङसहितको भ्यु टावर बनाउन सुरु गरे पनि समयमै नसकिँदा यात्रुले कस्ट भोग्नुपरेको हो । गत असारमा सकिनुपर्ने १२ तले भ्यु टावर अहिलेसम्म आधा पनि निर्माण भएको छैन । भ्यु टावर निर्माणको सुस्त गतिका कारण वर्षौँसम्म दुःख भोग्नुपर्ने अवस्था छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बसपार्क नहुँदा ट्राफिक व्यवस्थापनमा कठिन भएको बताए । उनले भने, ‘अहिले सबैजसो सवारीसाधन खुलेका छन्, तर बसपार्क नै छैन, यति ठूलो सहरमा बसपार्क नहुँदा सवारी व्यवस्थापनमा समस्या त भई नै हाल्छ ।’ महाशाखाका अनुसार अहिले दैनिक नौ सय ५० सार्वजनिक सवारीसाधन रत्नपार्क क्षेत्रबाट गुड्छन् । यो क्षेत्रबाट झन्डै १९ हजार यात्रु गाडी चढ्छन् । तर, बसपार्क नहुँदा यात्रुहरूले गाडी चढ्दा सास्ती खेप्नुपरेको छ । कोभिड– १९ महामारीअघि यो क्षेत्रमा दैनिक एक हजार सात सय ५० सार्वजनिक सवारीसाधन गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । 
उपत्यकामा सबैभन्दा बढी सवारी चाप रहेको रत्नपार्क क्षेत्र हो । ट्राफिक प्रहरीका अनुसार वीर हस्पिटलबाट जमलतर्फ गुड्ने सवारी संख्या सबैभन्दा बढी छ । कोभिड– १९ को महामारीअघि सो क्षेत्रमा प्रतिमिनेट एक सय २१ सवारी गुड्थे । एक मिनेटमा ८९ मोटरसाइकल र ३२ गाडी गुड्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ । अहिले लकडाउन खुकुलो भएसँगै यो क्षेत्रमा सवारी चाप अत्यधिक बढ्न थालेको छ । 

महाशाखा प्रवक्ता दासले बसपार्कबाट चल्ने सवारीसाधनलाई सडकमै रोक्दा जाम बढेको बताए । यात्रु चढाउने र ओराल्ने गर्दा पनि ट्राफिक जाम बढेको उनको भनाइ छ । उपत्यकाभित्र पनि अधिकांश रुटको बस पनि यहीँबाटै छुट्छन् । बसपार्क नहुँदा यात्रुहरू सडकमै तानातान गरेर गाडी चढ्ने गरेका छन् । बसपार्क हटेपछि धेरै यात्रु अन्योलमा परेको प्रहरीको भनाइ छ । ‘अहिले यो क्षेत्रमा बसपार्क छैन, त्यसले सवारी व्यवस्थापनमा अत्यन्तै कठिन छ,’ प्र्रवक्ता दासले भने, ‘अहिले सडकबाटै चढाउने र ओराल्ने गरेरै सबैजसो रुटका गाडी चलेका छन् ।’ बसपार्क नभएपछि ट्राफिक प्रहरीले सुन्धारा, शान्तिवाटिकाअगाडि, टुँडिखेलतर्फ, सहिदगेट, वीर अस्पतालअगाडि, विद्युत् प्राधिकरणको कार्यालयअगाडि यात्रु चढाउन र ओराल्न दिएको छ । पहिले बसपार्कभित्र रोकिने सवारीसाधन सडकआसपासमा रोकिएका कारण सडक साँघुरो हुँदा जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ । 

उपत्यकाआसपासका जिल्ला जानेलाई समेत समस्या
उपत्यकाभित्र मात्र होइन पुरानो बसपार्कबाट आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत जिल्लाका लागि दैनिक झन्डै तीन सय बस छुट्थे । ती जिल्लामा जाने लामो दूरीका अधिकांश सवारीसाधनले पनि सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दछन् । कतिपयले गोंगबुस्थित नयाँ बसपार्कबाट यात्रु ओसारपसार गर्छन् । काठमाडौं महानगरपालिकाले अहिलेलाई गोंगबु बसपार्कमै सवारीसाधनलाई पार्किङ अनुमति दिइएको छ । लामो दूरीका सबैजसो सवारीसाधनले यात्रु चढाउने, कुर्ने र ओराल्ने गोंगबुबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, टिकट काउन्टरको पनि व्यवस्था गोंगबुमै गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । उनका अनुसार अहिले पुरानो बसपार्क क्षेत्रमा नयाँ बसपार्क बनेपछि मात्रै रत्नपार्क क्षेत्रमा सहज हुनेछ । तर, अहिले पुरानो बसपार्क भइरहेको ठाउँमा भ्यु टावर निर्माणाधीन अवस्थामा रहेको छ । भ्यु टावर निर्माण भएपछि मात्रै बसपार्कको टुंगो हुनेछ । ‘अन्य ठाउँ छैन, हाललाई नयाँ बसपार्कमै पार्किङ गर्ने अनुमति दिइसकेका छौँ,’ मेयर शाक्यले भने, ‘भ्यु टावर बनेपछि मात्रै रत्नपार्क क्षेत्रमा बसपार्क बन्छ, हाललाई यस क्षेत्रमा पिक एन्ड ड्रप नै हो ।’ उनले पूर्वतर्फ जाने लामो दूरीका सवारीसाधनलाई भक्तपुर बसपार्कमै राख्नेबारेमा पनि छलफल भइरहेको बताए । 

यात्रुहरूलाई सास्ती
बसपार्क नहुँदा यात्रुहरूलाई सवारीसाधन पाउनै मुस्किल छ । यात्रुहरू सडकमा उभिए पनि सबैतिर प्रहरीले रोक्न दिँदैन । जसका कारण गाडी पाउन मुस्किल हुने गरेको यात्रुहरूको गुनासो छ । ‘बसपार्क थियो र सजिलो थियो, भित्रै बसेर कुरिन्थ्यो, बस आएपछि चढ्न सजिलो थियो,’ साँखुका सुनील अधिकारीले भने, ‘तर, अहिले सडकपेटीमै उभिएर लामो समय पर्खँदा पनि गाडी चढ्न पाइन्न ।’ बिहान र साँझ सडकआसपासमा गाडी कुर्नेको भिडभाड नैे हुन्छ । सडकमा रोकिएको गाडी चढ्न सबै हतार गर्छन् जसका कारण कोभिड संक्रमणको जोखिम हुँदा यात्रु त्रसित हुने गरेका छन् ।

भ्युटावर निर्माण भएपछि मात्रै बसपार्कको टुंगो हुनेछ
विद्यासुन्दर शाक्य, मेयर, काठमाडौं महानगर 

हाललाई हामीले पिक एन्ड ड्रप तरिकाबाट नै सवारीसाधन चलाउने निर्णय गरेका छौँ । काठमाडौंमा सडक साँघुरा छन् । नयाँ बसपार्क बनाउन ठाउँको पनि अभाव छ । पुरानै बसपार्कलाई नै हामीले बसपार्क बनाउँछौँ । दसैँको समयमा लामो दूरीका बस नयाँ बसपार्क लैजाने निर्णय गरेका छौँ । अहिले पुरानो बसपार्क भइरहेको ठाउँमा भ्यु टावर निर्माणाधीन अवस्थामा रहेको छ । भ्यु टावर निर्माण भएपछि मात्रै बसपार्कको टुंगो हुनेछ । अबको एक वर्षभित्र पुरानो बसपार्क भएकै ठाउँमा अर्को बसपार्क बन्छ । त्यसवेलासम्म हामीले ट्राफिक प्रहरीसँग समन्वय गरेर सहरी यातायात व्यवस्थापन गर्छौँ ।

बसपार्क बनाउने जिम्मा महानगरको हो 
लोकनाथ भुसाल, प्रवक्ता, यातायात व्यवस्था विभाग 

रत्नपार्क क्षेत्रमा बसपार्क नहुँदा सवारी आवागमनमा समस्या छ । यसमा हामीले महानगरपालिकासँग पटक–पटक बसपार्क बनाउने विषयमा छलफल पनि गरेका छौँ । बसपार्क बनाउने जिम्मा महानगरको हो । बसपार्क नभएपछि दसैँमा सबै बस व्यवसायीहरूले पायक पर्ने ठाउँबाट यात्रुहरूलाई ‘पिक एन्ड ड्रप’ गर्छन् । 

चाडपर्वमा यातायात झनै अस्तव्यस्त हुने
दसैँ–तिहारमा सबैजसो गाडी गोंगबुबाटै छुट्ने भए पनि यस क्षेत्रमा पनि सवारीसाधनको भद्रगोल छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा बस सञ्चालन गर्ने विषयमा छलफल नभएको बताए । उनले भने, ‘बसपार्क नभएपछि दसैँमा सबै बस व्यवसायीले पायक पर्ने ठाउँबाट यात्रुलाई ‘पिक एन्ड ड्रप’ गर्छन् ।’ विभागका अनुसार दसैँ–तिहारका वेला १० देखि १५ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिन्छन् ।

 ५ वर्षमा निर्माण हुनुपर्ने  भ्यु टावर आधा पनि बनेन 
पुरानो बसपार्कमा गत असार मसान्तसम्ममा १२ तले भ्यु टावर निर्माण भइसक्नुपर्ने थियो । तर, मध्य भदौसम्म ६ तला पनि निर्माण सम्पन्न भएको छैन । जनप्रतिनिधि नआउँदै सुरु भएको भ्यु टावर निर्माण अलपत्र परिरहँदा काठमाडौं महानगर चासो दिएको छैन । आयोजनाअनुसार दुईतले भूमिगत पार्किङ हुनेछ, जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ बनाउने योजना छ । पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । ०७४ देखि बसपार्क खुलामञ्चमा सारिए पनि चौतर्फी विरोधपछि गत १५ वैशाखबाट खुलामञ्चमा बस प्रवेशका लागि रोक लगाइएको थियो । ४० कम्पनीका ६ सय सवारीलाई ‘पिक एन्ड ड्रप’का आधारमा सञ्चालन गरिएको छ ।