काठमाडौंलाई महानगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेलेका प्रेमलाल (पिएल) सिंहको सोमबार निधन भएको छ । लोकतान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको विश्वासिलो पात्रका रूपमा निकट भएर काम गरेका सिंहको ८८ वर्षको उमेरमा काठमाडौंमै निधन भएको हो ।
कांग्रेसको आन्तरिक कलह होस् वा नेताहरूको शक्ति संघर्ष, जहाँबाट हेर्दा पनि सिंहको राजनीतिक जीवन उतारचढावपूर्ण छ । पिएल काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख मात्र थिएनन्, कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पात्र पनि थिए ।
पिएललाई नजिकबाट जान्नेहरूका अनुसार गणेशमानका हरेक निर्णय र अनुकूलता–प्रतिकूलतामा उनले साथ दिएका थिए । कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानका अनुसार ०१५ सालदेखि नै पिएलले गणेशमानलाई साथ दिएका थिए । उनले आफ्नो मृत्युअघिसम्म पनि गणेशमानप्रतिको आस्था टुटाएनन् । पिएलको जन्म जन्म १९९३ सालमा काठमाडौंको ताम्सिपाखामा भएको थियो ।
०१५ मा निर्वाचनपछि बिपी कोइराला प्रधानमन्त्री र गणेशमान मन्त्री थिए, जतिवेला पिएल कमर्स क्याम्पसमा विद्यार्थी राजनीति गर्थे । ०१७ मा राजाले ‘कु’ गरेर सत्ता आफ्नो हातमा लिएपछि गणेशमानसहितका नेता जेल गए । यो घटना हुँदा उनी कार्यक्रममा सहभागी हुन युरोप पुगेका थिए । युरोपबाट नेपाल फर्केपछि उनले गणेशमानको अस्तव्यस्त परिवार सम्हालेर राखेका थिए । गणेशमान जेल परेपछि उनको परिवारमा तितरबितरजस्तो भएको थियो ।
‘गणेशमान जेल परेपछि उहाँको घर अप्ठ्यारोमा प¥यो । त्यसवेला पिएलले त्यो घरको रेखदेख गर्ने जिम्मा लिनुभयो । जतिवेला प्रकाशमान र प्रदीपमान ५÷६ वर्षका मात्र थिए,’ पिएलसँगै राजनीति गरेका प्रधान भन्छन्, ‘त्यसवेला चाक्सिबारीको घर पनि सरकारको कब्जामा थियो । गणेशमानको परिवार जावलाखेलमा डेरा लिएर बस्नुभयो । प्रकाशमान र प्रदीपमानलाई सेन्ट जेभियर्समा भर्ना गर्नुभयो, हुर्काउनुभयो । अभिभावकीय भूमिका निभाउनुभयो । गणेशमानजीका लागि त उहाँ ठुलो सहयोगी हुनुहुन्थ्यो ।’ पिएलको गुण गणेशमानको परिवारले अहिले पनि बिर्सेको छैन । उनको निधनपछि उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमानले ‘हाम्रो परिवारको ज्येष्ठ सदस्य’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गणेशमान सर्वोच्च कमान्डर भएर थालेको आन्दोलनका क्रममा ०४६ को सत्याग्रहमा पिएलले प्रवक्ताको भूमिका निभाए । कार्यगत एकताका आधारमा आन्दोलन गर्ने गणेशमानको सिद्धान्तमा उनको साथ थियो । त्यसवेला गणेशमानसँग अन्य दलका नेता भेट्टाउने काम पिएलले नै गर्दथे ।
प्रजातन्त्र पुनस्र्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पिएल काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भए । त्यसअघि मंगलादेवी र प्रकाशमान मेयरमा पराजित भएका थिए । अन्तिम विकल्पका रूपमा गणेशमानले पिएललाई अघि सारेको प्रधान सुनाउँछन् । ‘मंगलादेवी र प्रकाशमान हारेपछि पिएल मेरो लास्ट कार्ड हो । पिएल पनि हारे भने म यो मुलुकमा बस्दिनँ भनेर भन्नुहुन्थ्यो,’ प्रधान भन्छन्, ‘पिएलले अत्यधिक मतका साथ चुनाव जित्नुभयो । उहाँ गणेशमानको उम्मेदवार हुनुहुन्थ्यो नै, त्यसबाहेक उहाँ पनि सबैको प्रिय हुनुहुन्थ्यो । वर्गविशेष भेदभाव नगर्ने उहाँसँग एक खालको अनुपम चरित्र थियो ।’
मेयरका रूपमा पिएलले ०५४ सम्म कार्यकाल पूरा गरे । आफ्नो कार्यकालमा उनले काठमाडौंमा केही सुधारका काम गरेका थिए । पिएलकै पहलमा ०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । उनले दोस्रो कार्यकालका लागि टिकट मागेनन् ।
०५६ मा उनी कांग्रेसका केन्द्रीय सदस्य बनेका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले मनोनीत गरेका थिए । तर, तिनै गिरिजाप्रसादसँग बेमेल भएपछि उनको राजनीतिक यात्रा रोकिएको थियो । पिएल ०५६ को निर्वाचनमा काठमाडौं– ४ बाट निर्वाचित भए । उनले पद्मरत्न तुलाधरलाई पराजित गरेका थिए । ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पिएल जनसंख्या तथा वातावरणमन्त्री बनेका थिए ।
०६३ वैशाखमा राजाले संसद् पुनस्र्थापना गर्दा यसमा उनले असहमति राखे । पुनस्र्थापित संसद्मा सहभागी भएनन् । जनताबाट निर्वाचित प्रतिनिधि राजाको निगाहमा संसद्मा जानुहुँदैन भन्ने उनको तर्क थियो ।
पिएल ०४७ को संविधान फाल्न नहुने र संवैधानिक राजतन्त्रको अन्त्य गर्नुहुँदैन भन्ने मान्यता राख्दथे । पुनस्र्थापित सांसदमा निर्वाचनमा सहभागी नभएको माओवादीलाई लैजान नहुने पिएलको तर्क थियो । ‘कृष्णप्रसाद भट्टराई र पिएल सिंह मात्रै संसद् पुनस्र्थापना भएपछि संसद्मा पाइला टेक्नुभएन । उहाँ ०४७ को संविधानको हिमायती हुनुहुन्थ्यो । उहाँ गणेशमानको समयमा आएको संविधान मास्नुहुन्न भन्ने मान्यता राख्नुहुन्थ्यो,’ प्रधानले भने ।
०५६ मा कांग्रेसमा क्रियाशील सदस्यताको विषय विधानसम्मत नभएको भन्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग पिएलको असहमति थियो । कुरा नमिलेपछि पिएलले राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएन । आफ्नो माग पूरा नभएको भन्दै उनी कांग्रेसमा सक्रिय रहेनन् । त्यसपछि कांग्रेसले लिएको बाटोमा उनको सहमति रहेन । उनमा सानैदेखि राजनीतिप्रति आकर्षण र समाजसेवामा रुचि थियो । गणेशमानको निधनपछि चाक्सिबारीबाट बाहिरिएका सिंह पछिल्लो समय बिरामी परेपछि भने चाक्सिबारीमा नै बस्दै आएका थिए । उनको सोमबार बिहान १ बजे चाक्सिबारीमा निधन भएको थियो । ८८ वर्षीय सिंह अल्सरलगायतका रोगबाट पीडित थिए ।
अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई चाक्सिबारी, कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहलाई विभिन्न दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । पिएललाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतका व्यक्ति पुगेका थिए । उनको सोमबार नै विष्णुमती करिडोरस्थित तखतीर्थमा अन्त्येष्टि गरिएको छ ।
सिंहको निधनमा कांग्रेसले तीन दिन झन्डा झुकाउने भएको छ । ‘स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन्।