मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Tuesday, 17 December, 2024
मञ्जु टेलर काठमाडाैं
२o७८ भदौ १५ मंगलबार o९:५७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीमा टाउको दुखाइका बिरामी सबैभन्दा धेरै

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार o९:५७:oo

अघिल्लो वर्ष टाउको दुख्ने समस्या भएर १२ लाख ९० हजार बिरामी अस्पताल पुगेकामा ०७७/७८ मा २८ लाख ४४ हजार पुगेको तथ्यांक छ 

विश्वकै लागि टाउको दुखाइ बनेको कोभिड महामारीले नेपालमा ‘टाउको दुख्ने समस्या’का बिरामी सबैभन्दा धेरै वृद्धि भएका छन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७७ साउनदेखि ०७८ असारसम्म देशभर २८ लाख ४४ हजार पाँच सय ९३ जना टाउको दुख्ने समस्या भएर अस्पताल पुगेका हुन् ।

महामारीमा टाउको दुख्नुको मुख्य कारक तनाव : डा. दीपेश शाक्य, नसारोग विशेषज्ञ

अध्ययनअनुसार महामारीमा टाउको दुख्ने समस्या भएमध्ये ६५ प्रतिशतमा तनाव नै कारक देखिएको छ । संक्रमणले निम्त्याएको तनाव, आफन्त गुमाएको तनाव वा रोजगारी गुमाएको तनाव टाउको दुखाइका मुख्य कारण बनेका छन् ।

विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार कोभिडबाहेक विभिन्न १० प्रमुख समस्या लिएर अस्पताल पुग्नेहरूमध्ये यो संख्या सबैभन्दा धेरै हो । र, टाउको दुखाइका बिरामी अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरैले बढेका हुन् । ०७६÷७७ मा देशभर १२ लाख ९० हजार तीन सय ८० जना बिरामी अस्पताल पुगेका थिए । 

सामान्य टाउको दुखाइ घरेलु उपचार वा मेडिकलका औषधिबाट निको हुने भएकाले विगतमा यो समस्या लिएर अस्पताल पुग्नेको संख्या न्यून हुन्थ्यो । तर, महामारीमा टाउको दुखाइकै कारण अस्पताल पुग्नेको संख्या सबैभन्दा धेरै हुनु चिन्ताजनक भएको चिकित्सकहरू बताउँछन् । 

‘अध्ययनअनुसार महामारीमा टाउको दुख्ने समस्या भएमध्ये ६५ प्रतिशतमा तनाव नै कारक देखिएको छ । संक्रमणले निम्त्याएको तनाव, आफन्त गुमाएको तनाव वा रोजगारी गुमाएको तनाव टाउको दुखाइका मुख्य कारण बनेका छन्,’ नसारोग विशेषज्ञ डा. दीपेश शाक्य भन्छन् ।

स्नायुरोग विशेषज्ञ डा. जया सत्यालका अनुसार मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, जुन संवेदनशील हुन्छ । टाउको दुखाइको यकिन वैज्ञानिक कारण छैन, तर सामान्यतया शरीरमा पानीको कमी, खानामा ढिलाइ, तनाव र अन्य सिभियर इन्जुरीका कारण टाउको दुखाइको समस्या हुने गर्छ । उनी पनि महामारीमा टाउको दुखाइको मुख्य कारण तनाव नै भएको बताउँछिन् । 

‘टाउको दुख्नु आफैँमा रोग नभई कुनै रोगको लक्षण हो । अर्थात् तनाव, मानसिक समस्या तथा विभिन्न शारीरिक रोगका कारण ‘हेडएक डिसअर्डर’ हुन सक्छ । ब्रेन क्यान्सर वा ट्युमर, पिनास, चोटपटक, घाउ, संक्रमणजस्ता विभिन्न कारणले टाउको दुख्न सक्छ,’ उनी भन्छिन् । 

ब्रेनमा समस्या भएर पनि टाउको दुख्ने भएकाले वेलैमा पहिचान गर्नुपर्छ : डा. जया सत्याल, नसारोग विशेषज्ञ

मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, जुन संवेदनशील हुन्छ । टाउको दुख्नु आफैँमा रोग नभई कुनै रोगको लक्षण हो । तनाव, मानसिक समस्या तथा विभिन्न शारीरिक रोगका कारण ‘हेडएक डिसअर्डर’ हुन सक्छ । ब्रेन क्यान्सर वा ट्युमर, पिनास, चोटपटक, घाउ, संक्रमणजस्ता विभिन्न कारणले टाउको दुख्न सक्छ ।

ब्याक्टेरियल इन्फेक्सनका कारणसमेत टाउको दुख्ने समस्या बढेकाले बेवास्ता नगर्न चिकित्सकले सचेत गराएका छन् । भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआईजस्ता परीक्षण गरेर वेलैमा पहिचान गर्न सुझाब दिएका छन् । 

टाउको दुखाइ अधिकांशका लागि माइग्रेनको कारणसमेत बनेको छ । द जर्नल अफ हेडएकले गत सेप्टेम्बरमा प्रकाशित गरेको एक सर्भेअनुसार लकडाउनको समयमा ५९.६ प्रतिशतमा माइग्रेन फ्रिक्वेन्सी बढेको छ । त्यस्तै, १०.३ प्रतिशतमा माइग्रेन बढेर क्रोनिक समस्या भएको अध्ययनले देखाएको छ । नेपालमा भने माइग्रेनका बिरामीको यकिन तथ्यांक नभए पनि टाउको दुखाइ माइग्रेनमा परिणत भएका केसहरू अस्पताल पुग्ने दर दोब्बरले वृद्धि भएको चिकत्सकहरू बताउँछन् ।

माइग्रेनलाई औषधिको सेवनबाट नियन्त्रण गर्न सकिने भए पनि महामारीमा अस्पतालसम्म पुग्ने दरमा आएको कमीका कारण समस्या बल्झिरहेको बताउँछिन् डा. सत्याल । ‘अधिकांशमा रोजगारी गुमेका कारण हुने तनावले टाउको दुखाइको समस्या बढिरहेको छ । जुन बिस्तारै क्रोनिक बन्ने अवस्थासमेत महामारीले निम्त्याइरहेका कारण छोटो समयमा धेरैपटक माइग्रेन हुने गरेको छ । त्यसैले सुरुवाती चरणमै चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ,’ उनी भन्छिन् ।

टाउको दुखाइ कोभिड संक्रमणकै एक लक्षण पनि हो । चिकित्सकहरूका अनुसार भाइरसले शरीरमा आक्रमण गरेको ७२ घन्टापछिको समयमा टाउको दुख्ने लक्षणहरू देखा पर्छन् । सन् २०२० अक्टोबरमा द जर्नल अफ हेडएकले प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनमा कोभिड संक्रमण भएका प्रायः पुरुषहरूले ७२ घन्टापछि टाउको दुखाइ महसुस गरेको उल्लेख गरेको छ । यस्तो दुखाइलाई ब्याक्टेरियल हेडएक भनिएको छ । कोभिडका लक्षणहरूमा गरिएको उक्त सर्भेमा प्राथमिक लक्षणहरूमा टाउको दुखाइको समस्या अधिकांशमा देखिएको पाइएको छ ।

खासगरी स्वास्थ्यकर्मी र पुरुष संक्रमितमा सामान्य टाउको दुखाइका लक्षणहरू बढी भएको प्रतिवेदनले उल्लेख गरेको छ । तर, टाउको दुखाइ संक्रमणको लक्षणको तुलनामा अन्य व्यक्तिमा बढी देखिएको प्रतिवेदनको निष्कर्ष छ । उक्त अध्ययनअनुसार सर्भेमा सहभागी तीन हजार चार सय ५८ जनामध्ये जम्मा दुई सय ६२ जनामा मात्र पिसिआर परीक्षणमा कोभिड पजिटिभ भएको पाइएको थियो ।