१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १४ सोमबार १०:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुलामा बाढीपहिरोले तीनजनाको मृत्यु, दुई बेपत्ता, दर्जनौँ घर बगे

Read Time : > 1 मिनेट
२०७८ भदौ १४ सोमबार १०:०२:००

निरन्तरको वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा तीनजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिरोमाले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति गरेको हो । बाढीले घरजग्गासहित पुल, जलविद्युत्, पानीघट्ट र पशुचौपायामा समेत क्षति पुर्‍याएको छ । पहिरोले घर पुरिँदा दुहु गाउँपालिका– १ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको स्थानीय जयबहादुर कुँवरले जानकारी दिए ।

यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताए । त्यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुईजना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए ।

निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुईवटा झोलुंगे पुल बगाएको छ । यो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरू बगाएको छ । दार्चुल–तिंकर सडक खण्डको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्धविच्छेद भएको छ । दुहुँ– ३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दीपक बम, रणबहादुर बम, धीरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जितबहादुर बमको होटेल तथा पसल बगाएको छ । 

यस्तै, निजाङगाड खोलानजिकै रहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोस्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरू पुगेका छन् । राति २ बजेबाट आएको बाढीले श्रीबगडमा क्षेत्रमा खेतबारी नोक्सान गरेको छ । वारिपारि जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति नरेन्द्रबहादुर बमले बताए । उनले तुइन लगाएर भए पनि सामान सार्न सुरक्षाकर्मी परिचालन गरिएको जनाए । अहिले पनि नदीमा पानीको बहाव नघटेको र श्रीवगड क्षेत्रमा जमिन कटान भइरहेको जानकारी दिए ।