मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडौं
२०७८ भदौ १४ सोमबार ०९:०२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो : ६ महिनामा सवा लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०९:०२:००

सन् २०२१ को पहिलो ६ महिनामा नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा बढी यात्रु बोकेको छ । नेवानिले जनवरीदेखि जुनसम्म १ लाख २९ हजार अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको हो । यो नेपाल भित्रिने र बाहिरिने कुल यात्रु संख्याको २३.१५ प्रतिशत हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ६ महिनामा विभिन्न मुलुकका एयरलाइन्सले ५ लाख ५९ हजार अन्तर्राष्ट्रिय यात्रु बोकेका छन् । 

विश्वभरि कोभिड–१९ महामारी फैलिएपछि नेपालसहित अधिकांश मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदा यात्रु संख्या भने घटेको छ । सन् २०१९ मा तीन दर्जनभन्दा बढी वायुसेवा कम्पनीले ३२ हजार ४ सय ३९ अन्तर्राष्ट्रिय उडानमार्फत ४१ लाख ३८ हजार ४ सय ८२ यात्रु बोकेका थिए । तर, २०२० को सुरुदेखि विश्वभरि कोभिड महामारी फैलिन थालेपछि हवाई सम्पर्कविच्छेद हुँदा यात्रु संख्या चार गुणाले घटेको तथ्यांकले देखाउँछ । 

सन् २०२० मा नेपालमा आउने र नेपालबाट 
बाहिरिने यात्रुको संख्या घटेर ११ लाख ५ हजारमा सीमित हुन पुगेको थियो । २०२१ मा कोभिडको दोस्रो लहर फैलिएपछि पुनः हवाई सेवा प्रभावित भएको छ । अझै पनि धेरै मुलुकले महामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडानमा कडाइ गरिरहेका छन् । कतिपय मुलुकहरूले जहाजको क्षमताको निकै कम मात्र यात्रु बोक्ने अनुमति दिएका छन् । महामारीको समयमा जहाजको टिकट महँगो हुनुका साथै होटेलमा लामो समय क्वारेन्टिन बस्नुपर्नेलगायत सुरक्षा मापदण्ड पालना गर्नुपर्ने भएकाले पनि अन्तर्राष्ट्रिय यात्रु घटेका हुन् । 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ६ मे २०२१ देखि १९ जुलाई २०२१ सम्म ८ सय ७७ अन्तर्राष्ट्रिय उडानमार्फत ९४ हजार ८ सय ९८ यात्रुले सेवा पाएका छन् । यो समयमा कोभिडको दोस्रो लहर सुरु भइसकेको थियो । २४ मार्च २०२० देखि २१ जुलाई २०२० सम्म १६ सय अन्तर्राष्ट्रिय उडानमार्फत ३३ सय ९१ यात्रुले सेवा पाएका थिए । कोभिड सुरु भएर लकडाउन र निषेधाज्ञा जारी भइसकेपछि पनि वायुसेवा कम्पनीले सीमित अन्तर्राष्ट्रिय उडानमार्फत सुरक्षा मापदण्ड पालना गरेर यात्रु बोकेका थिए ।  

अहिले पनि त्रिभुवन विमानस्थलबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको त्रिभुवन विमानस्थल प्रमुख प्रताप तिवारीले बताए । विश्वभरि हवाई यात्रामा

कडाइ गरिएपछि जहाजको उडान संख्या र यात्रुको संख्या घटेको उनको भनाइ छ । निषेधाज्ञा खुकुलो भएपछि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेजलगायत सीमित वायुसेवा कम्पनीहरूले विदेशबाट यात्रु बोकेर आइरहेका छन् । तर, नेपालबाट बाहिर जाने यात्रुको संख्या कम रहेको उनको भनाइ छ । उनका अनुसार विदेशी मुलुकले अन्तर्राष्ट्रिय उडानमा कम यात्रु बोक्नुपर्ने, होटेलमा लामो समय क्वारेन्टिन बस्नुपर्ने, कोभिड प्रभावित मुलुकबाट यात्रु जान नपाउनेलगायत नियममार्फत कडाइ गरेपछि नेपालबाट बाहिर जाने यात्रुलाई कठिन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानलाई खुकुलो पारिएका मुलुकमा विद्यार्थी, कामदार, एनआरएनहरू विदेशमा गइरहेका छन् । 

अहिले नेपाल एयरलाइन्सले नयाँदिल्लीमा हप्तामा तीनवटा उडान  गरिरहेको छ । यात्रु बढेपछि हप्तामा सातवटा उडान गर्न मागिरहेको छ । अहिले एयर इन्डियाले पनि काठमाडौंमा हप्तामा तीनवटा फ्लाइट गरिरहेको छ । मलेसियाको क्वालालम्पुरमा हप्तामा दुईवटा फ्लाइट भइरहेका छन् । यसलाई चारवटा बनाउन अनुमति मागेको नेवानिले जनाएको छ । दुबईमा पनि हप्ताका दुईवटा उडानलाई चारवटा बनाउन अनुमति मागेको छ । अहिले कतारको दोहामा हप्तामा सातवटा उडान भइरहेको नेवानिले जनाएको छ । नेवानिले हङकङमा हप्तामा एउटा र जापानमा दुई हप्तामा एउटा उडान गरिरहेको छ । ‘महामारीमा धेरै मुलुकहरूले अन्तर्राष्ट्रिय उडानलाई कडाइ गरेका थिए, अस्ट्रेलियालगायत कतिपय मुलुकले अझै पनि कडाइ गरिरहेका छन्,’ तिवारीले भने, ‘सीमित गन्तव्यमा सीमित उडान मात्र भएकाले अन्तर्राष्ट्रिय यात्रु संख्या घटेको हो ।’ 

अहिले लकडाउन खुकुलो भएपछि दैनिक औसतमा ३० वटा अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको तिवारीले जानकारी दिए । ‘अहिले १२ वायुसेवा कम्पनीले दिल्ली, खाडीलगायत मुलुकबाट यात्रु बोकिरहेका छन्,’ उनले भने, ‘नेपालमा यात्रु बोकेर आएका जहाजले फर्किंदा निकै कम यात्रु बोकेर गइरहेका छन् ।’ नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि विदेशमा रहेका यात्रु ल्याउनकै लागि उडान गरिरहेका छन् । अझै चीनमा नियमित उडान सुरु भएको छैन ।  
महामारीका बाबजुत पनि २०२१ को पहिलो ६ महिनामा ४ हजार ६ सय १६ अन्तर्राष्ट्रिय उडानमार्फत २ लाख ४१ हजार ३ सय ७७ यात्रु नेपालबाट विभिन्न मुलुकमा गएका छन् भने ३ लाख १७ हजार यात्रु विभिन्न मुलुकबाट नेपाल भित्रिएका छन् । 

२०२१ जनवरीदेखि जुनसम्म कतार एयरलाइन्सले ६ सय ४४ उडानमार्फत १ लाख २ हजार ७ सय ७७ यात्रु बोकेर दोस्रो बनेको छ । यो अवधिमा हिमालय एयरलाइन्सले ९ सय ८६ उडानमार्फत ९८ हजार ४ सय ४६ यात्रुलाई सेवा प्रदान गरेको छ । एयर अरेबियाले ३ सय ५४ उडानमार्फत ४४ हजार, एयर इन्डियाले २ सय ६६ उडानमार्फत ३२ हजार, फ्लाई दुबईले ३ सय ६६ उडानमार्फत ५० हजार, जजिरा एयरवेजले १ सय ९४ उडानमार्फत २२ हजार, टर्किस एयरलाइन्सले १ सय १२ उडानमार्फत २० हजार यात्रु बोकेका छन् ।

श्रीलंकन एयरलाइन्सको  काठमाडौं–श्रीलंका उडान
 श्रीलंकन एयरलाइन्सले ३१ अगस्टदेखि काठमाडौं–श्रीलंका सीधा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्रीलंकाको ध्वजाबाहक श्रीलंकन एयरलाइन्सलाई नेपालमा हवाई उडानका लागि अनुमति दिएको हो । नियामक निकायबाट स्वीकृति पाएसँगै श्रीलंकन एयरलाइन्सले मंगलबारदेखि कोलम्बो–काठमाडौं नियमित उडान सुरु गर्ने भएको छ ।

क्यानले कोलम्बो–काठमाडौं उडान गर्न साताको दुई दिन मंगलबार र शनिबारका लागि अनुमति प्रदान गरेको छ । श्रीलंकाको बन्दरानायिके इन्टरनेसनल एयरपोर्टबाट उडेको श्रीलंकन एयरलाइन्स बिहान ९:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर एक घन्टापछि १०:४० बजे श्रीलंकातर्फ प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

श्रीलंकन एयरलाइन्सले नेपालमा उडान गर्नका लागि लामो समयदेखि अनुमति मागेको थियो । श्रीलंकन एयरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल रहेको छ । सुरुवातमा रोजगारीका लागि श्रीलंका जाने नेपालीहरूलाई लक्षित गरेर उडान सुरु गर्न लागेको भए पनि कोभिड मत्थर भएपछि पर्यटन प्रवद्र्धनमा लाग्ने कम्पनीले जनाएको छ ।