मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Thursday, 19 December, 2024
अनु आचार्य रसुवा
२o७८ भदौ ११ शुक्रबार ११:३५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

रसुवा अस्पतालमा अझै जडान भएन अत्याधुनिक उपकरण

Read Time : > 2 मिनेट
अनु आचार्य रसुवा
नयाँ पत्रिका रसुवा
२o७८ भदौ ११ शुक्रबार ११:३५:oo

रसुवाको जिल्ला अस्पतालमा कोरोना महामारीपछि योजना गरिएअनुसार अझै पनि अत्याधुनिक उपकरण जडान हुन सकेको छैन। कोरोना भाइरसको महामारी बढेसँगै जटिल प्रकृतिका बिरामीहरूको उपचारका लागि सदरमुकाम धुन्चेमा रहेको रसुवा अस्पतालमा अत्यावश्यक उपकरण जडानको योजना थियो । तर, योजनाअनुसार काम हुन सकेको छैन। सरकारले देशका सबै अस्पताललाई प्रविधिमैत्री बनाउने भने पनि रसुवामा भने जिल्ला अस्पतालमा उपकरणको अभाव छ ।

जिल्ला अस्पतालमा आइसियू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता छ । कोरोनाको दोस्रो लहरले देश आक्रान्त बनेका वेला उपकरण अभावमा रसुवा तेस्रो लहरको पनि उच्च जोखिममा पर्ने निश्चितजस्तै भएको छ।

जिल्लाका अधिकांश बिरामीहरू रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पताल जिबजिबे जाने गरेका छन्। अहिले गाउँगाउँमा रुघा, खोकी, ज्वरो, शरीर दुख्नेलगायत समस्या भएका बिरामी बढेको जिबजिबे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए। ‘अहिले गाउँगाउँमा सिजनल फ्लुको लक्षण भएका बिरामी बढेका छन्। जिबजिबे ग्रामीण अस्पतालमा मात्रै दैनिक ३० जनासम्म सिजनल फ्लुका बिरामी आउने गरेका छन्,’ उनले भने, ।

यस्ता समस्याको जटिल अवस्था आएमा बिरामीको उपचारमा समस्या रहेको छ। जिल्लाका अस्पतालमा पूर्ण प्रविधिसहितको व्यवस्थापन छैन। तर, आइसियू र भेन्टिलेटर आवश्यक भएका बिरामीलाई जिल्लामा उपचार गर्न समस्या भएसँगै बाहिरी जिल्ला रिफर गर्ने गरिएको रसुवा अस्पताल धुन्चेका मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले बताए। ‘आइसियू र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने जटिल प्रकृतिका बिरामी आउनुहुन्छ । तर, यहाँ त्यो सुविधा छैन । उहाँहरूलाई बाहिरी जिल्ला रिफर गर्ने गरेका छौँ । योबाहेक हामीसँग अरू विकल्प पनि छैन,’ उनले भने।
रसुवा अस्पतालमा आइसियू र अक्सिजन प्लान्टलगायतका उपकरण स्थापनाका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा पहल गरिएको केसीले बताए।

त्यसैगरी, आइसियू र अक्सिजन प्लान्टसँगै पिसिआर मेसिन स्थापनाका लागि प्रदेशले जनशक्तिसहित उपकरण पठाउने जानकारी गराएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । ‘आइसियू र अक्सिजन प्लान्टसँगै पिसिआर मेसिन स्थापनाका लागि छिट्टै जनशक्तिसहित पठाउछौँ । छिट्टै हुन्छ भनेर जानकारी आएको
छ । उक्त सामग्री छिट्टै स्थापना गर्नका लागि पहल गरिरहेका छौँ,’ उनले भने ।

जिल्लामा आइसियू र अक्सिजन प्लान्टलगायतका उपकरण आए पनि अस्पतालको भवन निर्माण नहुँदा समस्या भएको केसीले बताए। ‘उपकरण पठाउछौँ, छिट्टै आउँछ भनिएको छ । तर, यहाँ उपकरण राख्ने ठाउँ पनि छैन,’ उनले भने, ‘अस्पतालको भवन निर्माण हुन सकेको छैन । उपकरणसँगै दक्ष जनशक्तिसमेत आवश्यक पर्ने उनले बताए ।

२०७२ को विनाशकारी भूम्पले अस्पतालको संरचनामा क्षति पुगेको थियो । भूकम्पपश्चात् नेपाल रेडक्रस सोसाइटीले पाँचवटा शौचालयसहित १५ शय्याको २० कोठे ‘सेमिपर्मानेन्ट प्रि–फेब्रिकेटेड’ भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण ग–याे । हालसम्म पनि सोही भवनबाट अस्पताल सञ्चालन भइरहेको छ । तर, अस्पतालको पक्की भवन निर्माण सुरु हुन सकेको छैन।

अस्पतालको भवन निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत टेन्डर प्रक्रियाबाट गरिने भनिएको छ । तर, विनियोजित बजेटभन्दा भवन निर्माणको इस्टिमेट रकम बढी भएपछि भवन निर्माणको प्रक्रिया अघि बढ्न नसकेको एकाइले जनाएको छ । इस्टिमेटअनुसार ३७ करोडको लागतमा भवन निर्माण हुने देखिएको छ । अर्थ मन्त्रालयमा बजेट थपका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।

सांसदले दिएको उपकरण जडान भएन
रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले गत जेठ २० गते व्यक्तिगत रूपमा उपलब्ध गराएको स्वास्थ्य जाँचका उपकरण जडान हुन सकेको छैन । आचार्यले रसुवा अस्पताल र जिबजिबे ग्रामीण अस्पताललाई करिब १६ लाख मूल्यबराबरको मिनिभेन्टिलेटर चारवटा, अक्सिमिटर ३० वटा, बेड पाँचवटा र सर्जिकल मास्क तीन हजार थान उपलब्ध गराएका थिए । तर, उक्त उपकरण हालसम्म प्रयोगमा ल्याइएको छैन। दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केसीले बताए । बागमती प्रदेश सरकारबाट अस्पतालमा जनशक्तिसहित उपकरण आउने भएकाले उक्त उपकरण आएसँगै सांसद आचार्यले दिएको सामग्री जडान गरी प्रयोगमा आउने उनले बताए ।

रसुवा अस्पताललाई उपकरणमैत्री बनाउन एक्स–रेलाई डिजिटल बनाउने तयारी भइरहेको छ । ‘एक्स–रेलाई डिजिटल बनाउन लागेका छौँ । अब यो पनि छिट्टै हुन्छ । यसका लागि प्रदेशबाट सामान आउँदै छ। अन्य उपकरण पनि आउँदै
छ । तर, ठाउँको अभाव छ, भवन छैन। नयाँ भवन भएको भए सबै जडान हुन्थ्यो, प्रविधिमैत्री पनि हुन्थ्यो,’ उनले भने।

जिल्लामा रहेको अस्पतालमा सामान्य स्वास्थ्य परीक्षणसँगै एक्स–रे सेवा, अल्ट्रासाउन्ड, डेन्टल सेवा, फिजियोथेरापी, रगत परीक्षण र कुनै दुर्घटना भएमा चोटपटकको उपचार मात्र हुने गरेको छ । जटिल प्रकृतिका बिरामीलाई नुवाकोट तथा काठमाडौं रिफर गर्ने गरिएको छ ।