मेगा बैंक लिमिटेडले पहिलोपटक सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ । प्रतिइकाइ १० रुपैयाँ मूल्य तोकिएको म्युचुअल फन्ड १० करोड इकाइमध्ये सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ शुक्रबारबाट बिक्री सुरु हुने भएको छ । यसै सन्दर्भमा निष्कासनकर्ता मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठसँग गरिएको कुराकानी :
मेगा क्यापिटलले पनि सामूहिक लगानी कोष योजना सार्वजनिक गर्दै छ । उठेको रकम कहाँ र कसरी लगानी हुन्छ ?
यो मेगा बैंक नेपालले ल्याउन लागेको पहिलो योजना हो । यसको योजना व्यवस्थापन मेगा क्यापिटलले गरिरहेको छ । मेगा क्यापिटल सञ्चालनमा भएको साढे दुई वर्ष भएको छ । हामीले मर्चेन्ट बैंकरले गर्ने सबै काम गर्दै आएका छौँ । सामूहिक लगानी कोष भने हालै सुरु गर्न लागेका हौँ ।
हामीले पहिलो योजनाका रूपमा मेगा म्युचुअल फन्ड १ ल्याएका छौँ । ४ भदौबाट बिक्री हुने यो योजनाको चाँडोमा १० भदौ र ढिलोमा १८ भदौसम्म निष्कासन खुला हुनेछ । यो योजनाबाट १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका छौँ । यसरी संकलित हुने १० प्रतिशत स्थिर आम्दानी हुने निक्षेपलगायतमा राख्नेछौँ भने ९० प्रतिशत रकम धितोपत्रमा लगानी गर्नेछौँ । यो ९० प्रतिशतमध्ये २० देखि ३० प्रतिशत रकम नियमित सेयर कारोबारको उद्देश्य अर्थात् १–२ महिना मात्र राखेर बिक्री गर्ने हुनेछ ।
सामूहिक लगानी कोषहरूले सेयर किनेर होल्ड गर्ने नै चलन छ, हामीले भने केही फरक सोच राखेका छौँ । बाँकी रकम कम उतारचढावसहित वृद्धि हुने धितोपत्रहरूमा लगानी हुनेछ । बजारमा हुने उतारचढावबाट इकाइधनीहरूले पनि लाभ पाऊन् भन्ने उद्देश्यले ट्रेडिङका लागिसमेत रकम छुट्याएका हौँ । नयाँ योजना भएकाले पनि अहिले जारी हुने सेयरबाट ५ प्रतिशत सामूहिक लगानी कोषलाई दिनुपर्ने व्यवस्थाअनुसार हामीले मागेको पूरै सीमामा सेयर पाउँछौँ । यसले पनि इकाइधनीहरूलाई लाभ पुग्नेछ ।
यो योजनाबाट उठेको रकमको केही हिस्सा नियमित कारोबार उद्देश्यका लागिसमेत भन्नुभयो । अहिले पनि त सामूहिक लगानी कोषहरूलाई लाग्ने आरोप भनेको अल्पकालीन खेलाडी भए, बजार झन् अस्थिर गराए भन्ने नै छ नि ?
यो हामीलाई चुनौती पनि हो । यदि सेयर बजार एकदमै प्यानिक भयो र बजार वा कुनै कम्पनीको मूल्य ओरालो लागेर अवमूल्यन भयो भने बजारमा नगद विनिमेष गर्न हामीसँग पर्याप्त सञ्चित रकम हुनेछ ।
हाम्रो ट्रेडिङ रणनीतिले पनि यसलाई सहयोग पुग्नेछ । किनभने, हामीले बजारमा किन्ने र बेच्ने छिटो–छिटो गर्छौँ । यसले गर्दा नगद प्रवाह भइरहेको हुन्छ र हामी थप लगानी गर्न सक्ने अवस्थामा हुन्छौँ । ट्रेड नगर्ने हो भने हाम्रो लगानी बजारमै रहिरहने र बजारलाई निराशाजनक रूपमा तल ओर्लिनबाट बचाउनुपर्छ भन्ने लागेमा पनि पुँजी अभावमा केही गर्न नसक्ने अवस्थामा हुनेछौँ । त्यसैले हाम्रो रणनीतिले बजारलाई पनि फाइदा
पुग्छ भन्ने हाम्रो निष्कर्ष हो ।
अघिल्ला वर्षहरूमा सामूहिक लगानी कोषका इकाइहरूमा लगानीकर्ता खासै आकर्षित नदेखिएकोमा अहिले यी इकाइको कमाइ पनि भइरहेको छ भने लगानीकर्ता पनि आकर्षित छन् । बुलको कारणले मात्रै हो यो ?
सामूहिक लगानी कोषहरूको पर्फमेन्सको जुन कुरा सुरुमा उठाउनुभयो, त्यसमा धेरै लगानीकर्तालाई बुझाउनुपर्ने विषय के छ भने अघिल्ला वर्षहरूमा बजार ४५ प्रतिशतसम्म घट्दा पनि योजनाहरूको प्रतिइकाइ खुद मूल्य भने ९ दशमलव ५ अर्थात् अंकित मूल्यभन्दा १० देखि १५ प्रतिशतले मात्रै घटेको थियो । अंकित मूल्य कायम गर्न सकेनन्, आफ्नो ठाउँमा छ । सामूहिक लगानी कोषको सम्पत्ति भनेको धितोपत्रमै भएको लगानी हो, अन्य संस्थाहरूको जस्तो स्थिर सम्पत्तिहरूमा लगानी रहँदैन ।
त्यसैले पनि बजारमा आएको गिरावटको तुलनामा सामूहिक लगानी कोषहरूले कम कागजी नोक्सान व्यहोरे । यसको अर्थ के पनि हो भने यी योजनाहरूले रणनीतिक रूपमा लगानी गरेका हुन्छन् र लगानीलाई आफ्नो रणनीतिअनुसार धितोपत्रबीचमै पनि विविधीकरण गरेका हुन्छन् । बजार बढेपछि पुनः राम्रै लाभांश दिन सफल भएका छन् । बजार घट्दा केही कम लाभांश दिन सक्ने अवस्था हुने भए पनि बजार बढ्दा राम्र्र्रै प्रतिफल इकाइधनीहरूले पाउने गरेको यसले देखाउँछ । धैर्य गर्ने हो भने तीन वर्षमा औसतमा २० प्रतिशत हाराहारी नगद लाभांश दिन सकेको अवस्था देखिन्छ ।
अहिले बजार बुलिस प्रवृत्तिमा छ । त्यसैले अहिले बजार कसरी प्रवेश गर्ने भन्नेमा सर्वसाधारणदेखि ठूलालाई पनि लाग्ने गर्छ । हामी पनि इकाइ बिक्री गरेपछि प्राप्त हुने रकम एकैचोटि लगानी गर्ने पक्षमा छैनौँ । धैर्य भएर बजार करेक्सनमा देखिँदा लगानी गर्ने त्यस्तो परिस्थिति बनेन भने केही समय कल खातामै रकम होल्ड पनि गर्नेछौँ ।