मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Wednesday, 18 December, 2024
मलाला युसुफजई
२o७८ भदौ ३ बिहीबार o९:३९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफगान महिलाको भविष्य ?

आज अफगान किशोरी तथा महिलाहरू मैले विगतमा बाँचेकै स्थितिमा पुगेका छन् । उनीहरूमा फेरि कक्षाकोठा पस्न वञ्चित गरिने हो कि भन्ने डर पसेको छ ।

Read Time : > 2 मिनेट
मलाला युसुफजई
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o९:३९:oo

विगत दुई दशकको अवधिमा दशौँ लाख अफगान महिला तथा युवतीले औपचारिक शिक्षा हासिल गर्ने अवसर पाए । तर, अहिले आएर उनीहरूलाई वाचा गरिएको भविष्य गुम्ने जोखिम उत्पन्न भएको छ । २० वर्षअघि सत्तामा हुँदा तालिबानले लगभग सबै अफगान युवती तथा महिलालाई विद्यालय अध्ययन गर्न बन्देज लगाएका थिए । अहिले दुई दशकपछि पुनः सोही समूह सत्तामा आउँदा धेरै महिलाजस्तै म पनि अफगान दिदी–बहिनीको भविष्यलाई लिएर चिन्तित छु । 

मलाई यस अवस्थामा मेरो बाल्यकालको स्मरण भइरहेको छ । सन् २००७ मा तालिबानले पाकिस्तानस्थित मेरो गृहनगर स्वात उपत्यकालाई नियन्त्रणमा लियो । लगत्तै उनीहरूले छोरी र किशोरीहरूलाई विद्यालय शिक्षाबाट बन्देज लगाए । म आफ्ना पुस्तकहरू लामो र बाक्लो पछ्यौराभित्र लुकाएर डरैडरमा विद्यालय जान्थेँ । पाँच वर्षपछि म १५ वर्षकी हुँदा तालिबानले मलाई महिला शिक्षाको वकालत गरेको भन्दै मार्ने प्रयास गरे । 

म आज जहाँ आइपुगेकी छु, त्यसका लागि धेरै कृतज्ञ महसुस गर्छु । अघिल्लो वर्ष अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक तह पूरा गरेर म अहिले आफ्नो भावी करिअरको मार्ग कोर्ने तरखर गरिरहेकी छु । मेरो जीवनका हरेक पक्ष बन्दुकधारी पुरुषबाट निर्देशित हुने विगतको मेरो जीवनमा यो सफलता कल्पना पनि गर्न सकिँदैनथ्यो । आज अफगान किशोरी तथा महिलाहरू मैले विगतमा बाँचेकै स्थितिमा पुगेका छन् । उनीहरूमा फेरि कक्षाकोठा पस्न वञ्चित गरिने हो कि वा पुनः पुस्तक समात्न नपाइने हो भन्ने डर पसेको छ । 

तालिबानका केही सदस्यले महिला तथा युवतीलाई शिक्षाबाट वन्चित नगर्ने र महिलाको काम गर्ने अधिकारमा पनि अवरोध नहुने बताएका छन् । तर, महिला अधिकार सन्दर्भमा तिनको इतिहास हिंसात्मक रहेकाले अफगान महिलाहरू भयभीत हुनु स्वाभाविक हो । तालिबानले काबुल कब्जा गरेपछि महिलाहरू विद्यालयबाट फर्काइएका र महिलालाई तिनले काम गरिरहेको कार्यालय छिर्न नदिएका छिटपुट रूपमा खबर आउन थालिसकेका छन् । 

अफगानिस्तानका जनताले लामो समयदेखि नारकीय स्थिति भोग्दै आएका छन् । पुस्तौँदेखि अफगानिस्तान विश्व तथा क्षेत्रीय शक्तिको छद्मयुद्ध लड्ने रणभूमि बन्दै आएको छ । बालबालिकाहरू यसबाट नराम्ररी प्रभावित भएका छन् । कैयौँ परिवार वर्षौंसम्म शरणार्थी शिविरमा बाँच्न विवश छन् । पछिल्लो समय थप हजारौँ मानिसले घर छाडेर भागेका छन् । तालिबानको काँधको एके–४७ सम्पूर्ण अफगान जनताको काँधको बोझ बनेको छ । जति पनि मुलुकले विचारधारा तथा स्वार्थको आफ्नो लडाइँमा अफगान जनतालाई प्रयोग गरे, सबैले प्रयोजन सकिएपछि तिनलाई बेवास्ता गरेका छन् । 

अफगानिस्तान युद्धमा के–कस्ता गल्ती भयो भनेर पछि पनि बहस गर्न सकिन्छ, अहिलेको यस विषम घडीमा हामी सबैले अफगान महिला तथा युवतीको भविष्यबारे सोच्न आवश्यक छ 

तर, अफगान जनता त्यसमा पनि महिला तथा बालबालिकालाई सहयोग गर्न अझै धेरै ढिलो भइसकेको छैन । विगत दुई साताको समयमा मैले अफगानिस्तानमा शिक्षा क्षेत्रमा काम गर्ने धेरै मानिससँग तिनको अवस्थाबारे कुरा गरेँ । कुराकानीमा उनीहरूलाई अब के होला भनेर पनि सोधेकी थिएँ । (सुरक्षा चिन्ताको कारण यहाँ तिनको नाम उल्लेख गरिनँ ।) ग्रामीण बालबालिकाका लागि विद्यालय चलाउने एकजना महिलाले उनको शिक्षक तथा विद्यार्थीसँग नै सम्पर्क गुमाएको बताइन् । ‘हुन त हामी शिक्षा क्षेत्रमा काम गर्छौं, तर अहिले हाम्रो ध्यान टेन्टमा छ,’ उनले बताइन् । ‘हजारौँ मानिस भागिरहेका छन् र भोक र स्वच्छ पानीको अभावमा कोही नमरून् भन्नका लागि हामीलाई तत्कालै मानवीय सहयोगको आवश्यकता छ ।’ उनले पनि अन्य धेरै अभियन्ताले झैँ आग्रह गरिन्, ‘महिला तथा बालबालिकाको रक्षाका लागि क्षेत्रीय शक्तिलाई घचघच्याउनुपर्छ ।’ 

अफगानिस्तानका छिमेकी चीन, इरान, पाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तानले अफगानिस्तानबाट भागिरहेका नागरिकलाई ढोका खुला छाडिदिनुपर्छ । यसले तिनको जीवनरक्षा र क्षेत्रीय स्थायित्व कायम गर्न सघाउ पुर्‍याउँछ । तिनले शरणार्थी बालबालिकालाई स्थानीय विद्यालयमा भर्ना गराउने वातावरण निर्माण गर्न सक्छन् । साथै, मानवीय संस्थालाई शरणार्थी शिविरभित्रै अस्थायी शिक्षण केन्द्र निर्माण गर्न सहयोग गर्न सकिन्छ । अफगानिस्तानको भविष्यबारे चिन्तित अर्का अभियन्ताले तालिबानले शिक्षा क्षेत्रमा ठोस कुरा गर्न आवश्यक रहेको बताए । ‘उनीहरूले के–के कुरालाई स्वीकृति दिने हो, स्पष्ट पार्नुपर्छ । छोरी विद्यालय जान सक्छन् भनेर मात्र पुग्दैन, हामीलाई छोरीहरूले विद्यालय शिक्षा पूरा गर्न सक्छन्, विद्यालयमा विज्ञान र गणित पनि पढ्न सक्छन्, विद्यालय सकाएपछि विश्वविद्यालय जान सक्छन् र त्यसपछि आफूले रोजेको काम गर्न पाउँछन् भनेर भन्नुपर्‍यो,’ अभियन्ताले बताए ।

मैले कुरा गरेका सबै शैक्षिक अभियन्ताहरूमा अफगानिस्तानमा पुनः धार्मिक विद्यालय मात्र खुला हुने हो कि भनेर चिन्ता थियो । धार्मिक शिक्षा मात्र पाएका बालबालिकाले अन्य सीप सिक्न सक्दैनन् । साथै, देशलाई आवश्यक चिकित्सक, इन्जिनियर तथा वैज्ञानिक निर्माण हुने वातावरण पनि रहँदैन । अफगानिस्तान युद्धमा के–के गल्ती भयो भन्ने पछि बहस गर्दै गरौँला, तर अहिलेको यस विषम घडीमा हामी सबैले अफगान महिला र युवतीको कुरालाई ध्यान दिएर सुन्नुपर्छ । उनीहरू सुरक्षा, शिक्षा, स्वतन्त्रता र उनीहरूलाई वाचा गरेको भविष्य मागिरहेका छन् । तिनलाई सधैँ असफल नबनाऔँ, अहिलेको समयमा हामीले एक पल पनि खेर नफालौँ । 

युवती शिक्षामा विश्वव्यापी अभियान चलाइरहेकी मलाला युसुफजई विश्वकी सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता हुन् । उनी १५ वर्ष हुँदा तालिबानले उनको हत्या प्रयास गरेको थियो । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य