झुटो व्यक्ति हत्या आरोपमा ४१ वर्ष भारतीय जेलमा कष्टकर जीवन बिताएर घर फिर्ता भएका दुर्गाप्रसाद तिम्सिनालाई मानव सेवा आश्रममा राखिएको छ । उपचार अभावले संरक्षण र सुरक्षामा समस्या आउन थालेपछि अधिकारकर्मीहरूको पहलमा उपचारसहितको संरक्षणका लागि ६१ वर्षीय दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको हो ।
दुर्गाप्रसादलाई उनको हेरचाह गर्दै आएका १९ वर्षीय भतिज गोपाल तिम्सिना, मानव अधिकार संरक्षण मञ्चका निर्देशक श्याम माबुहाङ, माई नगरपालिकाकी सहजकर्ता निरुता थापाको टोलीले बुधबार इलामको माई नगरपालिका– १० लुम्बाकस्थित घरबाट विराटनगर– २ स्थित मानव सेवा आश्रममा ल्याएर जिम्मा लगाएका छन् ।
अधिकारकर्मीहरूको विशेष आग्रहमा दुर्गाप्रसादलाई सकेसम्म उपचारसहित विशेष केयर गरेर राखिने आश्रमका संयोजक नवराज केसीले बताए ।
हेरचाह गर्दै आएका भतिज गोपालले दुर्गाप्रसाद आफ्नो सरसफाइ आफैँ नगर्ने र जतिवेला पनि घर छाडेर हिँड्न थालेपछि समस्या भएको बताए ।
गोपालले भने, ‘ठूलोबुबा कति खेर घर छाडेर अलपत्र भौँतारिँदै हिँडिदिनुहोला र हराउनुहोला अनि भिरबाट खसेर ज्यान जाला भन्ने पीर थपिएकाले उपचारसहितको संरक्षणका लागि मानव सेवा आश्रममा राख्ने व्यवस्था गरेका हौँ ।’
४१ वर्षपछि घर फर्कँदा हर्षित भएका परिवारका सदस्यले दुर्गाप्रसादलाई हेरचाह गर्न र उनलाई सम्हाल्न गाह्रो भएपछि उपचारसहितको संरक्षणका लागि सरकार र सामाजिक संघसस्थाहरूसँग गुहार मागेका थिए । उनीहरूले दुर्गाप्रसादलाई उपचारसहित कुनै अस्पताल वा पुनस्र्थापना केन्द्रमा राखिदिन जनप्रतिनिधि र अधिकारकर्मीहरूसँग आग्रह गरेका थिए । उनलाई आश्रममा राखिदिने विराटनगरका अधिकारकर्मी तथा आश्रमका अभिभावक कोषराज न्यौपाने र मञ्जिता उपाध्यायले आश्रम प्रशासनलाई विशेष आग्रह गरेका थिए ।
भतिज गोपालका अनुसार जस्तो पायो त्यस्तो लुगामा घर छाडेर हिँड्न थालेका दुर्गाप्रसाद ३१ साउनका दिन झन्डै एक दिनको बाटो हिँडेर गोदक पुगेका थिए । त्यहाँ राति प्रहरीले चिनेर उनको उद्धार गरेर परिवारलाई बोलाएर जिम्मा लगाएको थियो ।
२० वर्षको युवा उमेरमा कमाउन भारत गएका उनी दार्जिलिङ प्रहरीले झुटो हत्या आरोपमा पक्राउ गरेर जेल पठाएका थिए । उनलाई भारतको विभिन्न जेलमा बेसहारा बनाएर राखिएको थियो । दुर्गाप्रसादको जेलमै मानसिक सन्तुलन गुमेको थियो । जेलबाट छुटेकाहरूले निर्दोष नेपाली वर्षौँदेखि जेलमा सडिरहेको खुलासा गरेपछि उनलाई उद्धार गराउन आवाज चर्किएको थियो । पछिल्लो समय उनलाई भारत पश्चिमबंगालको राजधानी कोलकाताको दमदम जेलबाट उद्धार गरेर ८ फागुन ०७७ मा इलामस्थित घर ल्याइएको थियो ।