नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा थमौती माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्। उनले प्राधिकरणको कार्यकारी अधिकृतमा आफूलाई हटाएर कुलमान घिसिङलाई ल्याएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई कुलमान घिसिङलाई नियुक्ति गर्नु असंवैधानिक भएको रिटमा उल्लेख छ। रिटमा शाक्यले आफूलाई पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्।
बुधबारलाई पेसी
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले रिट दर्ता भएको र बुधबारका लागि पेसी तोकिएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘रिट दर्ता भएको छ। प्रारम्भिक छलफलका लागि बुधबारलाई बोलाइएको छ,’ उनले भने। शाक्यले आफूलाई चार वर्षका लागि नियुक्त गरिएकाले समयअगावै हटाइएकाले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन्।