भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे र अमेरिकाका डा.युवराज खतिवडा तत्काल फिर्ता गर्ने सूचीमा
अघिल्लो केपी ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका तीनजना ‘मन्त्रीस्तरीय’ राजदूतलाई वर्तमान सरकारले फिर्ता गर्ने तयारी गरेको छ । तत्काल फिर्ता हुने सूचीमा भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि राजदूत डा.युवराज खतिवडा छन् । भारतका लागि राजदूत आचार्यले अघिल्लो सरकारकै पालामा राजीनामा दिन लागेका थिए, तर प्रधानमन्त्री ओलीको आग्रहमा उनी बसेका थिए ।
राजनीतिक पृष्ठभूमिका राजदूतहरूले यो सरकारको प्रतिनिधित्व गर्न सक्दैन : डा. प्रकाशशरण महत, सहमहामन्त्री, कांग्रेस
ओली सरकारले छिमेक र ठूला देशहरूसँगको सम्बन्ध बिथोलेको छ, सम्बन्धहरूमा अविश्वास र आशंका बढाएको छ । त्यसकारण, ओली सरकारले पठाएका राजनीतिक पृष्ठभूमिका राजदूतहरूले वर्तमान सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् ।
मुलुकको उच्च कूटनीतिक प्राथमिकता रहेका मुलुकहरूमा यी राजदूतले परिवर्तित सन्दर्भमा नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने सत्तारुढ दलहरूको बुझाइ छ । अघिल्लो सरकारले सिफारिस गरेका ११ जना प्रस्तावित राजदूतहरूको सिफारिस वर्तमान सरकारले खारेज गरिसकेको छ ।
पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली नेतृत्वको सरकारले परराष्ट्र नीतिमा बेथिति उत्पन्न गरेको भन्दै वर्तमान सरकारको प्रतिनिधित्व हुने गरी राजदूत सिफारिस हुने जानकारी दिए । ‘ओली सरकारले छिमेक र ठूला देशहरूसँगको सम्बन्ध बिथोलेको छ, सम्बन्धहरूमा अविश्वास र आशंका बढाएको छ,’ महतले नयाँ पत्रिकासँग भने, ‘त्यसकारण, ओली सरकारले पठाएका राजनीतिक पृष्ठभूमिका राजदूतहरूले वर्तमान सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् ।’
मन्त्रिपरिषद् विस्तारलगत्तै कर्मचारी पृष्ठभूमिबाहेकका सबै राजदूतहरू फिर्ता गर्ने तयारी छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भागबन्डाका आधारमा कम्तीमा १६ मुलुकमा राजदूत सिफारिस हुनेछन् । म्याद थपिएकासमेत गरी हाल १३ मुलुकमा राजदूत नियुक्ति गर्नुपर्नेछ । भारतका लागि राजदूत नीलाम्बर आचार्य तथा एमाले पृष्ठभूमिका आठजना राजदूत फिर्तापछि सरकारले २२ मुलुकमा राजदूत सिफारिस गर्नेछ ।
जापानका लागि राजदूत प्रतिभा राणाको म्याद १५ असोजसम्म छ । ओमानका लागि राजदूत शर्मिला पराजुलीको कार्यकाल सकिएको छ, तर सरकारले अर्को व्यवस्था नभएसम्मका लागि म्याद थपेको छ । विभिन्न मुलुकमा नेपालका ३० दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् ।
३३ राजदूतमध्ये परराष्ट्र सेवाका १० जना र निवर्तमान मुख्यसचिव गरी कर्मचारी पृष्ठभूमिका ११ जना राजदूत हाल कार्यरत छन् । हाल राजनीतिक पृष्ठभूमिका १० जना राजदूत कार्यरत छन् । म्याद थप भएका दुईसहित १३ मुलुकमा राजदूत पद रिक्त छन् । भारत, चीन र अमेरिकासहित एमाले पृष्ठभूमिका सबै राजदूत फिर्ता बोलाउने अवस्थामा सरकारले २२ जना राजदूत नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।
राजदूत रिक्त ११ देश : अस्ट्रिया, अस्ट्रेलिया, रुस, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमार
१५ असोजबाट रिक्त : जापान, अर्को व्यवस्था नहुन्जेल म्याद थप : ओमान
दक्षिण कोरियामा तीन वर्षदेखि राजदूत रिक्त
दक्षिण कोरियामा ०७५ पुसदेखि राजदूत पद रिक्त छ । राजदूत अर्जुनजंगबहादुर सिंह फिर्ता भएपछि उपनियोग प्रमुखले दूतावास सञ्चालन गर्दै आएका छन् । श्रीलंकास्थित नेपाली दूतावासमा ०७६ साउनदेखि राजदूत पद खाली छ । राजदूत डा.विश्वम्भर प्याकुर्यालले राजीनामा दिएर फर्केपछि उपनियोग प्रमुखले दूतावास सञ्चालन गर्दै आएका छन् ।
फिर्ता हुने सूचीमा राजनीतिक पृष्ठभूमिका राजदूत
परराष्ट्र सेवाका १० राजदूत
फर्किने ‘मुड’ मा नीलाम्बर
भारतका लागि राजदूत आचार्य २० माघ ०७५ मा राजदूत नियुक्त भएका थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शपथ खुवाएकी थिइन् । राष्ट्रपतिबाट शपथ खाने उनी पहिलो राजदूत हुन् । उनले २९ फागुनमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । उनको कार्यकाल ०७९ फागुनसम्म छ ।
तर, उनले दुई वर्ष बसेर फर्किने सर्तमा आफू राजदूत भएको र फर्किने मुडमा रहेको परराष्ट्र मन्त्रालयको नेतृत्व तथा दूतावासस्थित सहकर्मीहरूमाझ सुनाएका छन् । ‘उहाँ फर्किने मुडमा हुनुहुन्छ, सम्भवतः नयाँ परराष्ट्रमन्त्री नियुक्त भएपछि राजीनामा दिनुहुन्छ,’ परराष्ट्र स्रोतले भन्यो । यसबारे बुझ्न खोज्दा राजदूत आचार्य सम्पर्कमा आउन चाहेनन् ।