राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद समाधान गर्न राखेपले गठन गरेको छानबिन समितिले शुक्रबार अन्तिम दिन सम्बन्धित सबैसँग बयान लिएको छ । सात दिनभित्र मन्त्रालयलाई प्रतिवेदन बुझाउन छानविन समितिलाई समय दिइएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सबैसँग बयान लिएको छ । राखेपद्वारा गठित छानबिन समितिले शुक्रबार अन्तिम दिनसम्म एन्फा विवादसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न १४ जना सबैसँग बयान लिएको हो । राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग दुई घन्टा लामो बयान लियो । राखेपमा बयान दिएलगत्तै प्रशिक्षक अलमुताइरी पोखरामा हिँडेका छन् ।
अल्मुताइरीले सामाजिक सञ्जालमा राजीनामा दिए पनि उनले एन्फामा आधिकारिक रूपमा लिखित पत्र बुझाएका छैनन् । एन्फाले पनि आधिकारिक राजीनामा पत्र नआएका कारण प्रशिक्षकद्वारा सामाजिक सञ्जालमा दिइएको राजीनामा अमान्य भएको जनाइरहेको छ । यस कारण नै प्रशिक्षक पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।
बुधबारदेखि पोखरामा टोलीको प्रशिक्षण सुरु भएको हो । मुख्य प्रशिक्षक अलमुताइरी र नेपाली टोलीमा व्यवस्थापक मधुसुदन उपाध्याय राखेपमा बयान दिएपछि पोखरा गएका छन् । दुवैले प्रशिक्षणमा सहभागी हुन जाँदै गरेको जानकारी सामाजिक सञ्जालमा दिएका छन् । १० साउनमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र प्रमुख प्रशिक्षक अलमुताइरीबीच विवाद भएको थियो ।
वरिष्ठ उपाध्यक्ष नेम्बाङकै कारण आफूले पदबाट राजीनामा दिएको जानकारी प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा दिएका थिए । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा दिइएको राजीनामासँगै एन्फाभित्रको आन्तरिक विवाद छर्लंग भएको हो । वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफूमाथि नेम्बाङले मानसिक रूपमा दबाब दिएको दाबी गरेका थिए । नेम्बाङकै कारण राजीनामा दिनुपरेको उनको भनाइ छ ।
तर, नेम्बाङले मुख्य प्रशिक्षकसँग हालसम्म सामान्य मात्र बोल मात्र भइरहेको र अनावश्यक रूपमा आफूलाई फसाउन खोजिएको बताउँदै आइरहेका छन् ।प्रशिक्षकमाथि दबाब दिने कार्य प्रमाणित भए आफूले वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिने उनले घोषणा गरिसकेका छन् । एन्फाभित्रका पदाधिकारीबीच आन्तारिक विवाद उठ्नुको पछाडि आसन्न एन्फा निर्वाचन नै हो । आउँदो वैशाखमा एन्फाको निर्वाचन हुँदै छ । अध्यक्षमा कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच प्रतिस्पर्धा हुने छाँटकाँट देखिइसकेको छ । शेर्पा र नेम्बाङ दुई कित्तामा बाँडिएका छन् । एन्फा निर्वाचन आउन नौ महिना बाँकी रहँदा नै आन्तरिक विवादका रूपमा प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको काण्डका रूपमा लिन सकिन्छ ।
यी दुईबीचको विवाद समाधान निकाल्न एन्फाले एक सातापछि आकस्मिक बैठक डाक्यो । तर, एन्फाको कार्यसमितिका सबै सदस्य उपस्थित भएको बोर्ड बैठकले आफूहरूबाटै समाधान निकाल्न सकेनन् । एन्फाले यस विषयको समाधान गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह ग¥यो । एन्फाभित्रको विवाद आफैँ समाधान नगरी तेस्रो पक्षसँग आग्रह गरिएको सम्बन्धमा एन्फा यसको विवाद यथावत् छ ।
फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल महासंघ (एएफसी)ले फुटबल संघको विवाद आफैँ समाधान गर्न र तेस्रो पक्षसम्म नपु¥याउन भनिएको छ । तर, एन्फाले मन्त्रालयसँग गुहार माग्यो । त्यसपछि मन्त्रालयले एन्फा विवाद समाधान गर्न राखेपलाई जिम्मेवारी सुम्पियो । मन्त्रालयले सबैसँग बयान लिई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
मन्त्रालयको निर्देशनअनुसार राखेपले आफ्नै बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले अन्तिम दिन प्रशिक्षक अलमुताइरीसँगै वरिष्ठ उपाध्यक्ष नेम्बाङ, सञ्चारकर्मी तथा राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङसँग बयान लिएका हुन् । छानबिन समितिले प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक रहेको बताएका छन् । प्रशिक्षक अलमुताइरीले छानबिन समितिसमक्ष आफ्नो तर्फबाट सबै कुरा राखेको बताएका छन् । यसअघि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र सदस्य किरण राईसँग पनि बयान लिएको थियो । बयानको क्रममा एन्फाका उपाध्यक्षद्वय वीरबहादुर खड्का र कृष्ण थापा पनि राखेप पुगेका थिए ।