गत वर्षको जस्तै यस वर्ष पनि चितवनका किसानले मल किन्न हैरानी भोग्नुपरेको छ । सरकारले किसानलाई मल अभाव नहुने बताउँदै आए पनि चितवनका किसानले भने घन्टाैँ लाइनमा बस्दासमेत मल पाएका छैनन् ।
मल वितरण गर्ने थाहा पाएपछि १० बजे खुल्ने भरतपुर– ६, गीतानगर बजार रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा शुक्रबार किसानहरूको बिहान ५ बजेदेखि नै लाइन थियो । हातमा नागरिकताको फोटोकपी बोकेकी ६९ वर्षकी रमादेवी अधिकारी ७ बजेदेखि सहकारीको लाइनमा मल लिन बसेकी थिइन् । तर, उनको पालो आउँदा सहकारीमा मल सकियो । उनले भनिन्, ‘बिहानै ५ बजेदेखि नै अन्य साथीहरू आउनुभएको थियो, मेरो पालोमा मल नै सकियो ।
उनीजस्तै अरूको १० बिघा जमिनमा धान रोपेका पारस नगरका जिसनराज राउत पनि तीन घन्टा लाइनमा बसे तर मल पाएनन् । उनको खेतमा २० बोरा युरिया आवश्यक छ । तर, उनी पाँचपटकभन्दा बढी सहकारीमा मलका लागि आउँदासमेत एक केजी पनि युरिया पाएका छैनन् । धान रोपेपछि छर्ने डिएपी भने १० बोरा आवश्यक भए पनि तीन बोराले उनले काम चलाए । उनी भन्छन्, ‘गत साल समयमा मल हाल्न नपाउँदा उत्पादन घट्यो, मेरो परिवारको आम्दानीको आधार नै यही बारीको उत्पादन हो । पैसा तिरेर पनि मल नपाउने यो कस्तो कृषिप्रधान देश हो ?
मागअनुसारको मल प्राप्त नहुँदा सहकारीले प्रतिकिसान १० केजीका दरमा युरिया मल वितरण गरेको थियो । सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजु पौडेलका अनुसार सहकारीमा आएको ३० बोरा मल शुक्रबार १०–१० केजीका दरमा किसानलाई वितरण गरिएको हो ।
पर्याप्त मल नभएको भन्दै केही महिनायता सहकारीले मल आएको समयमा १० केजी युरिया र २५ केजी डिएपी नागरिकताको फोटोकपी ल्याउने किसानलाई दिँदै मल दिन नसक्दा किसानहरू आफूहरूसँग रिसाउने र झगडा गर्ने गरेकोसमेत उनी बताउँछन् । ६ सय बोरा युरिया र सात सय बोरा डिएपीले आफ्नो क्षेत्रका किसानलाई यो सिजनामा मल पुग्ने पौडेल बताउँछन् ।
कोरोना कहरमा किसानहरूले पर्याप्त मल नपाएपछि प्रत्येकपटकको वितरणमा लाइनमा बस्ने गरेको पनि उनले सुनाए । ‘थोरै मलले पुग्दैन, त्यसैले किसनहरूले १०–१० केजी भए पनि संकलन गर्नुभएको छ,’ उनले भने ।