केही वर्षयता नेपालमा पुराना कवि तथा साहित्यकारको सम्मान र सम्झना दिगो बनाउन विभिन्न प्रयास हुँदै आएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको अर्घौं अर्चलेस्थित घर होस् या आदिकवि भानुभक्त आचार्यको चुँदी, रम्घामा रहेको जन्मथलो होस्, जोगाउने, जगाउने र संरक्षण गर्ने प्रयास भएका छन् । हालै नाटककार बालकृष्ण समको घर संरक्षणको प्रसंग पनि चर्चामा आएको थियो । कतै जनस्तरबाट त कतै सरकारबाट भएका यस्तै पहलको सिलसिलामा नेपाल प्रज्ञा प्रतिष्ठानले तीन वर्षपहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौंको मैतीदेवीस्थित घर दुई करोड ५० लाख मूल्य तिरेर खरिद गरेको थियो । महाकविका स्मृतिलाई ताजा राख्ने र नयाँ पुस्तासम्म त्यसको महिमा स्थानान्तरण गर्ने यस्तो राम्रो र सकारात्मक सोचको सबैले प्रशंसा पनि गरेका थिए । यतिवेला भने प्रज्ञा प्रतिष्ठानको काम विवादमा आएको छ । प्रतिष्ठानको सक्रियतामा महाकविको घर भत्काएर त्यस ठाउँमा संग्रहालय बनाउने तयारी गरिएको छ । त्यसको पहिलो कदमका रूपमा महाकविको पुरानो घर भत्काउन थालिएको छ । मुख्य समस्या पनि यहीँनिर देखिएको छ ।
प्रज्ञा प्रतिष्ठानले कुन सनकका भरमा महाकवि देवकोटाको घर भत्काउने निर्णय गर्यो ? कस्ता बौद्धिक तथा सांस्कृतिक चेत भएका प्राज्ञहरूको प्रज्ञाले यस्तो उल्टो बाटो रोज्यो ?
दुनियाँभरि नै सम्पन्न मुलुक र नगरहरूले आफ्नो भाषाका प्रसिद्धिप्राप्त कवि, कलाकार या लेखकहरूको सम्मानस्वरूप उनीहरूको घर संरक्षण गर्ने, उनीहरूले प्रयोग गरेका सामान, सिर्जनाका पाण्डुलिपि आदि जतनसाथ राख्ने र त्यसलाई एउटा साहित्य तथा कलाको तीर्थस्थल जस्तो बनाउने गर्छन् । यसलाई पर्यटनसँग जोडिने भएकाले यसको आर्थिक लाभ पनि छ । आफ्ना कवि, लेखक या साहित्यकारको नामसँग गर्व गर्छन् नगरवासीहरू । यो कलाको सम्मान मात्र होइन, आफ्नो भाषा र राष्ट्रियताको संरक्षण पनि हो, संवर्धन र प्रवर्धन पनि हो । चार सय वर्षअघिका विख्यात नाटककार सेक्सपियरको आवासको सुरक्षा त्यसैको उदाहरण हो । जहाँ पुग्न पाउँदा विश्वभरका लेखक, कलाकार र पाठक रमाउँछन् । यता महाकविका नाममा संग्रहालय बनाएर उनको कीर्ति लामो समय कायम राख्ने उद्देश्य राखेको प्रज्ञा प्रतिष्ठानले भने उनले आफ्नो सक्रिय लेखकीय जीवन बिताएको ऐतिहासिक घर नै भत्काइदिएको छ । प्रतिष्ठानको यस कदमले देवकोटाका सिर्जना र सम्झनाको मूल मर्मको हत्या गरेको छ ।
अबका दिनमा उनलाई सम्झेर आउनेले देवकोटालाई जीवन्त रूपमा भेट्न पाउनेछैनन् । तिनले एउटा आडम्बर र एउटा कस्मेटिक्स पोतिएका देवकोटालाई भेट्नेछन् । उनको घरको बुइँगल, उनको लेखन कोठामा पुग्ने भर्याङ, उनको कोठामा उज्यालो छिर्ने झ्याल अब सबै कृत्रिम हुनेछन् । एउटा पातलो दोलाईं ओढेर, चुरोट तान्दै लेखिबस्ने महाकविको असली अवस्थाको झल्को म्युजियमले दिन सक्नेछैन । अहिले विश्वरभर रेट्रोफिटिङ प्रविधि प्रयोगमा छ । पुराना वास्तुकलालाई जस्ताको तस्तै कायम राखेर पनि टिकाउ बनाउन सकिने प्रविधि नेपालमै पनि प्रयोग भएको छ । सिंहदरबार नै त्यसको उदाहरण हो । यस्तो अवस्थामा प्रज्ञा प्रतिष्ठानले कुन सनकका भरमा यसरी घर भत्काउने निर्णय ग¥यो होला ? कस्ता बौद्धिक सांस्कृतिक चेत भएका प्राज्ञहरूको प्रज्ञाले यस्तो उल्टो बाटो रोज्यो होला ? हाकाहाकी यसरी पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वसहितको कविकुञ्जको सर्वनाश गर्दा रोक्ने निकाय किन कोही नभएका होलान् ? आउँदा दिनमा यी प्रश्नले हामीलाई लामो समयसम्म लखेटिरहनेछन् ।