१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ १ मंगलबार o९:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीको प्रतिष्ठामा ‘अन्तर्राष्ट्रिय दाग’ : शान्ति मिसनको परीक्षाको प्रश्नपत्र किनबेच

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३६:oo

हेडक्वार्टरमै चोरी ! 
नेपाल प्रहरीको युएन शाखामै कार्यरत प्रहरी परिचर सुरेश बमले कार्यालयको साँचो चोरी गरी प्रश्नपत्र फोटोकपी गरेर अन्य प्रहरीलाई बिक्री गरेका हुन् । साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाह यसका योजनाकार थिए । परिचर बम र हवल्दार कुमार शाहलाई प्रधान कार्यालयले नियन्त्रणमा लिएर गणभित्र थुनामा राखेको छ । थप दर्जन प्रहरीमाथि छानबिन सुरु भएको छ । घटनाले शान्ति मिसनमा दोस्रो स्थानमा रहेको नेपालको छविमा आँच आउने जोखिम छ । 

राष्ट्रसंघीय शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले सञ्चालन गरेको ‘प्रि–स्याट’ परीक्षामा प्रश्नपत्र किनबेच भएको पुष्टि भएको छ । घटनामा संलग्न दुई प्रहरी नियन्त्रणमा छन् भने दर्जनमाथि छानबिन सुरु भएको हो । 

गत १५ र १६ साउनमा सञ्चालन भएको परीक्षाका प्रश्नपत्र चोरी गरेर बिक्री भएको हो । नेपाल प्रहरीको युएन शाखामै कार्यरत प्रहरी परिचर सुरेश बमले कार्यालयको साँचो चोरी गरेर प्रश्नपत्र फोटोकपी गरेर अन्य प्रहरीलाई बिक्री गरेका हुन् । परिचर बम र हवल्दार कुमार शाहलाई प्रधान कार्यालयले नियन्त्रणमा लिएर गणभित्र थुनामा राखेको छ । 

युएन शाखाका एसपी अनुपमशमशेर राणाले प्रश्नपत्र आफ्नो ड्रयरमा राखेर साँचो लिई घर गएका थिए । एसपीको ड्रयरको अर्काे साँचो पहिलेदेखि नै परिचर बमले राख्दै आएको र सोही साँचो प्रयोग गरी उनले प्रश्नपत्र चोरी गरेको पुष्टि भएको छ । कार्यालयबाट सबै घर गएपछि उनै बमले एसपीले राखेका प्रश्नपत्र फोटोकपी गरेर विभिन्न प्रहरी अधिकारीलाई बिक्री गरेका थिए । यसका योजनाकार थिए, साइबर ब्युरोमा कार्यरत हवल्दार शाह । 

करिब आठ वर्ष युएन शाखामा बसेर हालै कारबाहीस्वरूप त्यहाँबाट हटाइएका शाहले नै परिचर बमलाई त्यस्तो काम लगाएको खुलेको छ । हवल्दार शाह आफैँ पनि परीक्षा दिँदै थिए । यससम्बन्धी प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामा नेतृत्वमा छानबिन गरिरहेको छ । हालसम्मको छानबिनमा प्रश्नपत्र किनबेच नै भएको पुष्टि भएको छानबिन समिति स्रोत बताउँछ । ‘हवल्दार शाहलाई परिचर बमले एक लाख रुपैयाँ तिर्नुपर्ने रहेछ,’ छानबिन समितिका एक सदस्य भन्छन्, ‘यदि त्यसरी प्रश्नपत्र दिन सके, त्यो पैसा दिन नपर्ने र थप पैसासमेत दिने आश्वासन शाहले दिएको देखियो ।’ हवल्दार शाहले डिएसपी रूपेश खड्कालगायतलाई आफूले प्रश्नपत्र उपलब्ध गराएको बताएका छन् । 

के हो ‘प्रि स्याट’ परीक्षा ? 
राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरी परामर्श (अनपोल मिसन)का रूपमा जान अंग्रेजी भाषा, ड्राइभिङ तथा सुटिङजस्ता परीक्षा उत्तीर्ण हुनुपर्छ । जसलाई ‘स्याट’ परीक्षा भनिन्छ । यस्तो परीक्षा राष्ट्रसंघकै प्रतिनिधिको निगरानीमा सञ्चालन हुन्छ । स्याट परीक्षामा सहभागी हुनेको संख्या धेरै हुने भएकाले त्यसअघि प्रहरीले आफैँ ‘प्रि–स्याट’ परीक्षा सञ्चालन गरी पूर्वछनोट गर्दछ ।

जसमा प्रहरीभित्रै बदमासी भएको हो । स्याट परीक्षामा पनि विगतमा पटक–पटक यस्ता गतिविधि भएका छन् । ‘प्रि–स्याट’ परीक्षाका लागि एसएसपी प्रदीप श्रेष्ठ नेतृत्वमा आठ सदस्यीय समिति बनेको थियो । सो समितिमा रहेका प्रहरीको पनि मिलेमतोको आशंकामा छानबिन भइरहेको स्रोत बताउँछ ।

परीक्षामा करिब दुई हजार चार सय प्रहरी सहभागी थिए । प्रश्नपत्र बाहिरिएको आशंकापछि छानबिन समिति गठन गरेर त्यसबारे बुझ्ने काम भइरहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।

ad
ad