१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १९ मंगलबार o८:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार o८:२६:oo

लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौं किंग्सले ९ देखि २३ असोजसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) मा प्रतिस्पर्धा गर्दै छ । यसअघि काठमाडौं किंग्सले सोमपाल कामीको कप्तानीमा इपिएलमा प्रतिस्पर्धा गरेको थियो । काठमाडौं किंग्सले सोमबार सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको हो । गत संस्करणमा काठमाडौं किंग्सले प्लेअफको स्थान बनाएको थियो । 

काठमाडौं किंग्सले गत साता मात्र पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदीलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको थियो । इपिएलमा आबद्ध विदेशी खेलाडीमध्ये अफ्रिदी सर्वाधिक चर्चित खेलाडी हुन् । अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा फरक स्थान बनाएका विश्व चर्चित लेग स्पिनर सन्दीपलाई कप्तानी जिम्मेवारी दिएको काठमाडौं किंग्सका सिइओ राजजंग थापाले जानकारी दिए । ‘नेपालका साथै विश्वमै नाम कमाएका सन्दीपले इपिएलमा काठमाडौं किंग्सको कप्तानी गर्नेछन्,’ थापाले भने, ‘हामीलाई विश्वास छ, सन्दीपको कप्तानीमा काठमाडौं किंग्सले इपिएलमा राम्रो नतिजा निकाल्नेछ ।’ घरेलु फ्रेन्चाइज लिगमा सन्दीप यसअघि ललितपुरबाट प्रतिस्पर्धा गरेका थिए । सन् २०१८ मा उनले ललितपुरबाट केवल दुई खेलमा मात्र सहभागिता जनाए । सोही वेला अस्ट्रेलियाको बिग वास टी–२० मा सहभागी हुन सन्दीपले इपिएलबीचमै छाडेर त्यसतर्फ गएका थिए ।

अन्तर्राष्ट्रिय टी–२० लिगमै व्यस्त हुँदाहुँदै पनि सन्दीपले घरेलु लिगमा पनि समय दिएका छन् । उनले पछिल्लो समय काठमाडौं मेयर कपमा काठमाडौं मेयर ११ को कप्तानी गरेका थिए । यसैगरी उनले पोखरा प्रिमियर लिगमा विराटनगरमा आबद्ध हुँदै खेले । सन्दीपले राष्ट्रिय यु–१९ टोलीको पनि कप्तानी गरिसकेका छन् । कप्तानी जिम्मेवारी सम्हालिसकेका सन्दीपलाई काठमाडौं किंग्सको नेतृत्व गर्न असहज हुने छैन । 

सन्दीपले अफ्रिदीजस्तो विश्व प्रसिद्ध खेलाडीसँगै प्रतिस्पर्धा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताएका छन् । ‘मेरो जन्मदिनको अवसरमै काठमाडौं किंग्सको कप्तानी जिम्मेवारी पाउँदा ज्यादै खुसी छु,’ सन्दीपले भनेका छन्, ‘यस टोलीमा अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृष्ट अलराउन्डर अफ्रिदी आइकोनी खेलाडीका रूपमा छन् ।’