त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च
२७ अर्बको आयात हुँदा ५९ करोडको निर्यात, एक वर्षमा पौने १० अर्बले बढ्यो आयात
सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा सामानको आयात पौने १० अर्बले बढेको छ । आर्थिक वर्ष ०७६/७७ मा यो नाकाबाट १७ अर्ब ६२ करोड मूल्यको सामान आयात भएकोमा गत आर्थिक वर्ष ०७७/७८ मा आयात बढेर २७ अर्ब साढे ३२ करोड पुगेको छ ।
अर्बौँको आयात हुँदा यहाँबाट वस्तुको निर्यात भने न्यून छ । भन्सार कार्यालयको तथ्यांकअनुसार गत वर्ष ५९ करोड पाँच लाख मूल्यको सामान भारत निर्यात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ५३ करोड ३५ लाख मूल्यको सामान भारत निर्यात भएको त्रिनगर भन्सार कार्यालयका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् ।
आयात हुने वस्तुमध्ये सबैभन्दा बढी मूल्य पेट्रोलियम पदार्थ र एलपी ग्यासको रहेको छ । गत वर्षमात्र आठ अर्ब ४३ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ र ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । चिनी, दालमोठ, पापड, भुजिया, कागज, ट्याक्टर, टायल, मार्बल, गाडीका सामानको आयात उच्च रहेको सूचना अधिकारी केसीले बताइन् । चामल, मकै, विद्युतीय तथा हार्डवेयरका सामान, सुर्ती, दाना, फलफूल, तरकारी आदि पनि उच्च आयात हुने वस्तुमा पर्छन् ।
औद्योगिक विकास हुन नसकेको सुदूरपश्चिममा परनिर्भरता बढ्दै गएको आयात र निर्यातको तथ्यांकले देखाउँछ । केही वर्षअघिसम्म सुदूरपश्चिमबाट खाद्यान्न निर्यात हुने गरेको थियो, तर अहिले बर्सेनि करोडौँ मूल्यको खाद्यान्न यहाँ आयात हुने गर्छ । आयात बर्सेनि चुलिँदै जाँदा निर्यात भने त्यसअनुसार बढेको छैन । यहाँबाट कत्था, टरपेनटाइन, रोजिन, पिना आदि सामान मात्र निर्यात हुने गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पुष्प कुँवर सुदूरपश्चिममा औद्योगिक विकासमा राज्यको प्रोत्साहन नहुँदा आयात बढ्दै बताउँछन् । यहाँ उद्योगधन्दाहरू नभएकाले उपभोग्य वस्तु परनिर्भरता बढेको उनको भनाइ छ । ‘व्यापार घाटा कम गर्न राज्यले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्याे । उद्योगीलाई प्रोत्साहन र सहुलियत दिनुपर्याे,’ अध्यक्ष कुँवरले भने । निर्यातभन्दा उपभोग्य वस्तुको उत्पादन बढाएर आयात कम गर्नुपर्ने उनले बताए ।
राजस्व संकलन लक्ष्यभन्दा बढी
त्रिनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा आठ अर्ब ८४ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलनको लक्ष्य १०७.५९ पुगेको भन्सार कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिइन् । भन्सारले गत वर्ष आठ अर्ब २१ करोड ७३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट राजस्व संकलन हुने गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आयात प्रभावित हुँदा आर्थिक वर्ष ०७६/७७ मा भन्सारले राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेको थिएन । उक्त वर्ष ६ अर्ब ७० करोड ३१ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ७३.४१ प्रतिशत मात्र संकलन भएको थियो ।