मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ९ शनिबार
  • Saturday, 12 July, 2025
कृष्ण रिजाल काठमाडाैं
२o७८ श्रावण ९ शनिबार o९:४८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडकै बीच वैदेशिक व्यापार ३० प्रतिशतले बढेर झन्डै १७ खर्ब पुग्यो 

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ९ शनिबार o९:४८:oo

मुलुकको निर्यात ऐतिहासिक रूपमा ४४ प्रतिशतले बढ्यो

कोभिड महामारीकै बीच नेपालको वैदेशिक व्यापार उच्चदरमा बढेको छ । कोभिड संक्रमणको जोखिम र महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको देशव्यापी निषेधाज्ञाका कारण समग्र आर्थिक क्षेत्र प्रभावित भएको थियो । तर, आर्थिक वर्ष ०७७/७८ मा वैदेशिक व्यापार भने २९ दशमलव ८५ प्रतिशतले बढेर १६ खर्ब ८० अर्ब पुगेको छ । आव ०७६/७७ मा नेपालले कुल १२ खर्ब ९४ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको थियो । 

आर्थिक वर्ष सुरु भएको दोस्रो महिनाबाट कोभिड महामारी बढेपछि नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा गरिएको थियो । त्यसवेला निषेधाज्ञा खुला गरिएपछि आर्थिक गतिविधि बढेको थियो । तर, गत चैतदेखि दोस्रो लहरको कोभिड महामारी सुरु भएपछि पुनः आर्थिक क्षेत्र प्रभावित बन्यो । सरकारले दोस्रो लहरको कोभिड महामारी नियन्त्रणका लागि १५ जेठदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्‍यो । अढाई महिना लामो निषेधाज्ञाले उत्पादनदेखि, आयात, आपूर्ति र उपभोगसम्म प्रभावित बन्यो । निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएपछि पुनः आर्थिक गतिविधि बढ्यो । पटक–पटक गरिएको निषेधाज्ञा र महामारीको जोखिमकै बीच वैदेशिक व्यापार भने उच्चदरमा बढेको हो । 

यस वर्ष कोभिड महामारीकै बीच आर्थिक गतिविधि चलिरहेका कारण व्यापार बढी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए । ‘एकातर्फ कृषिजन्यलगायत उपभोग्य वस्तुको आयात बढेको छ, इन्धन र मेसिनरीलगायतको आयात पनि बढेको छ, अर्कातर्फ हाम्रो निर्यात पनि उच्चदरमा बढेको छ,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष विश्वव्यापी रूपमै वस्तुहरूको मूल्यसमेत बढेका कारण व्यापार बढी देखिएको हो ।’

भन्सार राजस्व ४६ प्रतिशतले बढ्यो
वैदेशिक व्यापार र खासगरी आयात उच्चदरमा बढेसँगै भन्सार महसुल संकलन पनि उच्चदरमा बढेको छ । आव ०७७/७८ मा भन्सार महसुल ४६ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब पुगेको छ । गत आवमा सरकारले एक खर्ब १४ अर्ब भन्सार महसुल उठाएको थियो । 

सवा १५ खर्बको आयात हुँदा  १ खर्ब ४१ अर्बको निर्यात, व्यापार घाटा २७% ले बढेर झन्डै १४ खर्ब पुग्यो

आर्थिक वर्ष ०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको भन्दा २८.६६ प्रतिशतले बढी हो । आव ०७६/७७ मा नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको थियो । आयात वृद्धिदर नियमितजस्तै देखिएको बजागाईं बताउँछन् । यस अवधिमा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँबराबरको निर्यात गरेको छ, जुन अघिल्लो वर्षको भन्दा ४४.४३ प्रतिशतले बढी हो ।

आव ०७६/७७ मा नेपालले कुल ९७ अर्ब ७० करोड रुपैयाँबराबरको निर्यात गर्न सकेको थियो । महामारीकै बीच नेपाली उद्यमीले उत्पादन गरेर निर्यात बढाउनु सकारात्मक भएको बजागाईंले बताए । ‘निर्यातमा त चमत्कार नै भएको छ, निर्यात वृद्धि ऐतिहासिक छ,’ उनले भने, ‘यस्तो जोखिमका वेला पनि उत्पादन बढाएर निर्यात बढाउनु प्रशंसनीय छ ।’

नेपालको व्यापार घाटा झन्डै १४ खर्ब पुगेको छ । आर्थिक वर्ष ०७७/७८ मा नेपालको कुल व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २७.२६ प्रतिशतले बढी हो । आव ०७६/७७ मा नेपालले १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको थियो ।