नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दूरदर्शी राजनेता मै हुँ भनेर डंका बजाउने सोचलाई आफूहरूले असफल बनाएको बताएका छन् । ४३औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले केपी ओलीतिर इंगित गर्दै संसद् विघटनका सबै कदम ठीक थिए भन्ने प्रमाणित गर्न भएको षड्यन्त्र आफूहरूले असफल पारेको बताएका हुन् ।
‘२०७७ साल ५ पुसमा गरेको विघटन जालझेल हो भन्ने पुष्टि गर्नका लागि ३ साउनमा फेरि गम्भीर षड्यन्त्र भएको थियो । जसरी पनि शेरबहादुरको सरकारले विश्वासको मत नपाओस्, नपाइसकेपछि विघटन गरेका मेरा सबै कदम ठीक थिए, दूरदर्शी राजनेता मै हुँ भनेर डंका बजाउने सोचलाई हामीले असफल बनाएका छौँ,’ नेता नेपालले भने।
आफ्नो पार्टीलाई व्यवस्थित गर्न नसक्नेले समाजको अन्तर्विरोध समाधान गर्न नसक्ने भन्दै उनले पार्टीको अन्तर्विरोधको मूल कारण खोज्नसमेत ओलीलाई सुझाब दिएका छन्।