मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १ शुक्रबार २o:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यता छानबिन सकियो, पर्सिसम्म प्रतिवेदन बुझाउँछौँ : रमेश लेखक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार २o:३३:oo

 कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाको सदस्यता छानबिन गरिसकेको जनाएको छ । समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताए ।

‘७५ जिल्लाका कागजात हेरिसक्यौँ । अब बारा र सप्तरीको कागजात हेर्न बाँकी छ । त्यसपछि हामीले अन्तिम प्रतिवेदनको तयारी गर्छौँ । सभापतिसमक्ष प्रतिवेदन बुझाउनका लागि सम्माननीय प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग समय मागेका छौँ । भोलि वा पर्सि जुन दिन समय हुन्छ, हामी प्रतिवेदन बुझाउँछौँ,’ बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि लेखकले भने । 

शुक्रबारको बैठकमा समयमै महाधिवेशन गर्ने गरी सबै तयारी अघि बढाउने छलफल भएको उनले बताए । ‘बैठकमा आसन्न महाधिवेशनलाई समयमा नै सम्पन्न गर्ने विषयहरूसँग केन्द्रित भएर छलफल भयो । मूलतः क्रियाशील छानबिन समिति, निर्वाचन समिति र समायोजन समितिले गरेका काम र प्रगतिबारे छलफल भयो,’ उनले भने । 

लेखकका अनुसार सप्तरी र बारा जिल्लामा पार्टीको आन्तरिक समायोजनमै ढिलाइ भएका कारण क्रियाशील छानबिनमा पनि ढिलाइ भएको हो । ‘बारा र सप्तरीमा पार्टीको आन्तरिक समायोजनमै समस्या भएका कारण क्रियाशीलको प्रक्रिया नै ढिला भयो । त्यसका कारण त्यहाँको कागजात हामीले भर्खर पाएका छौँ । त्यहाँका बाहेक सबै जिल्लाको कागजात हामीले हेरिसकेका छौँ,’ उनले भने । 

बैठकले केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदामाथि छलफल गरी अन्तिम रूप दिन सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ । 

यस्तै, वडादेखि केन्द्रसम्मको निर्वाचन गराउने जिम्मेवारी लिएको निर्वाचन समितिका अन्य तयारीका विषयमा समेत छलफल भएको लेखकले बताए । ‘अहिले महाधिवेशन सार्ने भन्ने कुरा छैन । हामीले समयमै महाधिवेशन गर्ने गरी नै तयारीलाई अघि बढाउने गरी छलफल भएको छ, त्यहीअनुसार निर्वाचन समितिलाई आफ्नो तयारी अघि बढाउन बैठकले निर्देशन गरेको छ,’ लेखकले भने ।  उनका अनुसार अहिलेसम्म आठ लाख ५२ हजार क्रियाशील सदस्य सूचीकृत भएका छन् । अब कांग्रेसको क्रियाशील सदस्यको संख्या जनसम्पर्क समितिसहित नाै लाख हाराहारी पुग्नेछ ।