साना र मध्यम आकारका उद्यमहरूको रिकभरीलाई थप सहयोग
अनलाइन बजार दराजले सफल सहयात्री कार्यक्रम फेरि सुरु गरेको छ । कम्पनीले साना र मध्यम आकारका उद्यम (एसएमई)हरूलाई बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम फेरि सुरु गर्ने भएको हो ।
अब लागू हुने सहयात्री कार्यक्रममा पहिलोपटक अनलाइनमा सरेका नयाँ व्यवसायीहरूले अबको तीन महिना दसैँ धमाका अभियानसम्म निःशुल्क रूपमा आफ्नो उत्पादन दराजमा बिक्रीका लागि राख्न सक्ने कम्पनीले जनाएको छ । यसपालि दराज सहयात्री कार्यक्रमका साथ ‘सेलर प्रमिस– २०२१’ नामक पहलका साथ सुरु भएको जनाइएको छ ।
‘सेलर प्रमिस–२०२१’ मा निःशुल्क बिक्री सूचीकरण, विक्रेतालाई पहिले १५ दिनमा दिने गरिएको भुक्तानी ७ दिनमा नै दिने, नबिल बैंकको सहयोगमा विशेष वित्तीय सहयोग पाउने, द्रुत साइन इन प्रकियाका कारण २४ घन्टाभित्रै अनलाइनमा दर्ता हुन सकिनेजस्ता विशेषता रहेको जनाइएको छ । त्यस्तै, विक्रेता क्वेरीको ३० सेकेन्डभित्रै प्रत्यक्ष कुराकानीमार्फत उत्तर दिइने र विक्रेताहरूले दराज विश्वविद्यालयको माध्यमबाट इ–कमर्स प्रशिक्षण र शिक्षा पहल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले विशेष गरी साना र मझौला व्यवसायलाई महामारी र पछिल्लो निषेधाज्ञाले कठिन अवस्थामा पुर्याएको बताए । दराजका विक्रेता बढेमा देशभर १० लाखभन्दा बढी ग्राहक बढ्ने उनको भनाइ छ । उनले भने, ‘हाम्रो मुख्य उद्देश्यमध्ये एक भनेको हाम्रा १ हजारभन्दा बढी विक्रेतालाई बिक्री प्लेटफर्ममा पुनः जोड्न मद्दत गर्ने र थप व्यवसायलाई कुनै जोखिमविना अनलाइन बिक्री गर्न अवसर दिने हो । हाम्रो सहयात्री कार्यक्रम र सेलर प्रमिस–२०२१ ले छिटो भुक्तानको अनुकूलित अनबोर्डिङ कम शुल्क, थप प्रशिक्षण र विशेष वित्तीय विकल्पहरूले व्यवसायलाई पुनः ट्र्याकमा फर्काउन सहयोग गर्नेछ ।’
अघिल्लो वर्ष सुरु भएको यो कार्यक्रमअन्तर्गत दराजले ४ महिना कमिसन नलिई विक्रेताहरूको सामान बिक्रीमा सहयोग गरेको थियो । उक्त कार्यक्रममा ८ हजारभन्दा बढी एसएमईहरूका सामान ७ लाखभन्दा बढी ग्राहकसम्म पुर्याएको कम्पनीले जनाएको छ । दराज सहयात्री कार्यक्रमको मुख्य उद्देश्य साना र मध्यम आकारका उद्यमलाई शुल्क नलिने, अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तान चक्र र थप वित्तीय कार्यक्रमका माध्यमबाट छिटो प्रगति गर्न सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ ।