१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १६ बुधबार
  • Saturday, 28 September, 2024
हाम्रो टिम नेपालले अनामनगर–२९ स्थित सार्वजनिक जग्गामा खाना पकाउन प्रयोग गर्दै आएको टहरा सोमबार महानगरले प्रहरी लगाएर भत्काएको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२o७८ असार १६ बुधबार o८:३८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सडकमा नि:शुल्क खाना खुवाउने अभियन्तामाथि महानगरको ज्यादती

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १६ बुधबार o८:३८:oo

भोका मजदुर, मानसिक रोगी, वृद्धवृद्धा, बालबालिकालाई नियमित खाना खुवाउने हाम्रो टिम नेपालको २५ लाखबराबरको सरसामान जफत, टहरासमेत भत्काइयो

काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएका र विपद्मा परेका सर्वसाधारणलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालको करिब २५ लाखबराबरको सरसामान जफत गरेको छ । टिम नेपालले अनामनगर–२९ स्थित सार्वजनिक जग्गामा बनेको टहरा जुन लकडाउनअघिदेखि प्रयोग गर्दै आइरहेको थियो, त्योसमेत भत्काएर महानगरपालिकाले त्यहाँ पार्क बनाउने भएको छ । महानगरले प्रहरी लगाएर हाम्रो टिम नेपालका अभियन्तालाई समेत नियन्त्रणमा लिएको थियो । 

दैनिक तीन सयजनालाई नि:शुल्क खाना खुवाउनु अपराध हो ? : विमल पन्त, अध्यक्ष हाम्रो टिम नेपाल

हामीलाई महामारीमा जिम र पार्क बनाएर भुँडी घटाउनेभन्दा पनि खान नपाएर मर्न लागेकाहरूको पेट भर्न महत्वपूर्ण छ जस्तो लागेको थियो । आफ्नो स्वार्थभन्दा माथि उठेर दैनिक तीन सयजनालाई खाना खुवाउनु अपराध भयो । जफत गरिएको सामान हाम्रो होइन, विपद्मा परेका आमनागरिकको हो । प्रहरीले बलजफ्ती हामीलाई पक्राउ गरेर लाँदा सामान सार्न सूचनासमेत दिएन, साह्रै दु:ख लागेको छ ।

महामारीमा रोजगारी गुमाएर सडकमा आउन बाध्य नागरिकलाई दैनिक खाना खुवाउँदै आएको सो संस्थाले काठमाडौं महानगरपालिकासँग गत ५ जेठमा सार्वजनिक जग्गा प्रयोग गर्न अनुमति लिएको थियो । महानगरले लकडाउन खुलेपछिको एक हप्तासम्म प्रयोग गर्न पाउने लिखित सहमति पनि गरेको थियो । तर दुईजना स्थानीयले यसको विरोध गर्दै आएकाले एक्कासि सम्पूर्ण सामानसहित अभियन्तालाई पक्राउ गरिएको हो । उनीहरू सोमबार साँझै रिहा भएका छन् । 

महानगरपालिकाले हाम्रो टिम नेपालको टहरा भत्काएर ६० बोरा चामल, १० बोरा दाल, खाना पकाउन प्रयोग गरिने सम्पूर्ण भाँडाकुँडा, २५० जोर सिरक डसना, ५० जार पानी, ३५ अक्सिजन सिलिन्डर, मिनरल वाटरका कार्टुन, तीन सय थान त्रिपाल, १० वटा ग्यास सिलिन्डर, चार बोरा तरकारी, ल्यापटप, १० थान मोबाइल, मोटरसाइकलका हेल्मेट, झोलाहरू, लगाउने कपडा, संस्थाका सम्पूर्ण कागजात र पैसासमेत जफत गरेको छ ।

टहरा भत्काएर सबै सामान लिएर गए पनि टिम नेपाललाई यसबारे कुनै जानकारी नदिएको अध्यक्ष विमल पन्तले बताए । ‘हामीलाई महामारीमा जिम र पार्क बनाएर भुँडी घटाउनेभन्दा पनि खान नपाएर मर्न लागेकाहरूको पेट भर्न महत्वपूर्ण छ जस्तो लागेको थियो । आफ्नो स्वार्थभन्दा माथि उठेर दैनिक तीन सयजनालाई खाना खुवाउनु अपराध भयो । जफत गरिएको सामान हाम्रो होइन, विपद्मा परेका आमनागिरकको हो । प्रहरीले बलजफ्ती हामीलाई पक्राउ गरेर लाँदा सामान सार्न सूचनासमेत दिएन, साह्रै दु:ख लागेको छ,’ उनले भने ।

‘सडकमा खाना खाने लाइन मेयरको ‘स्मार्ट सिटी’अन्तर्गत पर्दैन’
पहिलो चरणको लकडाउनमा टुँडिखेलमा खान नपाएर सडकमा आएका मजदुरलाई खाना खुवाउँदा सरकारको बेइज्जत भएको भन्दै महानगरले मजदुरलाई ट्रकमा हालेर थापाथलस्थित प्रसूतिगृहको पछाडिको चौरमा पु¥याएको थियो । हाम्रो टिम नेपालले सदस्यहरूबाट लेबी उठाएर सडकमा आइपुगेका मजदुरहरूलाई खाना खुवाउन थालेपछि देशविदेशबाट उठेको सहयोगले दैनिक तीन सयसम्मलाई खाना खुवाउँदै आएको थियो । खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको थियो ।

काठमाडौं महानगरले भोका मजदुरलाई नि:शुल्क खाना खुवाउने कार्यक्रमलाई अनेक तरिकाले हस्तक्षेप गर्दै आएको पन्त बताउँछन् । ‘सडकमा खानाका लागि थाल थाप्दै आएका मजदुरको लाइन मेयरको स्मार्ट सिटीभित्र पर्दैन । बिग्रेका सामानहरूको स्टोर, मोटर पार्किङ र स्थानीय युवाहरूको ड्रग्स लिने ठाउँलाई हामीले भोको पेट भर्न मन्दिर बनाउन खोजेका थियौँ, महानगरलाई तत्काल पार्क बनाउनुपर्ने भयो,’ उनले भने, ‘जबर्जस्ती कब्जा गर्न खोजिएको भन्ने भाषा प्रयोग भएको छ, सार्वजनिक जग्गा मेयरको मात्रै त होइन होला नि ? हामीले सम्झौताअनुसार सार्छौं भनिरहेका थियौँ, मानवता नै हराइसकेपछि सडकमा भोकले मर्न लागेका मजदुरहरूको कुनै मूल्य हुँदैन ।’ 

खाना पकाउने भाँडा नहुँदा मजदुरलाई दहीचिउरा 

दैनिक नि:शुल्क खाना दिने हाम्रो टिम नेपालका स्वयंसेवी आउन ढिला गरेपछि मंगलबार केही मजदुर हिँड्दै अनामनगरसम्म पुगेर उनीहरूलाई खोज्दै थिए । साोमबार हाम्रो टिम नेपालका अभियन्तालाई प्रहरीले पक्राउ गरेर लगेपछि मंगलबार मजदुरलाई खाना पुर्‍याउन ढिला भएको थियो । कोरोना महामारीका कारण ०७६ चैतमा लकडाउन सुरु भएदेखि नै हाम्रो टिम नेपालले दैनिक तीनदेखि पाँच सय व्यक्तिलाई खाना खुवाउँदै आएको छ ।

खासगरी काम गरेर खान नसक्ने, मानसिक रोगी, वृद्ध, बालबालिकाहरूले अघिल्लो वर्षदेखि सडकमा नियमित खाना खाइरहेका छन् । तर, महानगरले सबै सामान जफत गरेपछि मजदुरलाई कसरी खाना खुवाउने भन्ने समस्या आइपरेको अभियन्ता सपना रोक्का मगर बताउँछिन् । ‘ठूलै अपराध गरेजसरी प्रहरीले दमन गरेर पछारेर लग्दा जति दुखेको छ, त्योभन्दा पनि खानाका लागि कुरिरहेका वृद्धवृद्धा र बालबालिकाहरूलाई भोलि कसरी खुवाउने भनेर पोलेको छ । महानगरले हामीले अहिलेसम्म सामान जफत गरेको सूचनासमेत दिएको छैन । दुःखमा परेकाहरूलाई सहायताका लागि सडकमा आएका युवालाई सरकारको यस्तो कार्यले निरुत्साहित बनाएको छ,’ उनले भनिन् । सडकमा खाना कुरिरहेका मजदुरलाई बुधबारदेखि चिउरा र दालमोठ भए पनि खान दिने हाम्रो टिम नेपालले जनाएको छ ।

हाम्रो टिम नेपालले उपत्यकामा मजदुरलाई खाना बाँड्ने कामसँगै देशभर विपद्मा परेका हरेक नागरिकलाई सहयोग गर्दै आएको छ । टिम नेपालले लकडाउनमा मात्रै ३४ वटा जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै पाँच हजारभन्दा बढीलाई खाद्यान्न राहत दिएको छ । बाढीपहिरोका कारण घरबारविहीन भएका मेलम्चीवासीलाई स्वास्थ्य सामग्री, खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।

यसबाहेक खान नपाएका, उपचार नपाएका, शैक्षिक सामग्रीको अभावका कारण पढ्न नपाएकादेखि लिएर बाढीपहिरो, आगलागीजस्ता विपद्मा पनि हाम्रो टिम नेपालले सहयोग पुर्‍याउँदै आएको अध्यक्ष पन्तले बताए । विपद्को समयमा सरकारी पक्षबाट सहयोग गर्नुको साटो भोको पेटमा लात हान्ने प्रवृत्ति बढेको उनको गुनासो छ । ‘महानगरको ज्यादतीलाई धन्यवाद भन्न चाहन्छौँ । तपाईंको पावरका कारण सयौँको गाँस र वास खोसिएको छ । हामीलाई सरकारबाट भएको यो अमानवीय व्यवहारले विपद्मा सहयोग पुर्‍याउन थप प्रोत्साहन गरेको छ,’ उनले भने ।