![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/swiden2021-06-24-09-46-13.jpeg)
समूहगत चरणको अन्तिम खेलमा पोल्यान्डलाई पराजित गर्दै स्विडेन विजेता बनेको छ । यस्तै, स्लोभाकियालाई ५–० ले पराजित गरेको स्पेन समूह ईको उपविजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ, पराजित दुवै टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
स्विडेनले समूह विजेता टोलीको हैसियतमा युरोकप २०२० अन्तर्गत प्रिक्वार्टरफाइनल चरणको प्रतिस्पर्धा सुरु गर्ने भएको छ । यसअघि नै अन्तिम १६ को यात्रा तय गरिसकेको स्विडेन बुधबार राति भएको खेलमा पोल्यान्डलाई ३–२ गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो ।
यस्तै, बुधबार एकै समय भएको अर्काे खेलमा स्लोभाकियालाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै स्पेनले समूह ईको उपविजेताका रूपमा प्रतियोगिताको नकआउट चरणको यात्रा निश्चित गरेको छ । स्पेनलाई समूहगत चरण पार गर्नका लागि स्लोभाकियाविरुद्ध कुनै पनि अवस्थामा जित आवश्यक थियो । स्पेन यो खेलमा आफूलाई आवश्यक नतिजा निकाल्न सफल भएको हो ।
स्विडेन र स्पेनसँगको पराजयपछि पोल्यान्ड र स्लोभाकिया भने प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएका छन् । पछिल्लो नतिजाबाट यी दुवै टोलीले समूहको तेस्रो स्थानमा रहेको टोलीमध्ये शीर्ष चारभित्र पर्दै दोस्रो चरण पार गर्ने अवसर पनि गुमाएका हुन् ।
आयोजक युरोपेली फुटबल महासंघ (युइएफए)का अनुसार सबै समूहको तेस्रो स्थानमा रहेका ६ टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा स्थान पाउनेछन् ।
बुधबारको खेलमा जित हात पारेको अवस्थामा भने यी दुवै टोलीसामु प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्ने अवसर हुने थियो । यद्यपि, दुवै टोली त्यसमा असफल भएका छन् । रुसको सेन्ट पिटर्सबर्गमा भिक्टोर क्लाइसनले खेलको ९३औँ मिनेटमा निर्णायक गोल गर्दै स्विडेनको जित निश्चित गरेका हुन् ।
खेल २–२ गोलको बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इमिल फोर्सबर्गको स्थानमा खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गरेका क्लाइसनले टोलीका लागि निर्णायक गोल गरेका हुन् । त्यसअघि फोर्सबर्गकै दुई गोलको मद्दतमा स्विडेनले अग्रता बनाएको थियो ।
फोर्सबर्गले खेल सुरु भएको ८० सेकेन्डमै पहिलो गोल गर्दै स्विडेनलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा उनले अर्को गोल गरे । प्रतियोगितामा यो उनको तेस्रो गोल हो ।
तर, पोल्यान्डलाई कप्तान रोबर्ट लेवान्दोस्कीले लगत्तै २–२ गोलको बराबरीमा फर्काएका थिए । लेवान्दोस्कीले खेलको ६१औँ र ८४औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए । त्यसवेलासम्म पोल्यान्डको आशा जीवित देखिएको थियो । तर, खेल सकिनैलाग्दा अर्काे गोल व्यहोर्न पुगेपछि भने पोल्यान्डको यात्रा पनि समूहगत चरणमै रोकिन पुग्यो ।
यो खेलमा स्विडेनलाई पराजित गर्न सकेको भए र अर्काे खेलमा स्पेन र स्लोभाकियाबिचको खेल बराबरीमै टुङ्गिएको भए पोल्यान्डको अघिल्लो चरण पुग्ने सम्भावना रहन्थ्यो । यद्यपि, पोल्यान्डका लागि त्यो समीकरण प्राप्त भएन ।
पोल्यान्डको अर्काे दुखद अन्त्य
पोल्यान्डको फुटबल संघले यसै प्रतियोगितालाई मध्यनजर गर्दै गत जनवरीमा आफ्नो मुख्य प्रशिक्षक परिवर्तन गरेको थियो । पोल्याण्डले जेर्जी ब्रेक्जेकलाई हटाएर उनको स्थानमा पोर्चुगिज पउलो सोउसालाई भित्र्याएको थियो । त्यसवेला संघले पोल्यान्डको टोलीलाई आक्रामक फुटबल खेलाउने र आफ्ना मुख्य स्ट्राइकर रोबर्ट लेवान्दोस्कीबाट धेरैभन्दा धेरै फाइदा लिने जिम्मेवारीसहित सोउसालाई भित्र्याएको जनाएको थियो ।
गत २०२०–२१ को सिजन ३२ वर्षीय लेवान्दोस्कीले बुन्डेस लिगामा बायर्न म्युनिखका लागि ४१ गोल गरे । यद्यपि, जारी युरोकपबाट भने उनी मात्रै तीन गोल गरेर बाहिरिएका छन् । उनले आफ्नो गोल संख्या चार पुर्याउन पनि सक्थे । तर, खेलको १७औँ मिनेटमा एउटा सुनौलो अवसरमा उनी चुके ।
उनले हेडिङ गरेको बल बारमा लागेर फेरि उनीसामु नै आइपुगेको थियो । लगभग खाली पोस्टअघि पाएको रिबाउन्ड बलमा उनको प्रहार फेरि बारमा लाग्न पुगेको थियो । खेलको अन्त्यतिर पोल्यान्डले थप स्ट्राइकरलाई मैदानमा पठाएर स्विडेनविरुद्ध गोल निकाल्ने प्रयास गरेको थियो । यद्यपि, मार्कस डानिइल्सन र भिक्टोर लिन्डलोफले धानेको स्विडेनको रक्षापंक्ति निक्कै बलियो देखियो । समग्रमा टोलीका लागि युरोकप २०२० को यो अन्त्य दुखद बनेको छ ।
स्लोभाकियामाथि स्पेनको सानदार जित
घरेलु मैदान सेभिल्लामा बुधबार राति स्पेनले समूह ईमा स्लोभाकियामाथि ५–० को सानदार जित निकालेको छ । प्रिक्वार्टरफाइनलमा समूह विजेता वा उपविजेताका रूपमा पुग्न स्पेनलाई जित आवश्यक थियो । बराबरी नतिजाले स्पेनको अन्तिम १६ यात्रामा धक्का लाग्न सक्थ्यो । स्पेन र स्लोभाकियाबीचको प्रतिस्पर्धामा नाटकीय परिवर्तन देखियो ।
स्लोभाकियाका डुब्राभ्का पेनाल्टी छेक्ने र आत्मघाती गोल गर्ने युरोकपकै पहिलो गोलरक्षक बनेका छन् । स्लोभाकियाका गोलरक्षकबाहेक काक्कुले पनि आत्मघाती गोल गरे । पोर्चुगल र जर्मनीपछि एकै खेलमा दुई आत्मघाती गोल भएको यो तेस्रो खेल हो । चालू युरोकपमा अहिलेसम्म आठ आत्मघाती गोल भएका छन् ।
खेलको २४औँ मिनेटमा भिआरको सहयोगमा स्पेनले पेनाल्टी प्रहार गर्न अवसर पाएको थियो । मोराटाले प्रहार गरेको पेनाल्टीलाई स्लोभेकियाका गोलरक्षक डुब्राभ्काले दायाँ साइडमा डाइभ गर्दै टोलीलाई गोल खानबाट बचाए । उत्कृष्ट पेनाल्टी बचाएका डुबाभ्काकै गल्तीमा पछि स्पेनले खेलमा अग्रता लियो । स्पेनका खेलाडीले पछिल्लो पाँच अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पेनाल्टी मिस गरेका छन् ।
मोराटा, मोरेनो, रुइजले एक–एकपटक अन्तर्राष्ट्रिय खेलमा पेनाल्टी गोल चुकाए । सर्जियो रामोसले दुईपटक पेनाल्टीमा गोल गर्न सकेनन् । यद्यपि, पेनाल्टी मिस भए पनि स्पेनिस युवा खेलाडीले बल पोसेसन तथा आक्रामक रणनीतिलाई यथावत् नै राखे । पछिल्लो दुई खेलको तुलनामा स्पेनले स्लोभाकियाविरुद्ध आक्रामक रणनीति अपनाएको थियो । खेलको ३०औँ मिनेटमा स्लोभाकियाका गोलरक्षक डुब्राभ्काको आत्मघाती गोलसँगै स्पेन १–० ले अगाडि बढ्यो ।
मोराटाले डिबक्स बाहिरबाट सशक्त प्रहार गरेको बल क्रस बारमा लागेको थियो । क्रसबार लागेर अकासिएको बललाई क्लियर गर्ने क्रममा इंग्लिस प्रिमियर लिग न्युकास्टलका गोलरक्षकसमेत रहेका डुब्राभ्काले आफ्नै पोस्टमा बल छिराउँदा स्पेन अगाडि बढेको हो ।
स्लोभाकियाका गोलरक्षकले आत्मघाती गोल गरेपछि उनी एकाएक हिरोबाट जिरोमा झर्न पुगे । खेलको पहिलो इन्जुरी समयको तेस्रो मिनेटमा लापोर्टेले हेडिङ गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए । गेराड मोरेनोेले बायाँ साइडबाट निकालेको पासमा लापोर्टेले गोलपोस्ट भन्दा ६ यार्ड बक्सबाटै दोस्रो बार कुना च्याप्दै हेडिङ गोल गरेका हुन् । गोलरक्षक डुब्राभ्काले छेक्ने कोसिस गरे पनि सकेनन् ।
पहिलो हाफमा स्पेनले थप गोल अवसर गुमाएको थियो । तर, स्लोभाकियाका गोलरक्षककै कारण स्पेन मध्यान्तरसम्म २–० ले मात्रै अघि रह्यो । मध्यान्तरपछि स्पेनले थप तीन गोल गर्न सफल भयो । स्लोभाकियाका खेलाडी दोस्रो हाफमा राम्रोसँग सम्हालिन नपाउँदै स्पेनले खेलको ५५औँ मिनेटमा ३–० को अग्रता बनायो । पाब्लो सरावियाले सानो डिबक्सभित्र बायाँ खुट्टाले गोल गरे ।
यसअघि उनलाई पोस्टाको बायाँ साइडबाट लाबट्काले गोलका लागि पास उपलब्ध गराएका थिए । सरावियाको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । लगातार गोल बेहोरेको स्लोभाकियाका डिफेन्डर र गोलरक्षक नर्भसझैँ देखिए । स्पेनिस खेलाडीहरू यसैको फाइदा लिँदै निरन्तर रूपमा पोस्ट चार्ज गरिरहे । खेलको ६६औँ मिनेटमा स्पेनले अर्को सफलता पायो ।
यसपटक विस्थापन खेलाडी फेरान टोरेसले स्पेनलाई ४–० को अग्रता दिलाए । टोरेसले गोल गर्नुअघि स्पेनिस खेलाडीले दायाँ कर्नर साइडमा चलाखीपूर्ण बल चलाएका थिए । स्ट्राइकर सरावियाले बल अगाडि बढाउँदै सानो डिबक्समा टोरेसलाई पास दिए । पूरै अनमार्कमै रहेका टोरेसले बायाँ खुट्टाले वान टचमै गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । उनी केवल १९ वर्षीय छन् ।
खेलको ७१औँ मिनेटमा अर्को एक आत्मघाती गोल भयो । स्पेनिस खेलाडी टोरेसको गोल प्रयासलाई ‘माइन्स क्रसिङ’ गर्ने क्रममा स्लोभेकियाका डिफेन्डर कुक्काले आत्मघाती गोल गर्दा स्पेन ५–० ले अगाडि बढ्यो । सरावियाको पासमा टोरेसले हेडिङ गोल प्रयास गरेका थिए ।
खेलमा स्पेनले ६६ र स्लोभाकियाले ३३ प्रतिशत बल पोसेसन बनाएको थियो । स्पेनिस खेलाडीले १९ पटक गोल प्रयास गरेका थिए । यसविपरीत स्लोभाकियाबाट तीनपटक मात्र गोल प्रयास भयो । पूरै दबाबमा रहेको स्लोभाकियाले एकपटक पनि कर्नर प्रहार गर्न सकेन । स्पेनले स्लोभाकियाको पोस्टमा सातपटक कर्नर प्रहार गर्यो ।