
गण्डकी प्रदेशकामा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तका लागि भन्दै चार दल आफ्ना सांसदसहित प्रदेश प्रमुखकहाँ गएका छन् ।
६० सदस्य प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसद छन् ।
नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । कांग्रेसका १५, माओवादी ११, जनमोर्चाका दुई, जसपाका दुई र एक स्वतन्त्र गरी ३१ सांसदको हस्ताक्षरसहित कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । हाल दलका नेता र प्रदेश प्रमुखबीच छलफल भइरहेको छ ।
प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव गरेका थिए । विश्वासको मत लिन असफल भएसँगै उनी स्वतः पदमुक्त भएका थिए । शुक्रबार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २९ जेठ दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाका सदस्यहरूलाई आह्वान गरेकी हुन् ।