मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २५ मंगलबार १८:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवा नेतासँगको भेटमा देउवाले भने– महाधिवेशनका लागि समय थप्ने सुविधा छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २५ मंगलबार १८:२५:००

कांग्रेस सभापति शेरबहादुर देउवाले भदौभित्रै पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा आपूm प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवानिवास बूढानीलकण्ठमा पुगेका युवा नेताहरूसँग देउवाले यस्तो बताएका हुन् । ‘हामीलाई अरू समय थप्ने सुविधा छैन । त्यसैले यही मितिभित्र गर्नुपर्नेछ । तर, कोरोनाको प्रकोपका कारण अप्ठ्यारो छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले नयाँ पत्रिकासँग भने । 

सभापति देउवाले महाधिवेशनका विषयमा केही दिनभित्रै पदाधिकारी बैठक बोलाएर छलफल गर्ने बताएका छन् । पार्टीको महाधिवेशन र अन्य राजनीतिक विषयमा छलफलका लागि कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेललगायत नेताहरू मंगलबार बिहान ९ बजे देउवानिवासमा पुगेका थिए । 

सो क्रममा करिब एक घन्टा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हामीले आपूmलाई लागेका कुराहरू सुनायौँ, सुझायौँ । सभापतिज्यूले त्यति कुराकानी, छलफल गर्नै चाहनुभएन । उहाँले धेरै बोल्नुभएन,’ छलफलमा सहभागी एक नेताले भने । 
युवा नेताहरूले पार्टीको महाधिवेशन साझा दायित्व भएको भन्दै पार्टीमा छलफल गरेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न र महामारीका बीच महाधिवेशन गर्ने वैकल्पिक उपायबारे छलफल गर्न आग्रह गरेका छन् । नेताहरूले क्रियाशील सदस्यता छानबिन समितिलाईसमेत सक्रिय बनाउन भनेका छन् । 

कांग्रेसले यसपटक अनलाइनमार्फत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको विवरण संकलन गरेको छ । अहिलेसम्म आठ लाखभन्दा बढी सदस्यको विवरण प्राप्त भएको छ । समितिले अन्तिमपटक मौकास्वरूप जिल्ला र क्षेत्रीय समितिहरूलाई मंगलबार राति १२ बजेभित्र क्रियाशील सदस्यताको विवरण अपडेट गरिसक्ने म्याद दिएको छ । 
तर, प्राप्त विवरणमाथि छानबिनको काम सुरु भएको छैन । जबकि क्रियाशीलको विवादकै कारण पार्टीको महाधिवेशन प्रभावित हुँदै आएको छ । यसअघि १३औँ महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको छानबिन समितिले साढे चार लाख सदस्यता छानबिनका लागि ६ महिना लगाए पनि बढी विवाद रहेका ५० हजार सदस्यता १४औँ महाधिवेशनका लागि थाती राखेको थियो । 

यसपटक त्यसको करिब दोब्बर क्रियाशील सदस्य छन्, तर त्यसमाथि छानविनका लागि समय छैन । अहिलेको रमेश लेखक नेतृत्वको छानबिन समितिले क्रियाशील छानबिनका लागि थोरैमा पनि एक महिना लाग्ने अनुमान गरिरहेको छ । यसअघि निर्धारित कार्यतालिकाअनुसार १७ जेठभित्र छानबिन समितिले क्रियाशील छानबिन गरी केन्द्रीय समितिलाई बुझाइसक्नुपर्ने थियो । 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशनको मिति आउन अब १० दिन मात्रै बाँकी छ । ५ असारमा वडा र ७ असारमा पालिकास्तरको अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । यो मितिमा अब महाधिवेशन नहुने निश्चित भइसकेको छ । 

सभापति देउवासमक्ष युवा नेताहरूले वडा र स्थानीय तहस्तरको अधिवेशनको मितिलाई परिमार्जन गरेर महामारीकै बीचमा भए पनि वैकल्पिक उपायमार्फत पार्टीको जीवनलाई जीवन्त राख्नुपर्ने सुझाब राखेका छन् । ‘राष्ट्रिय महाधिवेशनका लागि केही समस्या हुन सक्छ, त्यसका लागि वैकिल्पक माध्यमबारे छलफल गर्नुपर्ने हो । नभए तल्ला तहको अधिवेशनका लागि ठूलो समस्या देखिँदैन । थोरै–थोरै सख्ंयामा जम्मा भएर महाधिवेशन गर्न सकिन्छ भन्ने कुराहरू राख्यौँ,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’ नेता परियारले केन्द्रीय महाधिवेशनलाई जिल्लाबाटै मतदान गर्ने व्यवस्था गर्न सकिने वा अन्य विकल्पबारे छलफल गर्नुपर्ने बताएका छन् । ‘महाधिवेशन पार्टीको साझा दायित्व हो, यो वा त्यो गुट वा नेताले काम गरेन भन्ने आधारमा महाधिवेशनलाई छल्नु हँुदैन,’ उनले भने । 

मंगलबारबाट क्रियाशीलको विवरण अपडेट गर्ने काम सकिएपछि त्यसैका आधारमा छानबिन समितिको बैठक बसेर एउटा निर्णयमा पुग्नुपर्ने उनले बताए । कांग्रेसले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने गरी तल्ला तहको अधिवेशन तोकेको छ ।