मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २० बिहीबार ०७:२१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चीनबाट खोप, फ्रान्स र युएईबाट स्वास्थ्य सामग्री आइपुग्योे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २० बिहीबार ०७:२१:००

चीनले घोषणा गरेअनुसार १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । मंगलबार नौ लाख आठ सय डोज खोप आएको थियो । बुधबार ९९ हजार दुई सय डोज खोप आइपुगेको हो ।

आठ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको उडानमार्फत र बाँकी खोप तीन चरणमा कुन्मिङबाट हिमालय एयरलाइन्सबाट काठमाडौं ल्याइएको हो । बुधबार तिब्बत सरकारले पठाएको खोप आइपुगेको हो, जसको ढुवानी खर्चसमेत तिब्बत सरकारले नै व्यहोरेको छ ।

कोभिडविरुद्धको महामारीमा नेपाललाई सहयोगका लागि फ्रान्स र युनाइटेड अरब इमिरेट्स (युएई)बाट भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री बुधबार आइपुगेका छन् । फ्रान्सले पठाएको १४ वटा रेस्पिरेटर (भेन्टिलेटर), पाँच लाख चार हजार एफएफपिटी मास्क, २० हजार दुई सय २५ एन्टिजेन टेस्ट किट, १२ हजार चस्मालगायतका सामग्री आइपुगेको छ । 

नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोसिस जेभियर लेजरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । फ्रान्सले आफ्नो सरकारका तर्फबाट तथा युरोपियन युनियनको सिभिल प्रोटेक्सन मेकानिज्मलगायतबाट संकलित सामान पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै, बुधबार नै विशेष विमानबाट युएई सरकारले पठाएको एक सय ५० थान भेन्टिलेटर, ट्रली, मास्कसहित १२ टन स्वास्थ्य सामग्री आइपुगेको छ । युएई दूतावासका उपनियोग प्रमुखले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई सामग्री हस्तान्तरण गरेका छन् ।