१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ १६ आइतबार ०९:३८:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय सगरमाथा दिवस : सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा  बनेका सात अनौठा कीर्तिमान

Read Time : > 3 मिनेट
२०७८ जेठ १६ आइतबार ०९:३८:००

नेपालले २९ मे २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरेको हो । यसपटक पनि नेपाल पर्वतारोहण संघ (एनएमए)लगायत संघसंस्थाले भर्चुअल रूपमै भए पनि सगरमाथा दिवस मनाएका छन् ।

नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । 

नेपालले त्यही दिन (२९ मे) लाई सन् २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउन सुरु गरेको हो । यसपटक पनि नेपाल पर्वतारोहण संघ (एनएमए)लगायत संघसंस्थाले भर्चुअल रूपमै भए पनि सगरमाथा दिवस मनाएका छन् ।

विश्वमै सबैभन्दा धेरै आठ हजार मिटरभन्दा अग्ला हिमाल रहेको नेपालका लागि सगरमाथा दिवस धेरै दृष्टिकोणबाट महŒवपूर्ण छ । यो प्रकृतिले दिएको अमूल्य उपहारको हर्साेल्लास मात्रै हैन, यसको प्रचारले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख थप उँचो बन्नेछ । यसले पर्वतारोहणमा रुचि राख्ने विश्वका साहसी पर्यटकहरूलाई नेपाल भिœयाउन पनि मद्दत पुग्नेछ ।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलोपटक आरोहण गरेपछिको ६८ वर्षमा सगरमाथाको नियमित आरोहण हुँदै आइरहेको छ । अहिले सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटरले अग्लिएको छ । नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।

सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलोपटक सफल आरोहण गरी कीर्तिमान कायम गर्दा त्यसपछिका धेरै आरोहीले फरक खालका कीर्तिमान कायम गरेका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा हामीले सगरमाथा आरोहणमा बनेका केही फरक कीर्तिमानलाई प्रस्तुत गरेका छौँ :

१. सगरमाथाको चुचुरोमा विवाह : पेम दोर्जी शेर्पा र मोनी मुलेपती, नेपाली

पेम दोर्जी शेर्पा र मोनी मुलेपतीले ३० मे २००५ मा सगरमाथाको सफल आरोहण मात्रै गरेनन्, त्यही वेला चुचुरोमै विवाह पनि गरे । त्यससँगै शेर्पा र मुलेपती विश्वकै सबैभन्दा अग्लो ठाउँमा विवाह गर्ने जोडी बन्यो ।

उनीहरूको यो विवाह अन्तरजातीय हो । उनीहरूको ऐतिहासिक विवाह हेर्ने र तस्बिर खिच्ने व्यक्ति कामी शेर्पा थिए, जो उनीहरूसँगै त्यहाँ पुगेका थिए । 

२. सर्वाधिक छिटो आरोहण : लाक्पा गेलु शेर्पा, १० घन्टा ५६ मिनेट ४६ सेकेन्ड, नेपाली
सबैभन्दा छिटो सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमान सोलुखुम्बु जुबिङका लाक्पा गेलु शेर्पाको नाममा छ । उनले २६ मे २००३ मा यो कीर्तिमान कायम गरेका हुन् । उनले मात्रै १० घन्टा ५६ मिनेट ४६ सेकेन्डमा सगरमाथाको सफल आरोहण गरेका थिए । साँझ ५ बजे आरोहण सुरु गरेका लाक्पा त्यसकै बिहान ३ः५६ः४६ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । उनी त्यही दिन बिहान ११ः२० बजे बेस क्याम्प आइपुगेका थिए । उनी १८ घन्टा २० मिनेटमा आरोहण सम्पन्न गरी पुनः बेस क्याम्पमा फर्किसकेका थिए । 

३. सार्वाधिक वृद्ध आरोही : युचिरो मिउरा, जापानी, ८० वर्ष
युचिरो मिउरा जापानी आरोही हुन् । उनको नाममा विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने वृद्ध व्यक्तिको कीर्तिमान छ । युचिरोले सन् २०१३ मा ८० वर्ष दुई सय २४ दिनको उमेरमा सगरमाथाको सफल आरोहण गर्दै यो कीर्तिमान कायम गरेका हुन् । अन्य कुनै पनि व्यक्तिले उनको उमेरमा सगरमाथाको आरोहण गर्न सकेका छैनन् । युचिरोले सन् २००३ मै ७० वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी यो कीर्तिमान कायम गरेका थिए । त्यसको १० वर्षपछि उनले आफ्नै कीर्तिमानमा सुधार गरेका हुन् । नेपाली नागरिक मीनबहादुर शेरचनले पनि सन् २००८ मा ७६ वर्ष तीन सय ४० दिनको उमेरमा सगरमाथाको सफल आरोहण गरेका छन् । उनी यो कीर्तिमानमा दोस्रो स्थानमा छन् । शेरचनको आरोहणकै क्रममा सन् २०१७ मा सगरमाथा आधारशिविरमा मृत्यु भएको हो ।

४. कान्छो आरोही : जोर्डन रोमेरो, अमेरिका, १३ वर्ष १० महिना १० दिन
अमेरिकी नागरिक जोर्डन सगरमाथाका कान्छो आरोही हुन् । उनले २२ मे २०१० मा आफू १३ वर्ष १० महिना १० दिनको उमेरमा सगरमाथाको सफल आरोहण गर्दै यो कीर्तिमान कायम गरेका हुन् । उनीपछि भारतकी महिला आरोही मलाभाथ पुर्नले २५ मे २०१४ मा १३ वर्ष १० महिना १५ दिनको उमेरमा सगरमाथाको सफल आरोहण गरेकी छन् । मलाभाथ मात्रै पाँच दिनले जोर्डनको कीर्तिमान तोड्नबाट चुकिन् । यद्यपि, उनको नाममा महिलातर्फ सर्वाधिक कम उमेरमा सगरमाथाको सफल आरोहण गर्ने आरोहीको कीर्तिमान कायम छ ।

५. अपांगता भएका व्यक्तिद्वारा पहिलो आरोहण : टोम ह्वाइटटेकर, अमेरिकी, २७ मे १९९८
अमेरिकी टोम ह्वाइटटेकर अपांगता भएर पनि सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्ति हुन् । उनी एउटा खुट्टाको भरमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ह्वाइटटेकर सन् १९७९ मा एउटा ठूलो दुर्घटनामा परेका थिए । सोही कारण उनको दाहिने खुट्टा काट्नुपरेको थियो । त्यसका बाबजुद उनले आरोहण प्रयास जारी राखे । उनले सन् १९९५ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । यद्यपि, सफल भएनन् । २७ मे १९९८ मा भने उनको प्रयासले सफलता प्राप्त ग¥यो । त्यससँगै उनी सगरमाथा पुग्ने अपांगता भएको पहिलो व्यक्ति बने । 

६. चुचुरोमा सर्वाधिक लामो समय बिताउने : बाबुछिरी शेर्पा, २१ घन्टा
नेपाली आरोही बाबुछिरी शेर्पाले सगरमाथा आरोहणमा फरक खालको कीर्तिमान कायम गरेका छन् । उनले सगरमाथाको चुचुरोमा सर्वाधिक लामो समय बिताएर फरक खालको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । उनले सन् १९९९ मा अक्सिजन सप्लिमेन्ट विना सगरमाथाको चुचुरोमा २१ घन्टा बिताएका थिए । यो उचाइमा अहिलेसम्म कसैले पनि यतिको समय बिताउन सकेका छैनन् ।

७. सर्वाधिक आरोहण : कामीरिता शेर्पा, नेपाली, २५औँ पटक

सोलुखुम्बुका कामीरिता शेर्पा सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोही हुन् । उनले हालसम्म सगरमाथाको २५औँ पटक सफल आरोहण गरेका छन् । उनले सगरमाथाको २५औँ आरोहण यसै महिनाको सुरुवातमा गरेका हुन् । त्यसलगत्तै २६औँपटक आरोहणको प्रयास गरेका कामीरिता खराब मौसमका कारण यसै साता काठमाडौं फर्किएका छन् ।

उनले मे २०१८ देखि एकल रूपमा यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । सन् २०१७ सम्म कामीरिता सगरमाथाको सर्वाधिक आरोहण गर्ने तीनमध्येका एक व्यक्ति थिए । कामीरितासँगै आप्पा शेर्पा र फुर्बा टासी शेर्पाले समान २१ पटक आरोहण गरेका थिए ।

यद्यपि, त्यसपछि आप्पा र फुर्बाले आरोहणबाट सन्न्यास लिए । त्यसपछि पनि कामीरिता भने निरन्तर आरोहण गर्दै आइरहेका छन् ।