मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
विजयराज खनाल काठमाडौं
२०७८ जेठ १३ बिहीबार ०९:३२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

३ हजार बैंकर कोभिड संक्रमित, ५० हजारभन्दा कम नगद बैंकले नलिने व्यवस्था नहट्ने  

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७८ जेठ १३ बिहीबार ०९:३२:००

विद्युतीय भुक्तानीको शुल्क घटाउन सर्वसाधारणको माग 

बैंकहरूले ५० हजारभन्दा कम निक्षेप नलिने निर्णयलाई निरन्तरता दिने भएको छ । केही दिनअघि नेपाल बैंकर्स एसोसिएसनले सूचना निकाल्दै निषेधाज्ञा अवधिभर ५० हजारभन्दा कमको निक्षेप नगदमा स्वीकार नगर्ने उल्लेख गरेको थियो । कतिपयले यस्तो निर्णयको विरोध गर्दै बैंक धनीहरूको मात्रै भएको आरोप लगाएका छन् । ‘बैंकमा जम्मा गरिएको रकम सकियो र जम्मा गर्न पाइएन भने अनलाइन कारोबारसमेत ठप्प हुन्छ,’ विराटनगरका स्वयम्भुनाथ कार्की भन्छन्, ‘फेरि नगदबाटै कारोबार गर्नुपर्छ, यसले झन् संक्रमणको जोखिम बढाउँछ, यो मूर्खतापूर्ण निर्णय हो ।’

तर, बैंकमा अनावश्यक भिडभाड कम गर्न यस्तो व्यवस्था गर्नुपरेको बैंकरहरूको भनाइ छ । ‘कोरोनाले जसरी धनी र गरिब छुट्याउँदैन त्यसरी नै बैंकले पनि छुट्याएको होइन,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘अहिले चोरीको डर पनि कम छ, ५० हजार रुपैयाँ केही समय घरमै राख्दा पनि समस्या हुँदैन, त्योभन्दा बढी रकम बैंकमा आएर जम्मा गर्न मिलिहाल्छ ।’ 

कतिपय व्यक्तिहरू घरमा बस्दाबस्दै दिक्क मानेरसमेत बैंक आउने गरेको पाइएपछि राष्ट्र बैंकसँग सल्लाह गरेर यस्तो निर्णय लिएको उनले बताए । ‘केही ग्राहकहरू एक हजार पाँच सय रुपैयाँ जम्मा गर्नसमेत बैंक आउन थाले,’ शाहले थपे, ‘कतिपय बैंक स्टेट्मेन्टका लागि समेत भिड गर्न आएको देखिएपछि यस्तो गर्नुपरेको हो ।’ तर, मोबाइल वालेटलगायतबाट रकम पठाउँदा अधिक शुल्क लिइरहेकाले समेत नगद नै बोकेर जम्मा गर्न आउनुपरेको सर्वसाधारणको गुनासो छ । प्रविधिले सेवालाई सहज र सरल बनाउनुपर्नेमा नेपालमा भने झनै महँगो भइरहेको काठमाडांैका विजय अधिकारीको गुनासो गरेका हुन् । उनले भने ‘स्ट्यान्डर्ड चार्टर्ड बैंकले पाँच हजार रकम मोबाइलबाट ट्रान्सफर गर्दा ५० रुपैयाँसम्म लिने गरेको छ ।’ त्यस्तै, नेपाल एसबिआइ बैंकले अर्को बैंकको एटिएम कार्डबाट ३ हजार निकाल्दा ३ सय ४५ रुपैयाँसम्म काटेको भन्दै उनले आलोचना गरेका छन् । 

भारतमा एक्सिसलगायतका बैंकले प्रतिमहिना २० वटासम्मको डिजिटल करोबार निःशुल्क गरेको छ । मासिक २० वटा कारोबारपछि हजार रुपैयाँभन्दा कममा भारु डिजिटल कारोबार गर्दा २ रुपैयाँ ५० पैसा र एक हजारमाथिको रकममा ५ रुपैयाँ लिने गरेको छ । यद्यपि, त्यहाँ पनि सरकारीस्तरकै एसबिआई बैंक भारतले प्रतिकारोबार १७ भारुभन्दा बढी लिइरहेको र वार्षिक करिब एक अर्ब हाराहारी उठाएको भन्दै आलोचना भएको थियो । 

बैंकरहरूले कारोबारको क्रममा क्युआर कोड प्रयोग गर्न सकिने र यो निःशुल्क रहेको बताएका छन् भने अन्य विद्युतीय कारोबारको शुल्क घटाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए । बैंकहरूले मुद्दती निक्षेपको नवीकरण गर्नुपरेमा समेत इमेलबाट गर्न सकिने र यो सम्भव नभएमा निषेधाज्ञा सकिएको सात दिनपछिसम्म परिपक्व भएको मितिबाटै लागू हुने गरेर गराउन सकिने उल्लेख गरेका छन् । 

कोभिडका कारण हालसम्म बैंक तथा वित्तीय संस्थाका कर्मचारी र तिनका परिवारसहित १८ हजार ३ सय ६५ संक्रमित भएका छन् भने एक हजार दुई सयजनाको मृत्यु भइसेको छ । 

वाणिज्य बैंकमा १० हजार ८ सय, विकास बैंकहरूमा १ हजार ५ सय ४८, वित्त कम्पनीहरूमा ५ सय २२ र लघुवित्तका २ हजार ३ सय सात कर्मचारी तथा तिनका परिवार संक्रमित भएका हुन् । 

वाणिज्य बैंकका ४० जना, विकास बैंकका ११ जना, वित्त कम्पनीका सातजना र लघुवित्त संस्थाका १० जनाको कोभिडका कारण मृत्यु भएको हो । हाल वाणिज्य बैंकहरूमा करिब ३ हजारभन्दा बढी कर्मचारी सक्रिय संक्रमित रहेका छन् । वाणिज्य बैंकहरूमा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या दुई हजार चार सय एक रहेको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकले देखाउँछ । 

विकास बैंकहरूमा भने यस्तो सक्रिय संक्रमित कर्मचारीको संख्या ४ सय ३९ छ । त्यस्तै, विकास बैंकका कर्मचारीहरूको एकाघर परिवारमा थप एक सय २७ संक्रमित छन् । १३ वैशाखसम्ममा भने विकास बैंकका कर्मचारी र परिवारिक सदस्यसहित सक्रिय संक्रमितको संख्या करिब १३ सय थियो ।