Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ ११ मंगलबार १०:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अक्सिजन प्लान्ट स्थापना गर्न पत्रकार महासंघ गुल्मीद्वारा ६० लाख प्रदान

Read Time : > 1 मिनेट
२०७८ जेठ ११ मंगलबार १०:०४:००

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । 

पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजनको अभाव हुन नदिन २५ वैशाखबाट  जिल्लामा ‘अक्सिजन प्लान्ट अभियान’ सञ्चालन गरेको छ । सोही अभियानमार्फत संकलन भएको ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले पत्रकार महासंघलाई प्रदान गरेको १० लाख रकमसहित ६० लाख रुपैयाँको चेक अक्सिजन प्लान्टका लागि अस्पताललाई प्रदान गरिएको अभियन्ता तारा भुसालले जानकारी दिए । 

पत्रकार महासंघले केही समयअघि अक्सिजनको अभाव बढेपछि पाँच लाख रुपैयाँबराबरको ग्याससहितका २० वटा ठूला अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरेको थियो । 

अहिले पनि सिलिन्डर भर्ने काममा महासंघले सहजीरण गरिरहेको शाखाका सचिव प्रेम सुनारले बताए । त्योबाहेक महासंघको आइसोलेसनमा रहेका सिलिन्डर पनि तत्काल अस्पताल र बिरामी बाहिर रेफर गर्नुपर्ने अवस्थामा प्रदान गरिएको सुनारले जानकारी दिए । 

पत्रकार महासंघ गुल्मीका अध्यक्ष अर्यालले सरकारसँग समुदाय साझेदारी गरेर प्लान्ट निर्माणको काम थालिएको बताए । अहिलेको कोभिडलाई मात्रै नभएर केही समयमै निर्माण हुने सय शय्याको  अस्पताल, स्थानीय तहहरूमा निर्माण हुने १५ शय्याको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरूको अक्सिजन आपूर्तिलाई ध्यान दिएर डेढ करोडभन्दा बढीको अक्सिजन प्लान्ट सञ्चालन गर्न थालिएको अध्यक्ष अर्यालले जानकारी दिए । 

अर्यालले भने, ‘अब महासंघको अभियानसँगै तत्काल प्लान्ट सञ्चालन गर्न दबाब सिर्जना गरिनेछ, सरकारी खरिद प्रक्रियाको ढिलासुस्तीप्रति नागरिकले शंका गरेका छन्,’ उनले भने, ‘अक्सिजन प्लान्टकाे सुनिश्चितता नहुने वेलासम्म अभियान र दबाब रोकिनेछैन ।’ 

सरकारको पनि सहयाेग

यो अभियानमा देश तथा विदेशबाट करिब ७० लाख रुपैयाँ संकलन भएको छ । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड र आइसियूका लागि दुई करोड रुपैयाँ सरकारले विनियोजन गरेकाे छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उक्त रकम विनियोजन भएको हो ।

गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पत्रकारहरूले गरेको यस कार्यलाई देशमै नमुना काम भनेका छन् । उनले पत्रकारले लेख्ने र आलोचना मात्रै गर्दैनन्, नागरिकको सुखदु:ख र महामारीमा पनि एक छन् भन्ने सन्देश दिएको बताए । उनले एकहप्ते सूचना प्रकाशन गरेर यथाशीघ्र प्लान्ट स्थापना गर्ने प्रतिबद्धता जनाए । 

राजनीतिक दलहरूको तर्फबाट कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, एमाले नेता कृष्ण सुनार, हिरा एसी, माओवादी केन्द्रका नेता वीरबहादुर कार्कीलगायतले पत्रकारले सञ्चालन गरेको अभियानले राज्यको समेत आँखा खोलिदिएको भन्दै उच्च प्रशंसा गरेका छन् ।