१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २८ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २८ मंगलबार o८:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेलिकोप्टरमा बढी भाडा प्रकरण : तोकेभन्दा बढी भाडा असुले कारबाही हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २८ मंगलबार o८:o३:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

प्राधिकरणले गुनासो गर्नका लागि छट्टै युनिटसमेत गठन गरेको छ । भाडा बढी लिइएको भन्ने गुनासो आउनेबित्तिकै सबै हेलिकोप्टर कम्पनीलाई परिपत्र गरेर बढी भाडा असुल नगर्न निर्देशनसमेत दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

नयाँ पत्रिका दैनिकले हेलिकोप्टर कम्पनीहरूले बढी भाडा असुल गरेको समाचार प्रकाशन गरेको थियो । नियमक निकाय प्राधिकरणले कारबाही गर्न नसकेको आरोप लागिरहेका वेला प्राधिकरणले निर्देशन दिएको हो । 

‘सरकारले ०७२ चैत ७ को मन्त्रीस्तरीय निर्णयअनुसार तोकेको भाडाभन्दा बढी असुल नगर्न भनेका छौँ,’ महानिर्देशक पोखरेलले भने । सरकारले ०७२ सालमा ए३५० सिरिज तथा बेल २०६ हेलिकोप्टरका लागि प्रतिघन्टा उडानको बढीमा १ हजार ५ सय डलर लिने पाउने गरी भाडा तोकेको थियो । नेपालमा अधिकांश हेलिकोप्टर कम्पनीसँग सोही सिरिजका हेलिकोप्टर रहेका छन् । त्यस्तै, आर४४ हेलिकोप्टरका लागि प्रतिघन्टा उडानका लागि १ हजार डलर तोकिएको थियो । एमआई १७ का लागि भने प्रतिघन्टा ६ हजार डलर तोकिएको थियो । 

अहिले कम्पनीहरूले कोभिडका बिरामी चार्टरमा डक्टर तथा अन्य शुल्क लिएका कारण पनि बढी रकम पुगेको भन्दै प्राधिकरणलाई स्पष्टीकरण दिएका थिए । ‘हामीले अहिले सहुलियत दरमै उडान गर्न निर्देशन दिएका छौँ, कम्पनीहरूले सरकारले तोकेको भन्दा पनि कम १ हजार २ सय डलर प्रतिघन्टा उडान गर्ने प्रतिबद्धता जनाएका छन्,’ पोखरेलले भने । 

वायुसेवा सञ्चालक संघ (आयोन) ले पनि स्वास्थ्य मापदण्डका कारण केही रकम थप भएको स्वीकार गर्दै महामारीमा सहुलियतमा उडान गर्न सार्वजनिक अपिल गरेको छ । संघले विज्ञप्तिमार्फत तोकिएको भन्दा धेरै रकम नलिन आग्रह गर्दै गुनासो गर्नका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।