रसुवामा कोरोना भाइरसको पहिलो लहरमा बनाइएका क्वारेन्टिनलाई स्तरोन्नति गरी आइसोलेनमा रूपान्तरण गर्न थालिएको छ । जिल्लास्थित स्थानीय तहमा निर्माण भएका क्वारेन्टिन सेन्टरलाई अहिले धमाधम सुविधाजनक आइसोलेनमा रूपान्तरण गर्न थालिएको हो ।
जिल्लाका सबै गाउँपालिकामा गरी कुल ५६ बेड तयार हुने भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले सदरमुकाम धुन्चेमा गत वर्ष निर्माण गरेकोे क्वारेन्टिनलाई अक्सिजनसहितको आइसोलेसनमा रुपान्तरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए । ३० शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्न लागिएको उनले बताए । उनले भने, ‘निर्माण हुने आइसोलेसनमा गोसाइँकुण्ड गाउँपालिकाका बिरामीलाई पहिलो प्राथमिकता दिन डिसिसिएमसीलाई आग्रह गरिनेछ ।’
त्यसैगरी जिल्लाको उत्तरगया गाउँपालिकामा अक्सिजनसहित ६ बेडको आइसोलेसन तयार भएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाइ बोगटीटारको नयाँ भवनमा अक्सिजनसहित ६ बेडको आइसोलेसन तयार गरिएको उनको भनाइ छ ।
त्यसैगरि गाउँपालिकाका पाँचवटा स्वास्थ्य चौकीमध्ये चारवटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र ठकुरीले जानकारी दिए । ‘यदि अक्सिजनको आवश्यकता पर्याे भने यसले पनि थप सहयोग पुर्याउँछ, अहिले संक्रमितहरू होम आइसोलेसनमा बसिरहनुभएको छ,’ उनले भने, ‘आवश्यकताअनुसार अक्सिजनसहितको आइसोलेसन थप गर्दै लैजान्छौँ ।’
जिल्लाको आमाछोदिङदाे गाउँपालिकाले गोल्जुङ स्वास्थ्यचौकीमा अक्सिजनसहित पाँच बेडको आइसोलेसन तयारी गरेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । पहिला स्कुलमा क्वारेन्टिन बनाएका थियाैँ, अहिले स्वास्थ्यचौकीमा कोरोनाका बिरामीको उपचार गर्न अक्सिजनसहितको आइसोलेसन निर्माण गर्दै छौँ, आवश्यकताअनुसार पछि थप हुन सक्छ,’ उनले भने ।
जिल्लाको कालिका गाउँपालिकामा कोभिडको बिरामी बढेसँगै गत साल नै निर्माण गरेको १५ बेडको आइसोलेसन वार्डलाई निरन्तरता दिइरहेको कालिका गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज न्यौपानेले बताए । हाल आइसोलेसनमा दुईजना बिरामीको उपचार भइरहेको पनि उनले बताए । गाउँपालिकाभित्र आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामी बोक्न अक्सिजनसहितको एम्बुलेन्स तयारी अवस्थामा राखिएको र अन्य बिरामी बोक्नका लागि छुट्टै एम्बुलेन्स राखिएको पनि उनले बताए ।
।
यस्तै, अहिले जिल्लाबाहिरबाट आएको लक्षण देखिएको बिरामीहरूका लागि कालिका हिमालय क्याम्पसमा ५० बेडको क्वारेन्टिन पनि तयारी अवस्थामा राखिएको र आवश्यक परे आइसोलेसनमा रूपान्तरण गर्ने तयारीसमेत गरिएको छ । हाल सञ्चालित आइसोलेसनमा पाँचवटा सिलिन्डर अक्सिजनसहित तयारी अवस्थामा राखिएको अन्य व्यवस्थापनको तयारी भइरहेको न्यौपानेले बताए ।
जिल्लाको नौकुण्ड गाउँपालिकामा ३० बेडको क्वारेन्टिन तयारी अवस्थामा रहेको नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । सरकारले आवश्यक दक्ष जनशक्ति र विभिन्न सामग्रीहरूको कमी भएका कारण हाल आइसोलेसनको व्यवस्थापन गर्न नसकिएको पौडेलले बताए ।