१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
डोल्पाका कोरोना संक्रमितलाई हेलिकोप्टरमा काठमाडौं लैजाँदै ।
दीपेश पछाई भैरहवा
२o८१ बैशाख २३ आइतबार o७:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका फलोअप : हेलिकोप्टरको भाडाले थलिन्छन् बिरामीका आफन्त

Read Time : > 3 मिनेट
दीपेश पछाई भैरहवा
२o८१ बैशाख २३ आइतबार o७:२o:oo

पीडित भन्छन्– हेलिकोप्टरमा लैजाँदा लागेको ऋण कसरी तिर्ने भन्ने पिरले निद्रा लाग्दैन

डोल्पाका संक्रमितको उपचारमा २२ लाख खर्च 
कोरोनाको पहिलो लहरका वेला गत पुसमा डोल्पा ठूलीभेरी नगरपालिका– २ का वडाध्यक्ष ६० वर्षीया देवी रोकाय र दुनैको सरस्वती माध्यमिक विद्यालयका शिक्षक ५४ वर्षीय शिवप्रसाद पोख्रेल संक्रमणले सिकिस्त भए । दुवैलाई जिल्ला अस्पतालमा भर्ना गरियो । तर, स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि दुवैका परिवारले थप उपचारका लागि काठमाडौं लैजाने चाँजोपाँजो मिलाए । 

डोल्पा सदरमुकामसम्म कच्ची सडक खुले पनि पुल नबनेका कारण धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले सडकमार्गबाट बिरामी लैजान सम्भव थिएन, जहाज पनि बन्द थिए । त्यसैले जिल्ला प्रशासनसँग समन्वय गरेर काठमाडौंबाट कैलाश एयरसँग कुरा भयो । प्रतिहेलिकोप्टर ६ लाख ६० हजार रुपैयाँ अग्रिम भाडा तिरेपछि मात्रै हेलिकोप्टर आउने बताएपछि दुवै बिरामीको परिवारले आफन्त, इष्टमित्रसँग ऋण काढेर कैलाशको खातामा पैसा जम्मा गरेपछि मात्रै दुई हेलिकोप्टर १७ पुसमा डोल्पा आइपुगे । उनीहरूलाई ह्याम्स अस्पताल भर्ना गरियो । 

‘मलाई केही थाहा थिएन, हेलिकोप्टर झिकाउने चाँजोपाँजो सबै छोराले मिलाएछ, ऋण सापट गरेर उपचार गरे, निको पनि भएँ । उपचारमा २२ लाख खर्च भएछ,’ अध्यक्ष रोकायले नयाँ पत्रिकासँग भने, ‘तर, अहिले ब्याजमा लिएको ऋण कसरी तिर्ने भन्ने ठूलो तनावमा छु । रातभरि निद्रा लाग्दैन, ऋणको पिरले पिरोलिरहन्छ ।’ यातायातको भरपर्दो सुविधा नहुनुका साथै जिल्लामै भरपर्दो स्वास्थ्य सुविधा नहुँदा दुर्गमका नागरिकले दुःख पाइरहेको रोकायले बताए ।

दुनैका शिक्षक पोख्रेलको भने महामारीले ज्यान नै लग्यो । उनको घर स्याङ्जाको आँधीखोला गाउँपालिका हो । ६ लाख ६० हजार हेलिकोप्टरको भाडा तिरे पनि ह्याम्स अस्पताल पु¥याएको एक दिनमै उनको मृत्यु भएको थियो । न परिवारको पैसा जोगियो, न ज्यान नै । आर्थिक रूपमा विपन्न पोख्रेलको परिवारलाई उनले पढाउने विद्यालयले हेलिकोप्टर भाडामा दुई लाख सहयोग गरेको प्राचार्य सत्यनारायण सिंहले बताए । 

कोरोनाको दोस्रो लहरमा पनि डोल्पामा संक्रमितको संख्या बढ्दै छ । तर, जिल्लामा न यातायातको सुविधा छ, न सुविधासम्पन्न अस्पताल छ । त्यसैले जीवनको आशा गर्नेले लाखौँ रुपैयाँ तिरेर हेलिकोप्टरमै काठमाडौं पुग्नुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा दुईवटा मात्रै अक्सिजनसहितका आइसोलेसन बेड छन् । भएका दुई भेन्टिलेटर जनशक्ति अभावसँगै विद्युत्को भोल्टेज अभावका कारण बन्द छन् । संक्रमितको अवस्था जटिल भइहालेको अवस्थामा लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरेर जिल्लाबाहिर लैजानुको विकल्प छैन । डोल्पामा अहिलेसम्म ३३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । तीनजना निको भइसकेका छन् । 

संक्रमित थाहा भएपछि थप ५० हजार असुलियो
बाराको कलैया नगरपालिकाका अधिकृत राजीव यादव १८ वैशाखमा कार्यालय सकेर घर फर्केपछि अस्वस्थ भए । राति ९ बजे उनलाई कलैयामा रहेको सामुदायिक अस्पताल पुर्‍याइयो । त्यहाँ उनको ज्वरो जाँच्ने र सामान्य औषधि दिएर घर फर्काइयो । घर आएर औषधि खाएर सुते । बिहान ३ बजे अचानक श्वासप्रश्वासको समस्या बढेपछि उनका साथी विकास सिंहले एम्बुलेन्समा कलैया अस्पताल पु¥याए । त्यहाँबाट वीरगन्जस्थित तराई हस्पिटल रेफर गरियो । त्यहाँ कोरोना पुष्टि भयो । 

श्वासप्रश्वासमा सुधार नभएपछि डाक्टरले काठमाडौं लैजान सुझाए । परिवारका सदस्यले एक लाख ८५ हजार भाडा तोकेर काठमाडौंबाट हेलिकोप्टर झिकाए । तर, कोरोना संक्रमित भएको थाहा पाएपछि हेलिकोप्टर कम्पनीले थप ५० हजार लिने अडान लियो । दुई लाख ३५ हजार भाडा तिर्ने सहमति भएपछि मात्रै राजीवलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लगियो । 

कोरोना रिपोर्ट पजिटिभ आएकै कारण थप ५० हजार तिर्नुपरेको राजीवका साथी विकासले बताए । ‘उहाँको आर्थिक हैसियत राम्रै भएकाले हेलिकोप्टरमा लगेर उपचार गर्न सकियो, गरिब भइदिएको भए मर्नुको विकल्प थिएन,’ उनले भने । 

पाल्पाबाट काठमाडौं लगेको फरक–फरक भाडा
गत ११ वैशाखमा होम आइसोलेसनमा बसेका तानसेनका नारायणबहादुर कार्कीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले अल्टिच्युड एयरको हेलिकोप्टरबाट काठमाडौं लग्यो । काठमाडौं पुर्‍याउन चार लाख ६० हजार भाडा लाग्यो । यसका अतिरिक्त दुई स्वास्थ्यकर्मीको भन्दै हेलिकोप्टर थप ६० हजार उठायो । 

ठीक भएपछि कार्कीले भने, ‘आर्थिक अवस्था कमजोर भएकाका लागि हेलिकोप्टरको सेवा निकै महँगो पर्ने रहेछ । ज्यान जोगाउनकै लागि ऋणधन जे गरेर भए पनि हेलिकोप्टर चढ्नै पर्ने अवस्था आयो ।’

गत फागुनमा पाल्पाका यादवबहादुर रायमाझीलाई परिवारले उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत तानसेनबाट काठमाडौं लग्यो । हेलिकोप्टरको भाडा तीन लाख ३५ हजार र स्वास्थ्यकर्मीका लागि थप ६५ हजार तिरेका परिवारले बताएको छ । तर, यही रुटमा ११ वैशाखमा अल्टिच्युड एयरले चार लाख ६० हजार भाडा लिएको थियो । गत १४ वैशाखमा तानसेन बर्तुङका दयाराम पाण्डे र उनका छोरा संक्रमित भए । उनलाई उपचारका लािग लुम्बिनी मेडिकल कलेजमा लगियो । तर, अस्पतालले भर्ना गर्न नसक्ने भनेपछि सिम्रिक एयरको हेलिकोप्टर मगाएर काठमाडौं लगियो । उनीहरूले कति भाडा तिरे भन्ने खुल्न सकेन । 

रुपन्देहीबाट १० बिरामीको उद्धार

कोभिड बिरामीको संख्या बढेसँगै रुपन्देहीबाट राजधानीमा उपचारका लागि लैजाने संक्रमितको संख्या पनि बढ्न थालेको छ । रुपन्देहीबाट कम्तीमा १० जना बिरामीलाई थप उपचारका लागि राजधानी पठाएको दीप ट्राभल्सका सञ्चालक दीपेश गुप्ताले बताए ।

कोभिड बिरामीलाई काठमाडौं पठाएको तीन लाख ६० हजार हेलिकोप्टर कम्पनीले भाडा लिने गरेका छन् । हेलिकोप्टरमा आउने चिकित्सकको टोलीले थप ५० हजार लिने गरेको उनको भनाइ छ । रूपन्देहीबाट काठमाडौं बिरामी पठाउन चार लाख १० हजार लाग्ने उनले जानकारी दिए । अन्य बिरामीलाई काठमाडौं पठाउन भने हेलिकोप्टर भाडा दुई लाख २० हजार र चिकित्सक टोलीका लागि २० देखि २५ हजार लिने गरेको उनको भनाइ छ । कोभिड बिरामी बोकेको हेलिकोप्टरले बिरामी अस्पताल पुर्‍याएपछि निसंक्रमित गर्नुपर्ने भएकाले अरू बिरामीभन्दा बढी शुल्क लिने गरेको उनको दाबी छ । अहिले रूपन्देहीबाट सिम्रिक र मनाङ एयरका हेलिकोप्टरले उद्धार गर्दै आएका छन् ।

भाडा भुक्तानीपछि मात्र उडान
बिरामी उपचारका लागि राजधानी पठाउने सबै आर्थिक हैसियत राम्रो भएका मात्र छैनन् । कतिपय विपन्नले ऋण खोजेरै पनि हेलिकोप्टरबाट बिरामी लैजाने गरेका छन् । तर, सबै कम्पनीले अग्रिम भुक्तानीपछि मात्र उडान भर्ने गरेको उनले बताए । ‘बीचमा बिरामीलाई केही भइहाले रकम कसले भुक्तानी गर्ने भन्ने विवाद आउन सक्ने भएकाले रकम भुक्तानीपछि मात्र उडान भर्ने गरेका हौँ,’ उनले भने ।

ad
ad