मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा भारतीय सहयोगमा जलविद्युत् प्लान्ट पुनर्स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १३:०६:००

भारतको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामामा साना जलविद्युत् प्लान्ट पुनर्स्थापना भएको छ । भारत सरकारको दुई करोड ६३ लाख आर्थिक सहयोगमा प्लान्ट पुनर्स्थापना भएको हो । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग हेर्ने प्रथम सचिव करुण वंशलले भर्चुअल माध्यममार्फत प्लान्टको बुधबार उद्घाटन गरेका छन् ।  जुम्लास्थित प्लान्ट भएको ठाउँमा जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत् प्राधिकरणका पदाधिकारी एवं कर्मचारी सहभागी थिए । 

नेपाल विद्युत् प्राधिकरणले ०४० सालमा चन्दननाथमा अवस्थित दुई सय किलोवाट विद्युत् उत्पादन क्षमता जलविद्युत् प्लान्टको निर्माण गरेको थियो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो ।  उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनर्स्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्यांकीको निर्माण र जलविद्युत् प्लान्टको पुनर्स्थापना  गरिएको भारतीय दूतावासले जनाएको छ । नगरपालिकाका करिब २० हजार बासिन्दा प्लान्टबाट लाभान्वित हुनेछन् ।

दूतावासका अनुसार भारतले नेपालमा चार सय ५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका दुईवटा परियोजनासहित १० वटा परियोजना प्रदेश ६ मा छन् । प्रदेश ६ का चारवटा परियोजना निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यीबाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्यचौकी तथा गैरसरकारी संस्थालाई पाँचवटा एम्बुलेन्स उपहार प्रदान गरिसकेको छ ।