१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २१ मंगलबार
  • Thursday, 03 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७८ बैशाख २१ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट फर्किने मजदुरलाई महेन्द्रनगरका युवाले निःशुल्क खाना खुवाउन थाले 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ बैशाख २१ मंगलबार १६:३९:oo

महेन्द्रनगरका युवाहरूले कोरोना महामारीमा भारतबाट स्वदेश फर्किने मजदुरलाई निःशुल्क खाना खुवाउन थालेका छन् । रोजगारीका लागि छिमेकी देश भारत पुगेकाहरू कोरोना महामारी फैलिएसँगै स्वदेश फर्किरहेका छन् ।  

भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका युवा समाजसेवी खगेन्द्र जोशीको अगुवाइमा मंगलबारदेखि खाना खुवाउन थालिएको छ । जोशीसहित मिराज अन्सारी, दाजुभाइ होटेलका सञ्चालक कृष्ण जोशीले खाना खुवाउने अभियान सुरु गरेका हुन । ‘हाम्रो उद्देश्य भारतबाट फर्किने नेपाली दाजुभाइको भोको पेटमा मल्हम लगाउने हो,’ जोशीले भने, ‘यता लकडाउन छ, कम्तीमा घरसम्म पुग्दा केही त राहत हुन्छ ।’ 

खाना प्याकिङ गरेर सीमानाका गड्डाचौकीसम्म पर्‍याएको बताउँदै जोशीले महामारीका वेला संकटमा परेका नेपालीलाई सक्दो सहयोग गरिएको बताए । ‘यो सरकारको दायित्व भए पनि हामीले सबै काम सरकारले नै गरिदेला भनेर बस्नुभन्दा नागरिकको तर्फबाट समेत केही सामाजिक काम गर्न खोजेका हौँ,’ उनले भने, ‘महाविपत्तिका वेला एक नेपालीले अर्को नेपालीलाई भाइचाराको व्यवहार गरेका छौँ ।’ 

स्वदेशमा गुजारा चलाउन गाह्रो भएपछि घरपरिवार छाडेर विदेशमा पसिना बगाइरहेका नेपालीलाई हेर्ने दृष्टिकोण फरक भएकाले त्यसलाई चिर्नसमेत जरुरी रहेको उनको सुझाब छ । ‘हामीहरू कुनै एनजिओ, आइएनजिओ होइनौँ, हामीले सीमा क्षेत्रमा पुगेर सीधै बसवालाहरूलाई खानाका प्याकेट छाडेर आयौँ,’ उनले भने, ‘हामीले दिने सहयोगमा फोटो खिचेर भोलि डलर भिœयाउनु छैन, तर पुन्य काम गर्नुछ ।’ 

युवाहरूको अभियानमा भारतबाट फर्किने नेपालीले समेत हर्ष व्यक्त गरेका छन् । थप स्थानीय समाजसेवीबाट अभियानलाई साथ समर्थन भएकाले केही दिन निरन्तरता दिने जोशीले बताए ।