मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १५ बुधबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा ओली पक्षका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १८:११:००

बागमती प्रदेशमा करिब ४ महिनादेखि रिक्त रहेको तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । सत्तारुढ नेकपा एमालेको ओली समूहका मात्रै सांसदलाई मन्त्री र राज्यमन्त्री बनाइएको छ । 

मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरेसँगै आज बुधबार अपराह्न ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा. रामकुमार अधिकारीलाई नियुक्त गरिएको छ । अधिकारीले पनि बुधबार नै मन्त्रीहरूसँगै सपथ लिएका छन् । बागमतीको ६ वटै मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्नेबारे छलफल अघि बढाइए पनि हाल सामाजिक विकास मन्त्रालयमा मात्र राज्यमन्त्री नियुक्त गरिएको हो । 

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएका थिए । 

सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहीन थिए । चार महिनादेखि मुख्यमन्त्री पौडेलले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्दै आएका थिए ।